सरकारले लोकतन्त्रमाथि टेकेर लोकतन्त्र र नागरिक अधिकारमाथि नै अतिक्रमण गरेको आरोप

0
937

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले ॠषिङ गाउँपालिकामा निर्माण भएको कान्छे विधुतीकरण जलविद्युत आयोजनाको विहिवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । विधुतीकरण कार्यक्रमको उद्घाटन पछि बोल्दै केन्द्रीय सदस्य जोशीले ऋषिङ गाउँ पालिकाका आठवटै वडाहरुमा नेपाली काँग्रेसले विजय प्राप्त गरेको कुराले आफू निकै हर्षित भएको वताउँदै विगतको स्थानीय निर्बाचनमा जनताले नेपाली काँग्रेसलाई दिएको मतलाई सम्मान हुनेगरि कार्य सम्पादन गर्न सुझाव दिनुभएको थियो ।

काँग्रेस नेता जोशीले नेपाली काँग्रेस आफ्नो स्थापना कालदेखि जनताको सर्वोच्चता र नागरिक अधिकारको पक्षमा समर्पित हुँदै आएको वताउँदै काँग्रेसबाट निर्बाचित सबै जनप्रतिनिधिहरूले जनताको समस्या र आवस्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । नेता जोशीले आज जनताहरू गाउँ छाडेर शहर बसाई सर्ने लहर चलेको उल्लेख गर्दै सबैलाई गाउँमा बसौं बसौं बनाउन पनि जनताका लागि आवश्यक विकासका पूर्वाधारहरू निर्माण गर्ने अभियानको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने बेला आएको वताउनु भएको थियो । उहाँले गाउँको भौतिक पूर्वाधार विकाससँगै आयआर्जनका कार्यक्रम पनि संचालन गरेर स्वरोजगारको वातावरण निर्माण गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।

काँग्रेस नेता जोशीले नेकपाको सरकारले लोकतन्त्रमाथि टेकेर लोकतन्त्र र नागरिक अधिकारमाथि नै अतिक्रमण गरेको दावी गर्दै राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि जनताहरू सचेत र सजग हुनुपर्ने बेला आएको धारणा राख्नु भएको थियो । उहाँले चुनावअघि ठुला ठुला कुरा गर्ने ओली सरकार चुनावपछि देशमा महंगी, भ्रष्टाचार र जनतालाई अत्याचार शिबाय केही दिन नसकेको आरोप लगाउनु भएको थियो ।

कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकिशोर श्रेष्ठले आफूले निर्बाचन जितेको साढेदुई बर्षमा ऋषिङ गाउँपालिकाका सबै वडामा बाटो, बिजुली, खानेपानी, शिक्षा र पूर्वाधार विकासमा धेरै कामहरू भएको दाबी गर्दै पाँच बर्षको आफ्नो कार्यकाल ऋषिङबासीलाई सम्झन लायक बनाएर विदा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नेपाली काँग्रेसको तर्फबाट निर्बाचन जितेका स्थानीय तहहरूमा नेकपा सरकारले बजेट र योजना वितरणमा पक्षपात गरेको वताउँदै जनताले अपेक्षा गरे अनुसारको विकास र अधिकार स्थानीय तहबाट उपलब्ध गराउन नसकिएको जानकारी दिनुभयो । अध्यक्ष मल्लले गाउँ गाउँमा जनतालाई सिहदरबारको अनुभूति दिन स्थानीय तहमा अहिलेको भन्दा तेव्वर बजेट विनियोजन गर्नुपर्ने र स्थानीय सरकारलाई केन्द्रले विना हस्तक्षेप काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऋषिङ गाउँ पालिकाले अघि सारेको विकास अभियानप्रति जलजला गाउँ पालिकाको तर्फबाट ऐक्यबद्धता समेत जनाउनु भएको थियो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक गिनुमाया थापा, वडा नं ६ का वडा अध्यक्ष भक्तबहादुर आले, न्यायिक समिति सदस्य भरत कुमार श्रेष्ठ, शिब सरस्वती मावि ऋषिङका प्रअ विष्णुप्रसाद वराल, आदर्श युवा क्लबका उपाध्यक्ष लालबहादुर आले, जनकल्याण युवा क्लबका अध्यक्ष गोविन्द आले, महिला समूहका सचिव भीमकुमारी आले लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश स्थानीय वक्ताहरुले गाउँपालिकाले उज्यालो ऋषिङका लागि पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

ऋषिङ गाउँपालिका वडा न ७ का वडा अध्यक्ष जंगवीर आलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्थानीय समाजसेवी वावुलाल आलेले गर्नुभएको थियोभने कार्यक्रमको संचालन गाउँपालिकाका सदस्य दानबहादुर श्रेष्ठले गर्नुभएको थियो । त्यसैगरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले विहिवार नै नेपाल महिला संघ भिमादको आयोजनामा भएको महिला भेलालाई समेत सम्बोधन गर्नुभएको थियो