पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले वर्षायाममा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. १५ र १७ को सीमास्थित रातोपैह्रामा चट्टानसहितको पहिरो खस्दा सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भई पानीको सतह बढेपछि आइतबार प्रजिअ गुरुङको नेतृत्वमा स्थलगत अनुगमन गरिएको हो ।
स्थानीयसँगको छलफलपछि प्रजिअ गुरुङले सेती नदीको बहाव अवरुद्ध भएको विषयमा जिल्ला प्रशासन गम्भीर रहेको बताउँदै विस्तृत प्राविधिक अध्ययनपछि आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।
उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
प्रजिअ गुरुङले नदीमा पानीको बहाव बढ्दै गएको र अवरुद्ध स्थानमा बनेको प्राकृतिक जलाशय एकैपटक फुटे तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै जोखिमको वैज्ञानिक मूल्याङ्कन गरी आवश्यक व्यवस्थापन गरिने बताउनुभयो ।
उहाँले सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी आसपास नजान तथा सम्भावित विपद्को पूर्वतयारी गर्न आग्रह गर्नुभयो ।
अनुगमन टोलीमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बराल र थमनसिंह गौतम, चारओटै सुरक्षा निकायका प्रमुख तथा सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराका प्रमुख विदुर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
