राज्य संरक्षित गुण्डागर्दीमा उत्रियो ने क पा, रुकुम पश्चिमका प्रेस युनियनका सचिव खनाल सहित १ दर्जनमाथि छुरी प्रहार

काठमाडौं। सत्तारुढ ने क पाका कार्यकर्ताहरु राज्य संरक्षित गुण्डागर्दीमा उत्रिएका छन्। रुकुम पश्चिममा ने क पाका कार्यकर्ताहरुले भाइटीकाकै दिन नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई छुरी तथा अन्य हतियार प्रहार गरि घाइते बनाएका छन्। भाइटीकाको दिन शुक्रवारअपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल र कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, अमोद कुसारी, विकास कुसारी, अनिल कुसारी, अमरसिंह कुसारी लगायत ने क पा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए। आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ। रुकुमको घटना लगत्तै नेपाल प्रेस युनियनले विज्ञप्ती निकाली विरोध गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्र्द। साथै उनले गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन्। शिवाकोटीले दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिएका छन्। युनियनले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस प्रकार रहेको छः मितिः २०७५ कार्तिक २३ प्रेस विज्ञप्ती नेपालीहरुको महान चाड तिहार मनाइरहेका बेला समेत सत्तारुढ ने क पा रुकुम पश्चिमका कार्यकर्ताहरुले गरेको नियोजित सांघातिक आक्रमणमा परि  नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल गम्भिर घाइते भएको घटनाले नेपाल प्रेस युनियन अत्यन्तै आक्रोशित भएको छ। नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन्। खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई समेत ने क पा रुकुमका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका छन्। अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल, कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत ने क पा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए। आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ। दशैंको बेलामा समेत वाफिकोटका स्थानिय तह र रुकुम पश्चिमका स्थानिय प्रसासनले नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रम बल प्रयोग गरेरै रोकेको थियो। त्यसयता रुकुम पश्चिममा ने क पाका कार्यकर्ताहरुले डरको वातावरण सिर्जना गर्दै आएका छन्। भाइटीकाको दिन नै भएको यो आक्रमण राज्य संरक्षित गुण्डागर्दीको उदाहरण हो। नेपाल प्रेस युनियन राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ। साथै गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछ। दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिन चाहन्छौ। अजयबाबु शिवाकोटी महासचिव नेपाल प्रेस युनियन नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माले खनालमाथि भएको आक्रमणको निन्दा गरेका छन्। शर्माले सो घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन्। ने क पाले यसअघी दशैंको अवसरमा वाफिकोटका स्थानिय तह र रुकुम पश्चिमका स्थानिय प्रसासनले नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रम बल प्रयोग गरेरै रोकेको थियो। साभार ः हाम्राकुरा डट कम

प्रधानमन्त्री केपी शर्मा ओली- टीका

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो । टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो । ———

भाइटीका लगाइयो

 

 यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ ।

सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत दिएको थियो । दिदीबहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ । दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वाससमेत छ । कात्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ । –––

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी

भादगाउँ, मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो । लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताउनुभयो । “सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उहाँले भन्नुभयो । आगलागीबाट करीब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिनुभयो ।करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ____