सन्तान हाम्रो— तर हामी पति-पत्नी होइनौं !

0
1250

राममाया लामिछाने, अधिवक्ता

पूर्वीय दर्शनमा लैङ्गिक समानताः 
हिन्दू संस्कारले लैङ्गिक समानतालाई पहिल्यैदेखि स्वीकारेको छ । दम्पती पूजाको प्रचलन आज पनि प्रचलनमा रहेको छ । पूजाआँजामासमेत सर्वप्रथम ‘श्री गणेशाय नमः श्री सरस्वत्यै नमः’ भन्ने वाक्य सङ्गै आउँछ । हामीले मान्दै आएका भगवान शंकरको स्वरूप अर्धनारेश्वर हुन् । महिला र पूरुषको समान अस्तित्वको प्रतीक भगवान शंकरले मानव जीवन र अस्तित्वको घोषक बनेर पुजनीय भएका छन् । शिवजी वा पार्वतीको एकल पूजा हुँदैन । एकको पूजामा नै दुवैको अस्तित्व स्वीकारिएको छ । वेद मर्मज्ञ विदुषी गार्गी, मैत्री, घोषा, अपला धर्म दर्शनमा स्तुत्य छन् । त्यसैगरी यौनिक स्वतन्त्रताको उदाहरणमा कुन्तिबाट कर्णको जन्म र वैवाहिक स्वतन्त्रतामा सिताको स्वयम्वर नारी स्वतन्त्रताका उदाहरण होइन भन्न सकिदैन । प्रकृतिमा महिला र पूरुष समान छन् र समान रहन्छन् । सृष्टिको निरन्तरतामा यी दुवै समान अस्तित्व अपरिहार्य छ । (राममाया लामिछानेः मानवता विकास र नारीवादमा लैगिक समानता २०७६)

नियोग प्रथाः 
इतिहासमा लोग्नेको प्रजनन् शक्ति कमजोर हुँदा आफ्नी श्रीमतीलाई परपुरुषसँग सहवास गर्न लगाएर आफ्नो सन्तान पैदा गर्ने नियोग प्रथा पूर्वीय दर्शनमा नौलो विषय मानिदैनथ्यो । सन्तानहिन राजा सौदासले आफ्नी पत्नी दमयन्तीको गर्भमा यसै प्रथाबाट गर्भदान गराए । बलिराजाकी पत्नीको गर्भबाट दीर्घतमा नामक ऋषिले ६ छोरा जन्माए । शास्त्रका रचयिता भगवान व्यासले आफ्नो भाइ विचित्रविर्यकी पत्नीसँग सहवास गरेर धृतराष्ट्र र पाण्डु नामका दुई पुत्र जन्माए । युधिष्ठिर, भीम, अर्जुन पाण्डुका छोरा थिए भने नहकुल–सहदेव अश्विनी कुमारका छोरा थिए । तर सबै पाण्डु पुत्रकै रूपमा प्रख्यात भए ।

समाजिक मान्यताः 
समाज विकासको गतिशिलताले आफ्नो लागि आफैँ बाँच्ने मानिसहरु मिलेर बस्न थाले । प्रकृतिले दिएको कार्य बाहेकको कामहरु बाँडफाँड भए । महिलाले घरभित्रको, पूरुषले घर बाहिरको कार्य जिम्मेवारी सम्हाल्ने प्रचलन भयो । घरभित्रको जिम्मेवारीको सीमारेखामा महिलाको लागि संकुचित भई महिलाको प्रजनन् शक्ति पूरुषमा केन्द्रित भयो । विवाहको प्रचलन, बहुपति बहुपत्नीको प्रचलन हुँदै समाजमा एकल पति वा पत्नीको प्रचलनले सामाजिक नियमका रुपमा स्थापित भयो । गोत्रावली भनिने मान्यतालाई महिलाले पूरुषसँगको संयुक्त बसाईमा थाहै नपाई बिर्सन थाले । एकल पति–पत्नीको अवधारणालाई सबै समाज र देशले कानूनी मान्यताद्वारा पुनस्थापित गरिदियो । आज पूरुषसँगको आफ्नो समान प्राकृतिक संलग्नता र अस्तित्व एवं आफ्नो रगतले सिञ्चित शिशुको जिम्मेवारी लिन र थरको नामाकरणको खोजी नै महिला मानव अधिकारको विषय बनेर चर्चामा रहेको छ । समाजका सबै इकाईहरुसँग विवाहको सम्बन्ध जोडेर प्रचलनमा रहेका कानून र अभ्यासहरु गोत्रावली थरको प्रचलनले महिलाको प्रजनन अधिकार र शिशुसँगको आमाको अधिकारमा छाँया परेको छ । परिणामतः महिलालाई समाजले पूरुषको भोग्य वस्तुको रुपमा नियन्त्रणमा राख्ने अभ्यासमा केही खुकुलोजस्तो लागे पनि परिणाममा खुकुलो भएको छैन । (राममाया लामिछाने, निगरानी, वर्ष २, अंक १, फाल्गुन चैत्र, पेज ९, कानून अन्वेषण तथा स्रोत केन्द्र (सेलड)) ।

बैद्धिक कालदेखिको पूर्वीय दर्शनमा सक्षम र सवल महिलाकोे विरासत समाजको गतिशिलताका नाममा पारिवारिक सम्बन्धबाट धान्न नसक्ने स्थितिमा अवतरित हुन पुग्यो । पारिवारिक संरचनाभित्र महिलाको प्रजनन् शक्तिको सम्बन्धमा स्वयं महिलाको ज्ञान र बुझाई कम भयो । पूरुष विना सृष्टि छैन, आफूले जन्माएको सन्तानको संरक्षण पनि पुरुष विना देख्न छोडे । यो समाज विकासको इतिहासमा लैङ्गिक न्यायप्रतिको ठूलो भुल थियो । परिणामतः महिलाहरु हिंसाका शिकार, यातना पीडित, हुँदै एउटा पीडित र कमजोर वर्गका रुपमा स्थापित हुन पुगे ।

विवाहसम्बन्धी कानूनी व्यवस्था (देवानी संहिताको भाग तीन दफा ६७.८२, ६९.७०) 
बिस वर्ष उमेर पुरा भएका, कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताभित्र नपर्ने, पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा त्यस्ता महिला वा पूरुषलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुन्छ । प्रत्येक व्यक्तिको पारिवारिक जीवन अनतिक्रम्य छ । कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ । विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन मानिएको छ । कानून बमोजिम पति–पत्नीबीचको सम्बन्ध कायम रहेसम्म वैवाहिक विवाह कायम रहेको मानिन्छ ।

कुनै महिलाले कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछ भन्ने कानूनी व्यवस्था रहेको छ । कानूनले विवाहको लागि योग्य मानेका महिला पुरुषबीचको सम्बन्धका कारण शिशु जन्मेमा मात्र स्वतः विवाह भएको मानिने हो । यस व्यवस्थाले वहुविवाहलाई स्वीकारेको हो कि भन्ने अर्थ लगाउनु सर्वथा अन्यथा हुनेछ । दुवैजना विवाह गर्न कानूनले योग्य रहेको अवस्थामा शिशू जन्मेमा महिलाले शिशुको बाबुलाई पति मान्न तयार भएको अवस्थामा मात्र स्वतः विवाह भएको मानिनु पर्ने हो । महिला विवाहको लागि अयोग्य पुरुष विवाहको लागि योग्य अवस्थामा बच्चा जन्मेको अवस्थामा वा पुरुष विवाहको लागि अयोग्य महिला विवाहको लागि योग्य अवस्थामा बच्चा जन्मदा स्वतः विवाह भएको मानिने होइन ।

यति हुँदा हुँदै पनि विवाहित अवस्थाको पुरुषले कुनै पनि अवस्थाकी महिलाबाट बच्चा जन्मायो भने पनि ती महिला उसकी पत्नी हुन सक्दिनन् । त्यस्ती महिलाले आफ्नो सन्तानको बाबुलाई पति मान्न पाउने छैनन् । अर्थात विवाहित अवस्थाको पुरुषले आफ्नी श्रीमती बाहेक अर्की जुनसुकै अवस्थाकी महिलाबाट शिशु जन्मायो भने उनलाई श्रीमती बनाउन सक्दैन । तर शिशुप्रतिको कानूनी र व्यवहारिक दायित्व भने विवाहित श्रीमतीबाट जन्मेका सन्तान सरह नै रहन्छन् । यस अवस्था पूर्व नै घरमा भएका श्रीमती, छोराछोरी र त्यसरी पछि विवाह विना नै जन्मेको सन्तानप्रतिको दायित्व बाबुको हैसियतले बराबर हुनु बाल अधिकारको दृष्टिले समान देखिन्छ । यो व्यवस्थाले पुरुषले चाहेमा वा कुनै परिस्थिति भनिने अवस्थामा वा वहानामा परिवारको सदस्य बढाउने अवसर पुरुषमा निहित देखियो । यसबाट परिवारका अन्य सदस्यमा पुग्ने सामाजिक, आर्थिक लगायतको असर र बाबु बाहेकका अन्य सदस्यबाट त्यस्तो शिशुले पाउने पारिवारिक वातावरणको सुनिश्चितता बारेमा सामाजिक चिन्तन जायज छ । परिवारका अन्य सदस्यमा पर्ने अंश, सम्पती लगायतको आर्थिक नोक्सानीका बारेमा विधायिकी कानूनले परिकल्पना गरेको पाइदैन ।

पुरानो कानून बमोजिमको नाता कायमको मुद्दालाई हेर्ने हो भने पुरुषले महिलालाई विवाह गर्ने सर्तमा गर्भिणी बनायो तर विवाह गरेन । बच्चा नै जन्मियो, विवाहको मान्यता दिन मानेन भने त्यस्तो पुरुष विवाहित हुँदा हुँदै पनि बहुविवाहमा जेठी श्रीमतीले मुद्दा हालेमा कारवाही हुन्थ्यो तर कान्छी श्रीमती र उसबाट जन्मेको सन्तान पनि कायम हुन्थ्यो । त्यसरी नाता कायम भएका श्रीमती र सन्तान श्रीमानको अन्य पत्नी र सन्तान सरह नै अंशियार हुन्थे । आज बहुविवाह कानूनतः अन्त्य भएको छ । आजको कानूनले श्रीमतीसँगको सम्बन्ध विच्छेद विनाको अवस्थामा अर्काे पत्नीको परिकल्पना गर्न पाइदैन ।  शिशु जन्मेको कवज देखाएर सन्तान स्वीकारी रहने हो भने वहुविवाह निषेध भनिए तापनि महिलाको रक्षा कवजको नाम शिशु आतङ्क त हुने होइन भन्ने ठाउँ कानूनी प्रश्न उव्जिएको छ । हुन त यो सामाजिक र नैतिक विषय हो तर कानूनले दिएको छुटमा कानूनी कारवाही असम्भव छ । विवाह गर्न योग्य महिलाले विवाहित अवस्थाको पूरुषबाट बच्चा जन्माउन सक्ने अवस्था यस कानूनले सृजना भयो । जुन पूरुषको पत्नी छ सन्तान छैन त्यस्तो अवस्थामा सरोगेसी (भाडाकी आमा) बाट बच्चा जन्माउने त्यसरी सन्तान जन्माई दिने महिलालाई श्रीमती मान्न नपर्ने जुन मान्यता छ त्यो मान्यतालाई यस कानूनले स्थान दिएको देखिन्छ ।

विवाहको लागि अयोग्य पक्षबाट शिशु जन्माउँदा आफ्नो शिशुका लागि बाबु वा आमा दिलाउन सक्ने  पूरुष वा महिलाले आफ्नै लागि पत्नी वा पतिको मान्यता दिलाउन सक्दैनन् । जुन कुराको अभ्यास नेपाली समाजले पहिलो पटक गर्दैछ । आफ्नो कानूनी हैसियतलाई बन्धक राखेर सन्तानको बाबुको नाता बाँकी रहेको पुरुषसँग बस्ने महिलालाई कसैको श्रीमती भनेर कानूनले चिन्दैन ।