अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन् । क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन् । हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् । यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन डिस्ट्रिक क्लबबाट २०१६–१७ मा प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए । सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए । यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडी बनेका सन्दीपले इन्डियन प्रिमियर लिगमा (आइपिएल) दिल्ली डेयरडेभिल्सबाट यसै सिजनमा खेलेका थिए । अष्ट्रेलियन लिगमा आबद्ध भएपछि सन्दीपले यो नेपाल र नेपालीका लागि गौरबको कुरा भएको प्रतिक्रिया दिएको उक्त वेबसाइटले जनाएको छ । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् ।
हिन्दू धर्ममाथिको हस्तक्षेप रोक्नुपर्नेमा जोड
तनहुँ, व्यासभूमिमा विश्व हिन्दू महामिलन पर्वमा विभिन्न क्षेत्रबाट धार्मिक अभियानकर्मीको भेला भएको छ ।
कात्तिक १ गतेदेखि शुरु गरिएको एकमहीने उक्त महामिलन पर्व कात्तिक ३० गते सम्म चल्नेछ । पर्वमा काठमाडौँ, कास्की, बर्दिया, गोरखा, नवलपरासी, छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशलगायतबाट धार्मिक अभियानकर्मीको आगमन भइसकेको पर्वका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले जानकारी दिनुभयो ।
विभिन्न जातजातिका धर्मगुरुहरुको मिलन गराई हिन्दू सनातन धर्मको संरक्षण र संवद्र्धनका लागि एक सूत्रमा बाँध्ने र एकता भएर अघि बढ्ने उद्देश्यले सो पर्वको आयोजना गरिएको हो । वेदअनुयायी प्रतिष्ठानले आयोजना गरेको सो पर्वमा सन्त, महन्त, धर्मगुरु, विद्वान एवम् ओमकार परिवारको उपस्थित रहको छ ।
पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हिरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले वेद, पूजा, रुद्री, चण्डी पाठ तथा धर्मगुरुबाट दैनिक धार्मिक प्रवचन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ । गत वर्ष पनि व्यासभूमिको प्रचारप्रसार गरी व्यासलाई विश्वमाझ चिनाउने उद्देश्यले कात्तिक १ देखि डेढ वर्षसम्म अठारमहीने अखण्ड कीर्तन लगाइएको थियो ।
सोमबार भएको महामिलन पर्वमा सहभागी धार्मिक अभियानकर्मीले देशमा प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रयास बढिरहेकाले त्यसको रक्षाका लागि सनातन हिन्दू धर्मावलम्वीहरु एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
विश्व हिन्दू महासङ्घका अध्यक्ष सागर थापाले युवा पिँढीले धर्मको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने समय आएको बताउनुभयो । धार्मिक अभियानकर्मी अर्जुन रानाले समाजमा एकताबद्ध भएर बसेको धार्मिक सहिष्णुता खलबलाउने कार्य मौलाउँदै गएको प्रति इङ्गित गर्दै यसतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट आउनुभएका चन्द्रबहादु पुन, अभिषेक जोशी, यामबहादुर आले, राम गुरुङ, सिद्धान्त थापालगायत धार्मिक अभियान्तले हिन्दू धर्ममाथिको हस्तक्षेप रोक्नुपर्नेमा जोड दिनुभयो ।
–––
प्रतिपक्षमा भए पनि काङ्ग्रेसले जनताको पक्षमा काम गर्छ , नेता साउद
कालीकोट, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउनुभएको छ ।
काङ्ग्रेस कालीकोटद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ ।”
नेता साउदले यातायात क्षेत्रमा मूल्य वृद्धि, यातायात क्षेत्रको सिण्डिकेटलाई यथावत् राख्नु, काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याउन नसक्नुलगायत मुद्दाले सरकार कमजोर हुँदै गएको आरोप लगाउनुभयो ।
“स्थानीय सरकारमा भ्रष्टाचार बढ्दै गएको र विकास निर्माण पारदर्शी नभएको जनगुनासा बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा रहने कार्यकर्ताले यसको लेखाजोखा गर्नुस्, नागरिकलाई गाउँमा सिहंदरबार आएको महशुस गराउनका लागि प्रतिपक्षमा भए पनि काङ्ग्रेसले जनताको पक्षमा काम गर्छ ।”
–––
आफ्नै श्रीमतीको हत्या
दुल्लु, मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका– ४ का ५१ बर्षीया शेर बहादुर पुन रहेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार कात्तिक २ गते राती शेर बहादुर पुनले आफ्नै श्रीमती ५३ बर्र्षिया शान्ति पुनको हत्या गरेका हुन् ।
दशैको टिकाको दिन विहानै देखि श्रीमान् श्रीमती दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरी साँझ घर फर्कने क्रममा बाटोमै दुबैजना बीच झगडा भएको र त्यहीक्रममा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको पुनले स्वीकार गरेको प्रहरी नायव उपरक्षीक पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार छमेकीको घरमा श्रीमान श्रीमती र छोरा संगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफुहरु घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका पुनले बताउनुभएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
–––