पोखरा । कास्की कांग्रेसको चुनाव प्रचार अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । दोस्रो चरण कार्यक्रमको पहिलो दिन बिहीबार पनि मतदाता भेटघाट कार्यक्रम नै जारी रहेको कास्की कांग्रेसले जनाएको छ ।
पोखरा–२० भलाममा बिहीबार उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
पोखरा–७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको कांग्रेस नेता एवं चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले जानकारी दिए । केही टोल बाहेक अधिकांशमा मतदाता भेटघाट सकिएको उनले बताए ।
वडा भित्र पनि कलष्टर छुट्याएर अभियान सञ्चालन गरिएको संयोजक शर्माले बताए । उनले भने, ‘टोलै पिच्छे छुट्टाछुट्टै समिति गठन गरेर अभियान अघि बढाएका छौं । साथै पार्टीका सबै संयन्त्रलाई पनि परिचालन गरेका छौं ।’
नेविसंघका नेता कार्यकर्ताले विद्यार्थी, महिला संघका नेता कार्यकर्ताले महिला, तरुण दलका नेता कार्यकर्ताले युवा, जनजाति संघका नेता कार्यकर्ताले जनजातिहरूसंग भेटघाट गरेको नेता शर्माले बताए । उनले भने, ‘कांग्रेस पार्टीप्रति विश्वास र उम्मेदवार खेमराज पौडेलको लोकप्रियताले मतदाता निकै उत्साहित छन् । कांग्रेसको पक्षमा मत दिन आतुर छन् ।’
यता, पोखरा १६ मा पनि घरदैलो अभियान जारी छ । जसअन्तर्गत पहिलो चरणमा मतदाता भेटघाट कार्यक्रम भएको छ । चुनाव प्रचार समितिका संयोजक कुमार खड्काका अनुसार यस क्षेत्रमा आगामी मंसिर ५ गते उम्मेदवारसहितको घरदैलो अभियान हुनेछ । त्यसको तयारी पनि भइरहेको र पार्टीका सबै संयन्त्र परिचालन गरि चुनाव प्रचार भइरहेको गण्डकी प्रदेशसभा सदस्य समेत रहेका नेता खड्काले जानकारी दिए ।
यस्तै, पोखरा–११ मा पनि चुनाव प्रचार अभयान जारी छ । चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समितिहरू बनाएर अघि बढाइएको छ ।
उनका अनुसार यस क्षेत्रमा कात्तिक ३० गते शनिबार उम्मेदवार र जिल्लाका उच्च तहका नेताहरूसहितको मतदाता भेटघाट कार्यक्रम तय भएको छ । संविधानसभा सदस्य समेत रहेकी उनले पोखरा–११ कांग्रेसकै पकड क्षेत्र भएको भन्दै यस क्षेत्रमा पहिला भन्दा डब्बल मत ल्याउन कांग्रेस सक्रिय भएर लागेका जानकारी दिइन् ।
यसैगरी पोखरा–९ मा घरदैलोमार्फत मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको चुनाव प्रचार समितिका संयोजक वीरेन्द्रनारायण विजुक्छेले जानकारी दिए । पोखरा–९ मा विगतका चुनावमा भन्दा धेरै भन्दा धेरै कत तान्न कांग्रेस सक्रिय भएर लागेको र मतदाता पनि निकै उत्साहित रहेको संयोजक विजुक्छेले बताए । उनले भने, ‘आगामी मंसिर ३ गते उम्मेदवार खेमराज पौडेल, कास्कीका उच्च नेताहरू सहितको घरदैलो गर्ने तयारीमा छौं । पार्टीका सबै संयन्त्र परिचालन गरेर चुनावमा खटाएका छौं ।’
पोखरा–३३ मा पनि मतदाता भेटघाट अभियान तीव्र छ । पार्टीका केन्द्रीय सदस्य एवं चुनाव प्रचार समितिका संयोजक जीवन परियारले एक चरण सबै मतदातासंग भेटघाट भैसकेको र उम्मेदवारसहितको मतदाता भेटघाटको तयारीमा रहेको जानकारी दिए । उनका अनुसार आगामी मंसिर १ र २ गते उम्मेदवार खेमराज पौडेल र कास्की कांग्रेसका नेताहरू त्यस स्थानका मतदाता भेट्न पुग्ने कार्यक्रम तय भएको छ ।
डाँडाखोरका स्थानीयले लामो समयपछि पूराना नेतालाई घर गाउँमा देख्दा निकै खुशी भए । घरदैलोका क्रममा उम्मेदवार पौडेलसहित कास्की कांग्रेसका नेताहरु बिहीबार डाडाखोर पुगेका थिए । त्यस अवसरमा पौडेलका सहपाठीहरू निकै खुशी देखिन्थे ।
मतदाता भेटघाटका क्रममा केही संचारकर्मीसंग कुरा गर्दै उम्मेदवार पौडेलले कम्युनिष्ट सरकारले राज्यका सबै संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए । उनले लोकतान्त्रिक संविधानलाई च्यालेन्ज दिंदै वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताए ।
सरकारको यस्ता रवैया र हावादारी गफले जनता निकै निराश भएको आफूले घरदैलो अभियानका क्रममा पाएको उनले बताए । उनले भने, ‘सरकारको यो रवैयालाई ठीक ठाउँमा ल्याउन र मुलुकमा कम्युनिष्ट शासनबाट जनता आजित भएका छन् भन्ने सन्देश दिन पनि यो चुनावमा कांग्रेसले जसरी पनि जित्नुपर्छ ।’ आफू उमेरले पाको भए पनि विचार र आफूले बोकेका सिद्धान्त नयाँ र प्रजातान्त्रिक भएको उनले स्पष्ट पारे ।
भलामको घरदैलोमा चुनाव प्रचार समितिका संयोजक एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, संघीय सांसद विन्दादेवी राना, नेताहरू देवराज चालिसे, सरस्वती गुरुङ, ऋषि काफ्ले, शोभियतबहादुर अधिकारी, वीरेन्द्र नारायण विजुक्छे, क्षेत्रीय सभापति माधव बाँस्तोला मधु, नगर सभापति वजीरमान श्रेष्ठ लगायतका नेता कार्यकर्ताले साथ दिइरहेका छन् ।