हेमजा । पोखरा–२५,हेमजामा अवस्थित देवीस्थान सेवा समाजले शनिवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ समाजको आयोजनमा यही असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सव–२०८२ को पूर्व तयारी तालिका अनुरूप सरसफाइ कार्यक्रम गरिएको हो ।
हेमजामा अवस्थित विभिन्न टोल विकास संस्था, आमा समूह,लगायत संघ संस्था तथा स्थानीयहरूको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल,विष्णुपादुका मन्दिर परिसरमा शनिवार सरसफाइ गरिएको हो ।
विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन, हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
समाजका निवर्तमान अध्यक्ष गुरु हरिशरण पौडेलले महोत्सवले विन्दवासिनीकी बहिनीका रूपमा मानिँदै आएको विष्णुपादुका भगवतीको महिमा बढ्नुका साथै हेमजाका कृषकहरूलाई कृषिमा प्रोत्साहन बढाउने आफूहरूको विश्वास रहेको बताए ।
महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैँटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।
प्रतियोगितामा खेलअनुसार प्रथम र द्धितिय स्थान हासिल गर्ने सहभागी व्यक्ति र टिमलाई पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितालाई सभ्य, व्यवस्थित र मर्यादित बनाउनका लागि केही खेलमा सहभागी शुल्क समेत राखेको खेल सञ्चालन उपसमिति संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
महोत्सवलाई सफल बनाउनका लागि समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।