कलाको कुनै सिमाना हुदैन न कलाकारको उमेर सिर्जनामा बाधक हुन्छ । कलाप्रतिको निरन्तर लगावनै कलाकारको सम्पत्ति हो। उमेरले ७३ टेकेपनि पनि कलाप्रतिको चासो, लगाव र जोशमा बैंस भेटिन्छ । सेतो कपाल र सेतै दाह्री, आँखामा पावरवाला चस्मा बुढ्यौलीले छोए पनि उनको कलाको सिर्जना अझै थाकेको छैन । उनै कलाका धनी क्षेत्रलाल कायस्थको एकल कला प्रदर्शनी यतिखेर एनआरनए अष्ट्रेलिया द्वारा आयोजित नेपाल फेस्टिभल २०१८ मf सम्पन्न भइसकेको छ । उनी अमूर्त कलामा रमाउँछन् र त्यस्तै चित्र कोर्छन् पनि । दिमागमा बसेको कुनै वस्तुलाई अमूर्त कलामा सिगार्ने गर्छन्, उनी । पोखराको तेर्सापट्टीका कायस्थ पहिला ढुंगामा कोरेर चित्र बनाउने गर्थे । पोखराको पुरानो बजारको रुपमा चिनिने टोलका ढुंगामा उनी जनावर र मान्छेका आकृति बनाउँथे । २०२२ सालमा पोखराको गौरीघाटमा डोकोमा पानी बोकेको महिलाको तस्बिरले उनको मनमा छोएको थियो । त्यसलगत्तै उनीले सोही तस्बिरलाई कागजमा उतारेका थिए । उनको उक्त तस्बिर रङद्वारा सजाइएको थियो । २०४० सालमा पोखरेली युवा सांस्कृतिक परिवारमा आवद्ध भएपछि उनलाई कलामा रम्न अझ सजिलो भयो । परिवारमा आवद्ध भएसँगै महेन्द्र राजभण्डारी, आलोक गुरुङ, बुद्धि गुरुङ्ग सँगै घान्दु्रक पुगेका उनी त्यहाँ ल्यान्डस्केप पेन्टिङ गरेका थिए । सोही समयमा बनाइएका पेन्टिङले घान्दु्रकलाई चिनाउन सफल भएको उनको दाबी छ । उनी त्यहाँ ४ दिनसम्म बसेर अगाडि जे देखिन्छ त्यसैलाई चित्रमा उतारेका थिए
। ल्यान्डस्केप पेन्टिङका लागि कास्कीका सबै गाविसमा पुगेका छन् कायस्थ । पोखरामा फिल्डमै गएर पेन्टिङ गरिने हुँदा काठमाडौंको पेन्टिङ भन्दा फरक हुने उनको अनुभव छ । जर्मनको एक पत्रिकामा २८ वर्षीय युवकको मरेको तस्बिर देखेर अमूर्त कलाप्रति इच्छुक भएका थिए, उनी । सोही तस्बिर उनका लागि अर्मूत कलाको प्रेरणा बन्न पुग्यो र नै उनले हालसम्म ५ सयको हाराहारीमा अमूर्त र अर्धमूर्त चित्र कोरेका छन् । उनले बनाएका चित्रहरु कतिपयले किन्ने पनि गर्छन् । ‘कलामा रुचि हुनेले किन्ने गरेका छन्,’ उनले भने, ‘पेन्टिङ रुचाउनु हामी कलाकारको लागि ठूलो कुरा हो ।’उनले तयार पारेका चित्रहरु नेपालमा मात्र नभईबेलायत, जर्मन, फ्रान्समा समेत किनेर लाने गरेको उनी बताउँछन् । पोखरामा पनि रङरसका चित्रप्रति आकर्षण बढेको उनले सुनाए । खोला, नाला, डाँडापाखा, गोरेटोले उनलाई प्रभाव पार्ने गर्छ । रङरसबाट तयार पारिएका चित्रहरु भित्री मनबाट हेर्न हो भने कलामा रमाउन सकिने उनी बताउँछन् । ‘तालको छेउमा उभिएर हेर्दा मानिसको आकार धमिलो देखिन्छ, अमूर्त कला पनि त्यस्तै हो,’ उनले भने । पेन्टिङ गर्नका लागि कुनै समय नहुने भन्दै मुडमा फरक पर्ने धारणा राख्छन् । ‘दिमागमा आकार आयो भने जतिबेला पनि पेन्टिङ गर्न थाल्छु,’ उनले भने, ‘चित्रले जे माग्छ सोही अनुसारको रङको प्रयोग गर्छु ।’ सन् १९९१मा काठमाडौंमा राष्ट्रिय कला परिषद्मा उनले ‘शान्तिका लागि खोजी’ सम्बन्धी सन्देश दिने चित्र प्रदर्शन गरेका थिए । २०४८ सालमा पहिलोपटक उनको एकल कला प्रदर्शन भएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारले उनको कलालाई बाहिर ल्याएको थियो । त्यसको ४ वर्षपछि काठमाडौंमा दोस्रोपटक उनको कलाको प्रदर्शन भयो । सोही समयमा अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । दोस्रो कला प्रदर्शनीमा उनले भोजपत्र (रुखको बोक्रा) को चित्रमा प्रयोग गरेका थिए । उनको कलाको उच्च मूल्यांकन गर्दै राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला पुरस्कार, रंगलाल वाङ्मय पुरस्कार, टोल सुधार समिति, क्लब लगायत थुप्रै संस्थाबाट पुरस्कृत भइसकेका छन् । मानविकी संकायमा स्नातकसम्म अध्ययन गरेका कायस्थले राजनीतिशास्त्र पनि पढेका हुन् । २०४५ सालमा पृथ्वीनारायण क्याम्पसमा ल्याब ब्वाइको रुपमा काम सुरु गरेका उनले पछि प्रशासनको काम सम्हालेका थिए । ‘७ वर्ष भयो रिटायर्ड भएको,’ उनले भने, ‘अब बाँकी समय पनि चित्रकलामै बिताउँछु ।’