कालिका गाउँपालिका–४ आम्बासमा भएको टिपर दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । बालुवा बोकेर पारच्याङतर्फ गइरहेको बा ४ ख ८३६६ नम्बरको टिपर दुर्घटना हुँदा नौकुण्ड गाउँपालिका–३ का ४१ वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो । घाइते चालक जीवराम थोक्रासहित तीन जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । उक्त टिपर सडकदेखि २०० मिटर तल खसेको बताइएको छ । –––
साफ यु–१५ : नेपाल उपविजेता, बंगलादेशसंग पराजित
साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा आज नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेश समूह विजेता बनेको हो । हार भए पनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो मिनेटमा बङ्गलादेशले मोहम्मद अहख सकिलको गोलमा खेलमा अग्रता लिएको थियो । नेपालले ३६ आँै मिनेटमा बराबरी गोल फर्कायो । नेपालका राकेश विश्वकर्मालाई बङ्गलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा नेपालका जान लिम्बूले सहजै गोल गर्न सफल भए । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको पहिलो मिनेटमै बङ्गलादेशका मोहम्मख राइओन हवलदारको गोलबाट बङ्गलादेशले अग्रता कायम गरेको थियो । हारसँगै नेपाल प्रतियोगिताको समूह ‘ए’बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश यस जीतसँगै छ अङ्क जोड्दै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
हत्याका आरोपित चार पक्राउ
राजविराज नगरपािलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शङ्कर राउत मेहतर र २६ वर्षीय सुरज मेहतरलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले व्यावसायिक रिसइवीका कारण देवलाई निजकै कोठामा इँटाले टाउकामा प्रहार गरी हत्या गरेको खुलासा गर्नुभयो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध आइतबार कर्तव्यज्यानको उजुरी दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी देवको घरको पूर्व सामुन्ने प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको निवास रहेको छ । रक्ताम्य लास दशैँको टीकाका दिन बिहान देवकै ओछ्यानमा फेला परेको थियो । मृतकको टाउकामा ६ इञ्च लम्बाइ र चार इञ्च चौडाइ गहिरो खत रहेको र रगत लागेको इँटा प्रहरीले बरामद गरेको जनाएको छ । बलात्कारपछि हत्या भएको आशङ्कामा फोरेन्सिक परीक्षणका लागि लासको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएको छ ।