जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्।
पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।
बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।
उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्।
ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।
विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने: “मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।”
“अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।”
सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।
ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।
मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।बीबीसी