पाेखरा। प्रधानमन्त्री केपी ओलीले महिला हकअधिकारको आन्दोलन महिलाहरूको मात्र हो भनेर पुरूषले सोच्न नहुने बताएका छन्।
तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार बालुवाटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महिलालाई पुरुषहरूले सकारात्मक सहयोग गर्नुपर्ने बताए।
उनले महिलालाई समान अवसर, साथ सहयोग र हौसला दिनुपर्ने बताए।
‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि क्षम्य हुन सक्दैन,’ ओलीले भने।
सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कानुन निर्माण गरेर काम गरिरहेको र महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी रहेको उनले बताए।
