उपप्रधानमन्त्री पोखरेल चीन भ्रमणमा
यल कप ब्याडमिन्टन शनिबारदेखि
पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ ।
ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच भ्रातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०६५ देखि आयोजना गरिएको यल कप दशौँ संस्करणसम्म आइपुग्दा यसले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । प्रतियोगिता २०७५ कात्तिक १० देखि १७ गतेसम्म आयोजकको आफ्नै कोर्टमा सञ्चालन हुने अध्यक्ष सानुकाजी महर्जनले जानकारी दिनुभयो । रनिङ शिल्डको रुपमा रहेको दशौँ यल कपमा पुरुष युगल, भेट्रान्स (४५ वर्षमाथि), मिक्स युगल र यु–१५ छात्रतर्फ प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा करीब २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता विश्व ब्याडमिन्टन महासङ्घ र नेपाल ब्याडमिन्टन सङ्घको नियमानुसार खेलाइनेछ । करीब रु १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलतर्फका विजयी पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ३०, रु २० र रु १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फ रु १५, रु १० र रु पाँच हजार तथा मिक्स युगल र यु–१५ तर्फ रु १०, रु सात र रु चार हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ ।सुनको कारोवारमा कमी
पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करीब ५० किलो भए पनि सोहीअनुसारको आपूर्ति भई सन्तुलन कायम भएको थियो । अहिले सोही समयमा बजारमा सुनको मागभन्दा आपूर्ति अत्यधिक रहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपियाँको अवमूल्यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ । यसको मूल्य क्रमिक रुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ । यस वर्ष बडादशँैको अवधिमा रत्न तथा आभूषणको कारोवार पनि अघिल्लो बडादशैँको तुलनामा ४० प्रतिशतले कम भएको नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले जानकारी दिनुभयो । बजारमा छापावाला सुन प्रतितोला रु ६० हजार कायम भई आज कारोवार भएको छ । गत बडादशैँमा भने सोको प्रतितोला रु ५४ हजारमा कारोवार भएको थियो ।