बाह्र बर्षसम्म कुकुरको पुच्छर …………!

0
1409

प्रकाश खनाल
नेपाली कांग्रेसले बिगतमा स्थानीय स्तरमा बिना संगठन, बिना नेतृत्व ३ तहका निर्वाचनको सामना गरिसकेको छ ! परिणाम स्वरुप जस्तो कर्म त्यस्तै फल पनि भोगिसकेको छ । यदि नैतिकता हुने हो भने पराजयको जिम्मेवारी लिदै पार्टी नेतृत्वले उतिबेलै राजीनामा दिएर उच्च राजनीति संस्कार देखाउनु पर्दथ्यो ,तर त्यो हुन सकेन,सकेन ! समयमा महाधिवेशन त गर्नुपर्छ नि ! तर उसका पछिल्ला गतिविधिलाई हेर्दा ,अझै पनि पार्टीको १४ औ महाधिवेशन गर्ने तत्परता देखाएको छैन। हरूवा चरुवाहरु , पद हत्याउन ,विभिन्न बहानावजी गर्ने र आगामी महाधिवेशनलाई पुनः कब्जाको रणनीतिक चालमा उद्दत देखिन्छन ।

बेमौसमी बाजा ,यसको ज्वलन्त उदाहरणका रूपमा यतिबेला भात्री संस्थाको गठन र बिभागका लागि चलेको बहसलाई लिन सकिन्छ । संगठनलाई गतिशील र सर्व स्विकार्य बनाउन , गुटगत भागबन्डाका आधारमा गठन हुने,यस्ता भात्री संगठन हुन वा बिभाग ,अर्को महाधिवेशनबाट आउने पार्टी नेतृत्वले स्वीकार गर्ने अवस्था बिल्कुलै रहदैन र रहनु पनि हुदैन । यति कुरा जान्दाजान्दै किन त्यतातिर जोड दिइरहेको छ त ?

तसर्थ संगठनलाई जिवित राख्न,लोकतान्त्रिक अभ्यास र बिधिको अक्षरश पालना गर्दै ,संगठनका आधारभूत तहबाट नै अधिवेशन गरी संस्थागत रूपमा पुरा अवधीका लागी नेतृत्व चयन गर्नु नै संगठनको प्रमुख कार्य थियोे । भने,बिधान बमोजिम १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिले ,निर्वाचन भएको २ महिना भित्र सबै २८ वटा बिभाग लाई पुर्णता दिनुपर्ने थियो । तर निर्धारित समयमा केही हुन सकेन । यसरी म्याद थप्दै गठन हुने, भात्री संस्था हुन वा,गुटगत स्वार्थ सिद्ध गर्ने हेतुले, नेतृत्वको अनुकुल समयमा मनोनयन बाट चयन गरिने बिभागिय समिति किन नहुन ,यी केवल १४ औ महाधिवेशन कब्जा गर्नलाई त सहायक बन्न सक्लान् नै ,तर समग्र कांग्रेस पार्टीको जिबनका लागि घातक सिद्ध हुनेछन् !

साच्चिकै १४ औ अधिवेशनलाई कार्यकर्ता तैनाथ गर्ने मनसुवा अनुसार गर्न खोजिएको हो भने, यसले,फेरि पनि कसैको हित गर्दैन । “एकपटक भड्खालोमा परेपछि त पशुले पनि चेत्छ भन्थे”,तर कांग्रेस नेतृत्वले यो कुरा कहिल्यै मनन गर्न सकेन ! “काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर” ,अब के का लागि,कस्का लागि बिभाग र भात्री संगठन बिस्तार र गठनको बहस चलाइएको छ ? त्यो षड्यन्त्र आम कार्यकर्ता समर्थक र शुभेच्छुकले बुझेकै छन् र उचित समयमा हिसाबकिताब लिनेछन् र लिनैपर्छ पनि ।

“बाह्र बर्षसम्म कुकुरको पुच्छर ढुंग्रोमा राख्यो बाङ्गाको बाङ्गै,” भने जस्तै ,नेपाली कांग्रेसको आन्तरिक तागत जहिले सुकै किन नहोस् ,फरक बिचार सगको प्रतिस्पर्धामा भन्दा पनि आफू आफैमा अस्वस्थ प्रतिस्पर्धा गर्नमा केन्दृत भएको पाइन्छ । सोचेर ल्याउने हो भने, यतिबेला हाम्रो देशले एउटा सच्चा राजनेता मागेको छ । कांग्रेस भित्रबाट त्यसलाई पुर्ती गर्ने प्रसस्त संभावना पनि छन । यो बेला कांग्रेसले जुन बस्तुको बजारमा माग छ ,त्यसलाई सडाएर राख्ने र सडेगलेका बस्तु बजारमा लग्नु हुदैन । आफ्नो आन्तरिक तागतलाई बिर्सेर झिनामसिना बिषयमा अल्मलिदा, संभावना रहेर पनि, प्राप्त अवसर गुम्ने खतरा सृजना हुनु ,स्वयं कांग्रेसकै लागि मात्र नभैकन देशकै लागि ठुलो दुर्भाग्यपूर्ण हुनसक्छ ।
(लेखक नेपाली काँग्रेस कास्कीका नेता हुन )