पत्रकार महासंघ कास्कीद्वारा ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ तालिम सम्पन्न

0
588

सन्तोष बस्याल
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । केयर नेपालको सहकार्यमा पत्रकार महासंघले भर्चुअल रुपमा मंगलबार आयोजना गरेको कार्यक्रममा लैङ्गिक समानता, समाजिक समावेशीकरण र नेपाली पत्रकारितामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयमा अन्तरक्रिया गरिएको हो । लैङ्गिक समानताका विषयमा केयर नेपालका तर्फबाट सुजना सिंहले आफ्नो धारणा राखिन् । उनले लैङ्गिताको अवधारणालाई पुरुष र महिलामा मात्र सिमित राख्न नहुने तर्क प्रस्तुत गरिन् । सिंहले लैङ्गिक समानताका विषयमा विविधतामा ख्याल दिनुपर्ने बताइन् । उनले लैङ्गिक पहिचान, यौन अभिमुखीकरण, लैङ्गिक समानता प्रक्रियाका आधारमा काम गर्नुपर्ने विषयलाई उठान गरेकी छिन् ।

सामाजिक समावेशीकरण विषयमा बोल्दै केयर नेपालकी मनोरमा सुनुवारले पहिला सामाजिक बहिस्करणका विषयमा बुझ्नुपर्ने आवश्यकतालाई औंल्याइन् । उनले स्रोतमा असमान पहुँच, असमान सहभागिता, अवसरबाट वञ्चितिकरण आधारमा सामाजिक बहिस्करणलाई अध्ययन गर्न सकिने बताइन् । जसलाई प्रभाव पार्ने तत्वहरु लैङ्गिक, जातिय, भाषा, धर्म, शारिरिक अपांगता, भौगोलिकता, आर्थिक अवस्था भएको भनाई उनको थियो । समाजमा  रहेका वञ्चित वर्गलाई समाजको मुल प्रवाहमा ल्याउनका लागि देखा पर्ने अवरोधहरुलाई हटाई उनीहरुलाई सामाजिक एवं विकासका कार्यमा सहभागी गराउने प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको तर्क उनको थियो । राजनीतिक, आर्थिक, सामाजिक सहभागिताका आधारमा पनि सामाजिक समावेशीकरणको सुनिश्चितता गर्न सकिने उनले बताइन् ।

नेपाली पत्रकारितामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा बोल्दै पत्रकार प्रकाश लामिछानेले नेपाली पत्रकारितामा समयसँगै क्रमिक सुधार आएको बताए । उनले २०६२ र ०६३ पछिको राजनीतिक परिवर्तनसँगै समाजले पनि परिवर्तनको अपेक्षा गरेको तर्क प्रस्तुत गरे ।  लैङ्गिक समानता र सामाजिक समावेशीकरणको विषयलाई पत्रकारिता मार्फत उठान गर्नुअघि संरचना, सवालता, सुधार र सवलीकरणका विषयमा पत्रकारले बुझ्नुपर्ने आवश्यकतालाई उनले औंल्याए । लामिछानेले नेपाली पत्रकारिताको क्षेत्रमा पनि महिलाको सहभागिता कम भएको तथ्याङ्क प्रस्तुत गरे । नेपाल पत्रकार महासंघका १२९ शाखामा जम्मा १३ हजार ७६ जना पत्रकारमा पुरुष १० हजार ६ सय ६९ जना र महिला जम्मा २ हजार ४ सय ७ जना रहेको उनले बताए । प्रस्तुत तथ्याङकका आधारमा पत्रकार महासंघमा ८२ प्रतिशत पत्रकार पुरुष र जम्मा १८ प्रतिशत महिलाको सहभागिता रहेको जानकारी उनले गराए । लामिछानेले लिङग, वर्ण, क्षेत्र र वर्गका आधारमा महिलाका मुद्धालाई समाचारमा समावेश गर्न सकिने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष रमेश विष्टले पत्रकार महासंघ कास्कीले कोरोना कालिन समयमा राम्रो कार्यको थालनी गरेको बताए । पत्रकारलाई विषयगत अध्ययनमा टेवा पु¥याउने उदेश्यस्वरुप आयोजना गरिएको तालिमले लाभ मिल्नेमा उनी विश्वस्त छन् । पत्रकार महासंग गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले लैङ्गिक समानता विषयमा नीतिगत अवधारणा ल्याउनुपर्ने बताए । उनले जातीय, वर्गाीय, सामाजिक अवस्थालाई ख्याल गर्दै निर्भिक पत्रकारिताले सामाजिक समावेशीलाई अगाडि बढाउन मदत पुग्ने बताए । पत्रकार पक्षदर नभई यर्थाथमा टिकिएको हुनुपर्ने विषयलाई उनले जोड गरे । जवाफदेही पत्रकारिता आजको महत्व रहेको भनाई उनको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले आफ्नो नेतृत्वमा महासंघले आयोजना गरेको पहिलो तालिम भएको उल्लेख गरिन् । उनले लैङ्गिक तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता विषयमा गरिएको तालिम फाइदाजनक रहेको तर्क प्रस्तुत गरिन् । आगामी दिनमा पनि स्थानीय सरकारसँग समन्वय गरी पत्रकारका लागि तालिमको व्यवस्था गरिने उनले बताइन् । केयर नेपालसँगको सहकार्य मजबुत बनाउँदै प्रभावकारी कार्यक्रममा जोड दिने भनाई उनको छ ।

तालिमका विषयमा जानकारी गराउँदै केयर नेपालका विशेष संगतले सन् १९७८ देखि केयर नेपाल समाजमा सक्रिय रहेको जानकारी गराए । उनले आफुहरुले लैङ्गिक समानता र सामाजिक समावेशीका विषयमा काम गर्दै आएको बताए । पत्रकार महासंघका उपाध्यक्ष जमुना वर्षा शर्माले समापन गरेको कार्यक्रमको संचालन सचिव श्रीराम सिग्देलले गरेका थिए ।