सुर्खेत, सुर्खेत कारागारका कैन्दीबन्दीले नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह गरेका छन् । विभिन्न मुद्दामा सजाय भुक्तानका लागि उक्त कारागारमा रहेका कैदीबन्दीसँग आज भेटघाट गर्नुभएका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसँग उनीहरुले सो आग्रह गरेका हुन् । “कानून र अपराधसँग सम्बन्धित आधारभूत विषयहरू विद्यालयको पाठ्यक्रममा राख्न अनिवार्य छ”, लागुऔषध दुव्र्यसनीको मुद्दा खेपिरहेकी कैदीबन्दी तुलसी दमाईंले भनिन् । समाजमा कस्ता खालका गतिविधि आपराधिक मानिन्छन् र कानून के हो भन्ने विद्यालयस्तरबाटै राम्रोसँग सिकाउनुपर्ने उनको सुझाव थियो । कानून, अपराध र कारवाहीका बारेमा समाजका निरक्षर नागरिकले थाहा नपाएकै कारण आफूहरू फस्नुपरेको उनको दुखेसो थियो । मानव बेचबिखन मुद्दाका कैदी मीना परियारले नेपालको कानून अन्धो भइदिँदा आफूजस्ता सोझासाझाले दुःख पाउनु परेको बताइन् । प्रहरीले आफू बच्नका लागि निर्दोषलाई फसाउने गरेकोे आरोप लगाउँदै उनले जोड दिइन् ‘‘धान खाने मुसो, चोट पाउने भ्यागुतो हुने हो भने नेपालमा जस्तोसुकै कानून आए पनि सोझासाझाले न्याय पाउँदैनन् ।’’ अपहरण मुद्दाका कैदी हीरासिंह ठकुरीले अशिक्षित समाज र अविकसित देशका नागरिक आपराधिक गतिविधिका शिकार हुनु परेको बताए । सैपाल नामले चिनिने अर्का कैदीबन्दीले असल आचरण बनाउनका लागि कारागारमा ज्ञानबर्धक पुस्तकालयको आवश्यकता रहेको बताए । कानूनका बारेमा समाजका सबै वर्गले बुझ्न पाउने अधिकारलाई राज्यले व्यवहारमा लागू गर्नुपर्नेमा उनीहरूको जोड थियो । मन्त्री केसीले कारागारलाई बन्दीगृह नभई सुधारगृहका रुपमा स्थापित गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताउनुभयो । “कैदीबन्दीहरूको भोगाइबाट प्राप्त सिकाइ र बुझाइ मननयोग्य छन्,” उहाँले भन्नुभयो, “यो जनशक्तिलाई उत्पादन र आयआर्जनका काममा लगाउन सके देशका लागि हितकर छ ।” घेराभित्रका फर्महरुमा कैदीबन्दीलाई काम लगाउन सम्भव भएको भन्दै उहाँले यही जनशक्ति परिचालन गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । कारागारका प्रहरी नायब निरीक्षक मानसिंह सेजुवालले ५० पुरुष र १० महिला अट्ने क्षमता भएको कारागारमा १९ महिला, दुई नाबालिका र २०३ पुरुष गरी २२५ कैदीबन्दी रहेको जनाउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी लागुऔषध दुव्र्यसनी, बलात्कार, चेलीबेटी बेचबिखन, बहुविवाहलगायत मुद्दाका कैदीबन्दी कारागारमा छन् । –––
धितोपत्र बजारमा अनपेक्षित गिरावट
काठमाडौँ, १८ धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्सेमा उच्च गिरावट आए पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५४ कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर रु ५६ करोड ४७ लाख ८७ हजार ७३६ मूल्यमा खरीद–बिक्री भएको छ । स्टकका अनुसार आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर कारोवार ४ दशमलव २३ विन्दुले बढेको छ । यस्तै बैंकिङ १६ दशमलव १६, होटल ५ दशमलव शून्य चार, विकास बैंक ७ दशमलव ३१, जलविद्युत् ११ दशमलव ८३, वित्त ३ दशमलव ५७, निर्जीवन बीमा ६५ दशमलव ३९, उत्पादन १५ दशमलव २३, माइक्रोफाइनान्स ९ दशमलव ०४ र जीवन बीमा ९८ दशमलव ९७ विन्दुले घटेको छ । घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, साइन रेसुङ्गा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी तथा देवः विकास बैंकका शेयरधनीले भने गुमाएका छन् । –––
तास खेल्दै गर्दा कर्मचारी पक्राउ
भक्तपुर, नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इञ्जिनीयरद्वय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरिएको र पछि रिहा गरिएको प्रहरीले जनाएको छ । शाखाका प्रमुख प्रज्वलमान श्रेष्ठले ती कर्मचारी नहुँदा सेवा प्रवाहित हुने भनी अनुरोध गरेपछि छाडिएको हो । प्रमुख श्रेष्ठले शनिबारको दिन आफू कार्यालय नगएकाले कर्मचारीले के गर्छन् भन्नेबारेमा जानकारी नभएको बताउनुभयो । शाखामा विद्युत्को मिटर लिन, मिटर जडान गर्नदेखि खम्बा सार्नसमेत कर्मचारीले पैसा माग्ने गरेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ ।
वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको निधन
काठमाडौँ, वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२.४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।” नेतृ हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथासबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया राससलाई दिनुभयो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि ्अस्पताल पुग्नुभएको थियो । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो । उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ । –––