सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै रु १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिनुभयो । अन्य दिन सामान्यतयाः दैनिक रु १० लाख आम्दानी गर्दै आएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ अन्य देशबाट एक हजार २६९ जना पर्यटक घुम्न आएका थिए । यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन रु १२ लाख ८१ हजार ३०० जम्मा भएको हो । यहाँ विशेष गरी चिन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन् । यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । शुल्कबापत दैनिक सङ्कलन हुने रकमलाई पर्यटकको सङ्ख्या बढाएर रु १५ लाख सम्म पु¥याउने लक्ष्य सुनाउँदै कार्यक्रम प्रमुख पसखलले वसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुनःनिर्माणमा तीव्रता दिइएकाले पर्यटकको सङ्ख्या बढेको बताउनुभएको छ । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्मा गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ चरणमा पुगेको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मङ्गलबार आएका हुन् । आन्तरिक पर्यटकको लागि भने शुल्क लिन व्यवस्था रहेको छैन । यस क्षेत्रमा पर्यटकको झण्डै तीन दर्जन सम्पदा रहेको छ । जसमा भूकम्पका कारण दश सम्पदाको वटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको बताउनुभएको छ ।
लभ स्टेशन दार्जिलिङमा सुटिङ हुने
दार्जिलिङमा सुटिङको काम धमाधम भइरहेको फिल्म ” लभ स्टेशन ” शत प्रतिशत दार्जिलिङमा सुटिङ हुने पहिलो नेपाली चलचित्र हुने निर्माता गोविन्द शाहीले बताएका छन् ।
लोकप्रिय अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनीत नयाँ चलचित्र ‘लभ स्टेशन’को अहिले दार्जिलिङमा धमाधम छायाँकन भैरहेको छ । असोज ११ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको आधा सुटिङ सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रका निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार चलचित्रको दुई वटा गीत र ५० प्रतिशत छायाङ्कन सकिसकेको र तिहार सम्म सम्पूर्ण छायाङ्कन सकिने बताए । उनले भने, ‘हामीले दशै पनि सुटिङ स्पटमै मनाउनेछौं, धमाधम छायाँकन भैरहेको छ ।’
लिलीबिलीबाट प्रदीप र जसिताको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडी उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका लभ स्टेशनबाट पुन आँउदैछन् ।
अभिनेता प्रदिप खड्काले यो चलचित्र आफ्नो करिअरकै सवैभन्दा राम्रो चलचित्र हुने अपेक्षा राखेको बताए । उनले भने, ‘हुन त यो प्रेम कथा हो, तर प्रेमभित्रको प्रेमलाई निकै भिन्न शैल्रीमा दर्शकले हेर्न पाउनुहुनेछ ।’
चलचित्रमा प्रदीप र जसिताको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई गोविन्द शाही र नायक प्रदीप खड्काले मिलेर बनाएका हुन् । दार्जिलिङ, कालिङपोङ हुदैँ सिक्किम, फिक्कल लगायतका स्थानमा चलचित्रको छायाङ्कन हुनेछ ।
जय भोलेले दुई दिनमा नघायो करोड
चलचित्र जय भोलेले दुई दिनमा एक करोड ४ लाख रुपैयाँको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । ३० असोजमा देशव्यापी सिनेमा हलमा उक्त फिल्म रिलिज भएको हो ।
निर्माता निर्देशक अशोक शर्माले निकै लामो समयपछि राम्रो सिनेमा हर्न पाएको प्रतिक्रिया दर्शकबाट पाएको बताए ।
शर्माका अनुसार फुलपातीको दिन भन्दा अष्टमीको दिन जय भोलले निकै राम्रो व्यापार गरेको छ । उनले व्यापार बारे भने, दर्शकहरुले फिल्म मनपराउनु भएका कारण जय भोलेको व्यापार उत्साहजनक रुपमा बढी रहेको छ । पहिलो दिन ४६ लाख ग्रस व्यापार गरेको जय भोलेको दोस्रो दिनको ग्रस व्यापार ५७ पुगेको छ ।
राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् । यो चलचित्र मुलुकका १ सय २५ ओटा सिनेमा हलमा यतीबेला प्रदर्शन भईरहेको छ ।
यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरबीर पण्डितलगायतले मुख्य भूमिका रहेको छ ।
नेकपा सचिवालय बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ ।
नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि यसमा पनि विवाद छ । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले यसमा असहमति दर्ज गराएका छन् । आज बस्ने बैठकले पार्टी एकता, प्रदेश जिम्मेवारी बाँडफाँटमा देखिएको विवादलगायत विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ ।