लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्छ :जिसस कास्की प्रमुख पाैडेल

0
151

 

पाेखरा।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पाैडेलले लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्नेमा जाेड दिनुभएको छ।

साेमबार राष्ट्रिय महिला आयोगले पाेखरामा आयोजना गरेको महिला हिंसा तथा बालबालिका ,जेष्ठ नागरिककाे अवस्थाकाे बारेमा गरिएको अनुगमन तथा अवलोकन कार्यक्रममा बाेल्दै उहाँले शिक्षित परिवारमा पनि हिंसा हुने गरेको बताउनुभयो ।

 

लैङ्गिक हिंसाले मुलुकको समग्र विकासमा अवरोध सृजना गर्ने जनाउदै उहाँले लैङ्गिक हिंसा न्युनिकरणकाे सवालमा सबै सराेकारवालाहरु एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनुभयो ।

 

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले  लैङ्गिक हिंसा न्युनिकरण  गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यावहारिक कार्यान्वयन गर्नुपर्नेमा जाेड दिनुभयो । उहाँले  महिलाहरु आर्थिकरुपले कमजोर हुंदा बढी हिंसा  हुने गरेको उल्लेख गर्दै महिलाको आर्थिक शसक्तिकरणमा जाेड दिनुपर्ने बताउनुभयो ।  लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानमा याेजना बनाउने र वर्षभरि याेजनाकाे प्रभावकारी कार्यन्वयन गर्नुपर्ने उहाँको भनाइ थियाे।

 

 

राष्ट्रिय महिला आयोगका सदस्य सावित्राकुमारी शर्माले राष्ट्रिय महिला आयोगले महिला हिंसाका घटनाकाे तत्काल अनुगमन गरी घटनाको छानविन र अनुसन्धान गर्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउने र हिंसा पीडित महिलाहरुलाई न्याय दिलाउन अनुगमनको कार्यलाई तीव्र पारेको जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७९/०८० मा आयोगमा लैङ्गिक हिंसा सम्वन्धी २०९ वटा उजुरीहरु दर्ता भएको जानकारी दिदै उहाँले हिंसा पिडित महिलालाई मनाेसामाजिक विमर्श ,कानुनी सहायता जस्ता सेवा मार्फत सहजिकरण गरिएको वताउनुभयाे।

 

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्क बहादुर गुरुङ ,सुकमाया नेपाली, सामाजिका विकास तथा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अञ्जना शर्मा, महिला मानव अधिकार रक्षक संजाल कास्की अध्यक्ष केशु भुजेल, दलित महिला सघं फेडो गण्डकी अध्यक्ष सुमित्रा गायक, द्धन्द पिडीत महिलाहरुको राष्ट्रिय संजाल कास्की प्रतिनिधि कल्पना सुवेदी, अनौपचारीक सेवा केन्द्र इन्सेक कास्कीका सवनम शर्मा, स्वास्थ्य कार्यालय कास्की पतिनिध बद्री आचार्य लगायतले लैङ्गिक हिसां कमी गर्न पुरुषहरु नै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।  ।

 

कार्यक्रमलाई जिल्ला समन्वय अधिकारी नवराज बरालले सहजिकरण गर्नुभएको थियाे।

नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान  शुरु भएको छ ।संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर कार्यक्रम हुँदैछन् ।