कुमाल समुदायका बालबालिका अझैपनि नियमित विद्यालय जादैनन्

0
590

—सुशीला रेग्मी
रामपुर । भौगोलिक भू बनोटका हिसावले रामपुर नगरपालिका जिल्लाकै समथर भूभाग हो । शहरीकरणतर्फ उन्मुख यस नगरपालिका भित्रै रहेका कुमाल समुदायका बालबालिका अझै पनि नियमित रुपमा विद्यालय जाँदैनन् भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।
अझ भन्नुपर्दा नगरपालिकाको केन्द्र नजिकै रहेको वडा नं ६ स्थित नवदुर्गा माविमा अधिकांश विद्यार्थी कुमाल समुदायका छन् । यहाँ तीन सय ३६ विद्यार्थीमध्ये करिव ७४ प्रतिशत विद्यार्थी कुमाल समुदायका भर्ना भएका छन् ।
केही विद्यार्थी अझै पनि नियमित विद्यालय नै जादैनन् । कुमाल समुदायकै वस्तीमा विद्यालय सञ्चालनमा भए पनि नियमित रुपमा विद्यालयमा विद्यार्थी टिकाउन धौधौ भएको विद्यालयले जनाएको छ ।
ईश्वरी कुमाल उमेरले १७ वर्ष हुनुभयो । उहाँ कक्षा ९ मा पढ्दै गर्दा गतवर्ष देखि नै विद्यालय बीचमै छाडेर घरमै बस्ने गर्नुहुन्छ । उहाँलाई विद्यालय जान भन्दा घरमै बसेर घरायसी काम गर्न बढी मन पर्छ ।
“विद्यालयमा पढ्न भन्दा घरमै बस्नै आनन्द लाग्ने गर्छ, घरमा बुबा आमाले विद्यालय जान अनुरोध गर्नुहुन्छ तर मलाई पढ्ने रहर नै छैन” – उहाँले भन्नुभयो ।
उहाँकी आमा राधिका कुमाल आफुले नपढ्दा जीवनभर दुख पाएको हुदा छोराछोरीलाई विद्यालय पढाउन कोशिस गर्दा पनि विद्यालय जानै नमानेको गुनासो गर्नुहुन्छ ।
“मैले अक्षर चिन्न सकिन, दुख गरेर छोराछोरी पढाउन खोजेको विद्यालय जानै मान्दैनन्, घरको काममा पनि लगाइएको छैन, आफुसुकै विद्यालय जानै छाडेका छन्” उहाँले भन्नुभयो । उहाँका तीन छोरी र दुई छोरा छन् । तीमध्ये अहिले विद्यालय जाने तीन जना मात्र छन् ।
“जेठी छोरीको विद्यालय पढ्दै गर्दा बिहे भयो, माइली छोरीले कक्षा ९ पढ्दै गर्दा बीचमै विद्यालय छाडिन्, जेठो छोरो अहिले दश कक्षामा पढ्छ तर उ पनि नियमित विद्यालय जादैन्, महिनामा बढीमा तीन चार दिन सम्म मात्र विद्यालयल जान्छ,” सन्ततीको भविष्य प्रति चिन्तित बन्दै उहाँले भन्नुभयो, “अरु दुई जना साना मध्येका भने नियमित गएकै छन् अहिले सम्म ।”
स्कुल पोशाक, कापी कलम आवश्यक सामग्रीको बन्दोवस्त गरेपनि विद्यालय जान नमान्ने गरेको उहाँको भनाई छ ।
देवकी कुमालका छोरा सन्तोष कुमाल अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । उहाँ उमेरले १७ वर्ष हुनुभयो तर नियमित विद्यालय जानुपर्छ भन्ने अझैपनि उहाँको मानसिकतामा परिवर्तन आउन सकेको छैन ।
महिनामा बढीमा चार देखि पाँच दिन सम्म विद्यालय गएको बताउँदै उहाँले भन्नुभयो, – “साथीभाईले फोन गरेर पढ्न नजा खेल्न जाऊ, घुम्न जाऊ भनेर भनेर बोलाउँछन्, उनीहरु पनि विद्यालय जादैनन्, म पनि विद्यालय जान छाडेर साथीभाई संग कहिले घुम्न जाने, खेल्न जाने र गफ गरेर समय बिताउने गरेको छु ।”
देवकीका पाँच सन्तानमध्ये चार छोरी र एक छोरा छन् । “छोरीहरु विद्यालय जान्छन् तर छोरालाई विद्यालय पठाउनै सकिएन, भनेको मान्दैन, सबै कुरा पुरा गरेकै छौँ, एउटा भएको छोराले पनि राम्रो संग पढ्दीएन्, रातदिन पिरलो परिरहेको छ” – उहाँले भन्नुभयो ।
पटक पटक घरमा पुगेर विद्यार्थीलाई विद्यालय आउन आग्रह गर्दा पनि विद्यालय नियमित ल्याउन नसकिएको कक्षा १० का कक्षा शिक्षक दिपेन्द्र भट्टराई बताउनुहुन्छ ।
यसवर्ष एसईई दिने भएको हुदा बिहान साँझ ट्युसन लिन र दिउँसो नियमित विद्यालय आउन घरमै पुगेर विद्यालयका प्रअ, कक्षा शिक्षक, व्यवस्थापन समितिले अभिभावक भेटघाट, विद्यार्थी भेटघाट गरी सम्झाउने बुझाउने गरेपनि नियमितता गराउन सकिएको छैन ।
विद्यालयले स्कुल पोशाक, शैक्षिक सामग्रीको प्रबन्ध गरेपनि उनीहरु नै पढाईप्रति चासो नै नदिएको प्रधानाध्यापक भानुभक्त न्यौपाने बताउनुहुन्छ ।
कुमाल समुदायमा कतिपय अभिभावकले घरायसी कामकाजमा लगाएर नियमित विद्यालय नजाने गरेका छन् भने कतिपय आफुसुकै पढ्न मन नलागेर नजाने गरेको विद्यार्थीको भनाई छ ।
अझैपनि समुदायमा पढ्नुपर्छ भन्ने मानसिकतामा परिवर्तन आउन सकेको छैन । अशिक्षा, गरिवी र पुरानो सोचाईका कारण गाउँमै विद्यालय सञ्चालन भएपनि नियमित जाने बानी उनीहरुमा छैन ।
रामपुर नगरपालिका ६ को तिलकपुर क्षेत्र कुमाल समुदायले ढाकेको छ । यहाँ करिब दुई सय २५ घरपरिवार कुमाल समुदायको बसोबास छ । यो क्षेत्र नगरपालिकाको केन्द्रबाट नजिकै पर्छ । तर पनि यहीँका विद्यार्थीलाई विद्यालयमा नियमितता गराउन सकिएको छैन ।
पाल्पा जिल्लाका रामपुर, घोरबन्दा, पोखराथोक, गेझा, चिर्तुङ्गधारा, ख्याहा लगायतका स्थानमा कुमाल समुदायको बाक्लो वस्ती छ । यहाँ करिब छ हजारको हाराहारीमा कुमाल समुदायको बसोबास पाइएको छ ।