आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने: भण्डारी

 

बाल्टिमोर,  डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेर पहिलो नेपाली अमेरिकी बन्नुभएको छ । । भण्डारी अमेरिका आएर नागरिकता लिएको सात वर्षमा नै उक्त पदमा पुग्न सफल हुनुभएको छ । रासससँगको कुराकानीका क्रममा भण्डारीले आगामी दिनमा आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाइने बताउनुभयो । भण्डारीको जीत सम्भव हुनुमा उहाँको निरन्तरको लगाव, कर्मशील छवि र मतदातासँग घुलमिल नै कारक रहेको डा उत्तम गौली बताउनुहुन्छ । उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करीब १०० जनाले मात्र मतदानमा भाग लिएका थिए । गौलीले अगाडि थप्नुभयो, “अमेरिकाको विविधताको मजबुत आधारशिलाका कारण भण्डारीले हाउसमा विधायक भएर सेवा गर्ने मौका पाउनुभएको छ ।” मेरिल्याण्डमा रहेका राजनीतिक पर्यवेक्षकले नेपालीले गरेको ‘फर्सीको मुन्टाको डिप्लोमेसी’ले पनि काम गरेको बताउँछन् । आफ्ना छिमेकीलाई आफ्नो करेसाबारीमा फलेको तरकारी र फलफूल दिएर आफ्नो बनाउन नेपाली निकै सिपालु देखिएका छन् । भण्डारी जिताउ अभियानमा सहभागी तरुण पौडेलले भण्डारीको जीतले अमेरिकामा रहेका नेपालीका लागि एउटा अलग्गै इतिहास रच्न सफल भएको बताउनुभयो । मेरिल्याण्डमा नै बसोबास गर्दै आउनुभएका नेपाल–अमेरिका पत्रकार सङ्घका पूर्वअध्यक्ष गौतम दाहालले भण्डारीको जीतले डायस्पोरामा रहेका नेपालीको धार नै परिवर्तन भएको बताउनुभयो । पर्वत जिल्लाको थापाथानामा पिता अम्मरबहादुर र आमा कान्तिकुमारीका कोखबाट विसं २०३४ मा जन्मनुभएका भण्डारी अमेरिकामा सन् २००५ देखि बसोबास गर्दै आउनुभएको छ । उहाँले मतदानको अधिकार सन् २०११ मा पाउनुभएको थियो । –––

कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा

 

पोखरा,  पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो । कोमागाने र जापानका बारेमा अध्ययन गर्न सो मितेरीकक्ष स्थापना गरिएको हो । सो कक्षको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र ‘सिटिजन एशोसिएसन फर नेपाल एक्सचेन्ज कोमागाने’का अध्यक्ष कोमा सुभाराले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । प्रदेशसभा सदस्य थापाले कोमागाने शहरसँगको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा महागनरका उपप्रमुख गुरुङले मितेरी सम्बन्धलाई बलियो र आत्मीय बनाउन महागनर तयार रहेको बताउनुभयो । उहाँले पोखराको लेकसाइडस्थित कोमागाने पार्कलाई व्यवस्थित गर्ने महानगरको योजना रहेको बताउनुभयो । सिटिजन एशोसिएसन फर नेपाल एक्सचेञ्ज कोमागानेको अध्यक्ष सुभाराले पोखरा र कोमागानेबीचको सम्बन्धले दुई शहरका बासिन्दाबीचको सम्बन्ध सुमधुर बनेको बताउनुभयो । कोमागाने र पोखराबीच सन् २००१ मा मितेरी सम्बन्ध स्थापना भएको हो । कोमागानेले मातृशिशु मितेरी अस्पताल निर्माण गर्न, स्वास्थ्य उपकरण खरीद गर्न तथा स्वास्थ्य कार्यक्रमका लागि रु सात करोड सहयोग गरेको पोखरा कोमागाने नागरिकमैत्री एशोसिएसनका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिनुभयो । –––

(नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालद्वारा गलेश्वर शिवालयको अवलोकन

 

बेनी,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गर्नुभएको थियो । नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर मन्दिरसँगै ढुङ्गामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिलालगायतको समेत अवलोकन गराइएको थियो । धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको गलेश्वरको महत्वबारे गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र मन्दिरका पण्डित भीमनाथ पराजुलीले जानकारी गराउनुभएको थियो ।मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरको ऐतिहासिक महत्व र यहाँको समस्याबारे जानकारी लिन अवलोकन भ्रमण गरिएको अध्यक्ष दाहालका निजी सचिव जोगबहादुर महराले जानकारी दिनुभयो । अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आज बिहान म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कालीगण्डकी नदीले गरेको कटानलगायतको स्थलगत अवलोकन गर्नुभएको छ । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीताको उपचारको सिलसिलामा सोमबार म्याग्दी आउनुभएका अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकलासहितको टोलीले आज दुई पटक तातोपानीमा डुबेर स्नान गर्ने तयारी छ । –––

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

दीपेन्द्र बस्नेत पुनर्वास , कञ्चनपुरको सीमान्त दक्षिणी क्षेत्र पुनर्वासमा शान्ति सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय बनेको प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई सोमबार पक्राउ गरेका छ । हप्ता दिन अघि चरश र लागुऔषध तथा ओसारपसारमा सकृय गिरोह पक्राउ गरेर चर्चामा आएको ईलाका प्रहरी कार्यालय पुनर्वास सोमबार चोरी गरेको मोटरसाइकल सहित चोरलाई पक्राउ गरे संगै चर्चामा आएको छ । मोटरसाइकल चोरी धन्दामा संलग्न रहेका पुनर्वास नगरपालिका–६, का २२ वर्षीय निरज श्रेष्ठ र पुनर्वास नगरपालिका–१ पुरैनाका २४ वर्षीय सुरेन्द्र रानालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ । कार्तिक २२ गते राती ९ः३० बजे घरको आँगनबाटै पुनर्वास नगरपालिका–६, प्रतिभानगरका खेमराज श्रेष्ठको २२० सी।सी।को अनटेस्ट पल्सर मोटरसाइकल हराएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा हराएको मोटर साइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बिरुद्ध चोरीको मुद्दासमेत दायर भइसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गणेश खडायतले जानकारी दिए । गत असोजमा मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरी मुद्दा चलाएको थियो ।