२० औं पाम वर्कसप सम्पन्न

0
143

 

 

पोखरा  । पोखरा १५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेफ्स्कुनको प्राबिधिक सहयोगमा प्रोबेशन गण्डकी क्लस्टर अन्तर्गत पहिलो समूहले २०औं पाम वर्कसप सम्पन्न गरेको छ । कास्की , लमजुङ र गोरखाका गरि १० वटा सहकारी संस्था सदस्य रहेको यस समुहमा यसपटक देखि कास्कीकै सरल नमुना साकोस पनि सहभागी भएको जानकारी आयोजक संस्थाका सचिव धनराज पुरीले गराए ।

पोखरा १८ को लभ्ली हिलमा आयोजित कार्यशालाको शुभारम्भ गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले यस किसिमका कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशालाले सहकारीलाई सहि दिशानिर्देश गर्नमा महत्वपूर्ण टेवा पुग्ने र सहकारीहरु स्वस्थ रहि दिगोपन कायम हुने बताए । साथै उनले अध्यक्ष , मेनेजर र लेखा संयोजक गरि तीन जनाको भुमिकामा नै सहकारी अडिएको हुनाले यी तिनैजना असाध्यै चनाखो हुनुपर्ने तर्फ पनि औलाए । यसैगरी नेफ्स्कुन पोखरा फिल्ड कार्यालयका ब्यवस्थापन समिति सदस्य एवं संगम सहकारीका संरक्षक निरज थापाले यस्ता कार्यक्रमहरुलाई जिल्ला स्थित बचत तथा ऋण सहकारी संघहरुले धेरै सहकारी माझ छिटो पुर्‍याउनु पर्ने बताए ।

 

२० औं शृङ्खलामा आइपुग्दा कार्यक्रमका सहजकर्ता मनोज खड्का द्वारा अग्रिम रूपमा पाँच समूह बनाइ पाँच फरक बिषयमा गर्न लगाइएको बिशेष प्रस्तुति निकै रोचक भएको सहभागीहरुले बताए , जसमा गौरीशंकर साकोस र दुधपोखरी साकोसको समुह उत्कृष्ट भइ पुरस्कृत भएको थियो ।आयोजक संस्थाका अध्यक्ष नवराज तिवारीले यसपटकको केहि सुधार सहित फरकपनको कार्यशालाले थप आवस्यक कुरा दिदै हौसला थपेको बताए । दुधपोखरी साकोस , कास्कीले अबको तीन महिना पछि अर्को पाम वर्कसप गर्नेगरी समापन भएको उक्त कार्यक्रममा संगम साकोसका लेखा समिति संयोजक भोविन्द्र गिरी , उपाध्यक्ष बुद्धिमान थापा , नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपाने , आस्था साकोस र दुधपोखरी साकोसका कार्यालय प्रमुखद्वय नारायण प्रसाद आचार्य र दुधकाशी गुरुङ लगायतले मन्तव्य राखेका थिए ।