पाँचथर हत्यामा उच्चतहको अनुसन्धानको पहिलो चरण पूरा

0
615

 

काठमाडौं ।पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा भएको ९ जनाको नरसंहारपूर्ण हत्याको विषयमा  उच्चतहको अनुसन्धानको पहिलो चरण पूरा भएको  छ।नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले  ९ जनाको नरसंहारपूर्ण हत्या र त्यसपछि एक जनाको आत्महत्याले घटना थप रहस्यमय बन्दै गएको बताए । काठमाडौंबाटै गएको सिआईबीको विशेष टोलीले यसको अनुसन्धान गरिरहेको छ ।

 

तत्कालका लागि आत्महत्या गर्नेले नै नरसंहार मच्याएको आँकलन गरिए पनि यो नै भयो भन्न नसकिने प्रहरीले जनाएको छ ।  प्रमाण संकलनदेखि शव पोष्टमार्टमका लागि पठाउने काम भएको प्रवक्ता   पोखरेलले  बताए ।

उनले पहिलो चरणबाट नै हत्याराको निक्र्योल गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आत्महत्या गरेको व्यक्तिको नजिकै रगत लागेको कपडा र खुकुरी फेला परेको देखिएको अवस्थामा यसकै आधारमा हत्या गरेर आत्महत्या गरेको भनी भन्न सक्ने अवस्था नभएको प्रवक्ता पोखरेलले बताए ।

उनले घटनाको चेन कसरी गयो भनी अध्ययन गर्न महत्वपूर्ण रहेको बताएका छन् । यसअघि हत्या गरिएको दुई परिवारमा खानामा शिशा मिसाएको घटना बाहिर आएको थियो । यसलाई गम्भीर रुपले उठाइएन । परिवारभित्रै लुकाइयो । त्यो विषय अहिले जोडिएर आएको प्रवक्ता पोखरेल बताउँछन् ।

पारिवारिक सम्बन्ध बिग्रिएका कारणले पनि यो घटना भएको हुन सक्ने उनको संकेत छ ।