क्रिकेट खेलाडी भण्डारी सम्मानित

 राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ ।

नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गर्नुभएको हो । खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भन्नुभयो, “प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पु¥याउँछ ।” खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताउनुभयो । खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उहाँले बताउनुभयो । कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई गोल्डन बुट जितेका थिए । भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति पोल्याण्ड जाने

राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बर पहिलो साता पोल्याण्ड जाने तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति डिसेम्बर १ मा पोल्याण्ड जाने तय भएको हो । डिसेम्बर ३ देखि १४ सम्म पोल्याण्डको कोट्वाइस शहरमा आयोजना हुने सम्मेलनमा विश्वभरका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाइने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।

बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम

 

रुपन्देही,  नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, संविधानसभा सदस्य दुर्गा उपाध्याय, प्रदेश सांसद फकरुद्दिन खान, अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत तान्सकुलले बुद्धको दर्शन विश्वमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भगवान् गौतम बुद्धको जन्मभूमिमा टेक्न पाउनु थाई नागरिकका लागि खुशीको कुरा भएको बताउँदै उहाँले पवित्र भुमिमा यस्ता कार्यक्रम हुनु बौद्धमार्गीका लागि महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भिक्षुहरुको प्रयास र बौद्ध परियत्ती शिक्षाका कारण नेपालमा पनि बौद्ध धर्म फैलिँदै गएको बताउनुभयो । बुद्धको शिक्षा र दर्शनको विस्तारका लागि उपासक–उपासिकाहरुले साथ दिनुपर्ने भन्दै उहाँले बौद्ध शासनको विस्तार र विकासमा लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रदेश साँसद फकरुद्धिन खानले त्रिपिटकवाचन कार्यक्रमले लुम्बिनीको स्थान अझै माथि पुगेको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका अभ्यक्ष मैत्री भिक्षुले त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीलाई लुम्बिनी आउन प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा भिक्षु बोधिसेनले पञ्चशील प्रदान गर्नुभएको थियो । कार्यक्रमअघि लुम्बिनीको शान्ति दीपदेखि कार्यक्रमस्थल मायादेवी परिसरसम्म ¥याली निकालिएको थियो । तीन दिनसम्म हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाई भिक्षुहरुको नेतृत्वमा भएको छ । भोजनपछि नेपाली भिक्षुहरुको नेतृत्वमा त्रिपिटकको वाचन गरिएको छ । त्यसपछि क्रमशः बर्मा, श्रीलङ्का र क्याम्बोडियाका भिक्षुको नेतृत्वमा त्रिपिटक पाठ गरिनेछ । दोस्रो दिनको सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरुले गर्नुहुनेछ । यसपछि चिनियाँ तथा जापानी भिक्षुहरुको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ । तेस्रो दिनको त्रिपिटक पाठ वाचन थाई भन्तेहरुको नेतृत्वमा शुरु हुनेछ । तेस्रो दिनको पाठ सकिएपछि सहभागी सबैका तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने महासङ्घले जनाएको छ । भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जस्मा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ र विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

नेपाल प्रहरी ‘डिजिटल गभर्नेन्स अवार्ड–२०१८’ प्राप्त गर्न सफल

काठमाडौँ, २८ कात्तिक (रासस) ः सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका कार्यकारी सदस्य डा अभिजित गुप्ताले ग्रहण गर्नुभएको उक्त अवार्ड आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो । संस्थाले एशोसिओ आउटस्टयाण्डिङ कम्पनी, आउटस्टयाण्डिङ युजर अर्गनाइजेशन, डिजिटल गभर्नमेन्ट र आइसिटी एजुकेशन गरी चार विधामा अवार्ड वितरण गर्ने गर्छ । त्यसमध्ये नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण अवार्ड प्राप्त गरेको हो । सदस्य राष्ट्रबीच आइसिटी इन्डस्ट्रीलाई प्रवद्र्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा उक्त संस्था स्थापना भएको हो । संस्थामा एशिया र ओशिएनियाका २४ देशका सूचना प्रविधिसँग सम्बन्धित १० हजारभन्दा बढी संस्था आबद्घ छन् । यसअघि २०७५ भदौ १ गते नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स अवार्ड–२०१८’ प्राप्त गर्न सफल भएको थियो । सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो । –––