अरुलाई आकर्षित गर्न लुक्स बदल्ने गरिएका घटना त देखे सुनेकै हो । तर नेदरल्याण्डमा निकै अनौठो घटना भएको छ ।
बढीभन्दा बढी महिलाहरुसँग डेटिङ गर्नका लागि एकजना मानिस आफ्नो उमेर परिवर्तन गर्न चाहन्छन् । ६९ वर्षका ती वृद्धले आफ्नो उमेर घटाएर ४९ वर्ष बनाउन चाहन्छन् ता कि उनलाई डेटिङका मौका पर्याप्त मिलुन् ।
कानूनी रुपमा उमेर घटाउने प्रयोजनका लागि उनी एम्सटर्डमस्थित स्थानीय अदालतमा पुगे । डेटिङको दुनियामा बढीभन्दा बढी मौका प्राप्त गर्नका लागि आफ्नो उमेर वास्तविक भन्दा २० वर्ष घटाउने उनको इच्छा छ ।
पत्रकार तथा प्रवचकसमेत रहेका एमिल रेटलब्याण्डको वास्तविक जन्ममिति सन् १९४९ मार्च ११ हो । तर, उनी त्यसलाई बदलेर सन् १९६९ को मार्च ११ बनाउन चाहन्छन् ।
मान्छेले आफ्नो नाम तथा लिंग बदल्न पाउँछन् भने उमेर पनि बदल्न पाउनु पर्छ भन्ने उनको तर्क छ ।
डेटिङ साइट टिन्डरमा आफ्नो उमेर ६९ वर्ष रहेको हुँदा आफूलाई डेटिङमा कसैले पनि प्रस्ताव नगर्ने र आफ्नो प्रस्तावको जवाफ पनि कसैले नफर्काउने गरेको उनको गुनासो छ । ४९ वर्ष उमेर भएमा स्थिति निकै राम्रो हुने उनको विश्वास छ ।
अदालतमा उनले दायर गरेको यो अनौठो मुद्दाको सुनुवाई ४ हप्ताभित्रमा पूरा हुनेछ ।
आफुलाई युवा भगवानको नामले पनि चिनाउने एमिल अहिले पेन्सन पाउँछन् । यदि आफ्नो उमेर घटेमा आफु पेन्सन सुविधा त्याग्न पनि तयार रहेको उनी बताउँछन् ।
ओलम्पिक महिला फुटबल छनोट ः नेपाल र बङ्गलादेश खेल्दै
ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक÷एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ । बङ्गलादेश अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । बङ्गलादेशलाई पराजित गर्नसके नेपाल दोस्रो चरणमा पुग्नेछ । नेपालका लागि भारत र म्यान्माबीचको खेल पनि महत्वपूर्ण हुनेछ । भारत र म्यान्माबीच आजै दोस्रो खेल हुनेछ । उक्त खेलमा हार वा जित जे भएपनि बङ्गलादेशलाई हराएमा नेपालले दोस्रो चरणको यात्रा तय गर्नेछ । सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ । समूह ‘सी’ र ‘डी’ मा चार चार टोली छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरण पुग्नेछन् । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन् । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । नेपाली २२ खेलाडी, दुई प्रशिक्षक र दुई कर्मचारी छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन् । नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो । नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन् । त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।
राखेपमा रिक्त तीन सदस्य नियुक्त
सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।
युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो ।
राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय हुनुहुन्छ । यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य रहनुभएको छ । बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुनुहुन्छ ।