नाइजेरियामा साम्प्रदायिक हिंसा, २४ घण्टे कफ्र्यु जारी
अबुजा, नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा ९कफ्र्यु० जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कफ्र्यु जारी गरेको बताउनुभयो । उहाँले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गर्नुभएको छ ।
हउसा मुस्लिम र अदारा इसाई युवाबीच यसैसाता शुरु भएको साम्प्रदायिक हिंसाका कारण कडुनाको कसुवान मगानी बजारमा तनावको वातावरण उत्पन्न भएको थियो ।
बजारमा शुरुमा बिहीबार दुई जनाको हत्या गरिएको थियो । त्यसपछि नाटकीय रुपमा हिंसा फैलिएको थियो । अदारा युवाले त्यसपछि हउसा समुदायका घरघरमा आक्रमण गरेका थिए । उनीहरुले स्थानीयबासीका घरमा आगो लगाउनुका साथै दर्जनौंको हत्या गरेका थिए ।
आफ्नो घर गुमाएका मगानीका बासिन्दा मुहम्मदु बालाले हउसा समुदायमा अधिकांश हत्या दोस्रो पटकको आक्रमणमा भएको जानकारी दिनुभयो ।
कडुनाका प्रहरी आयुक्त अहमद अब्दुर–रहमानले हिंसा फैल्याएको आरोपमा २२ जनालाई शुक्रबार पक्राउ गरिएको जानकारी दिनुभयो ।
कडुना राज्य नाइजेरियाको उत्तरी भेगका बहुसंख्यक मुस्लिम र दक्षिणका इसाई बहुल क्षेत्रको बीचमा रहेको छ । यहाँ दुई सम्प्रदायबीच हिंसात्मक घटनाहरु भइरहन्छन् ।
फेब्रुअरीमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने सयौं घरमा आगजनी गरिएको थियो । सन् २००० र २००२ मा फैलिएको हिंसामा हजारौं मारिएका थिए ।
नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले दुई सम्प्रदायबीच उत्पन्न असमझदारीले पटपटक मुलुकमा हिंसात्मक साम्प्रदायिक घटना हुने गरेको बताएको केही दिनभित्रै पछिल्लो घटना भएको हो ।
–––
पाटेबाघको सङ्ख्या घटेपछि अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन शुरु
काठमाडौँ, दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता९क्यारिङ क्यापासिटी०बारे अध्ययन थालिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी हुनुहुन्छ ।
अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, अर्का विज्ञ डा भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी हुनुहुन्छ ।
“यो फिल्डको काम कम छ, बढी डाटामा खेलेर अध्ययन गर्ने हो, बाघका आहारा प्रजाति के के हो, बाघ कहाँ पाइन्छन् भन्ने सबै थाहा छ, त्यही तथ्याङ्कको आधारमा विज्ञले विश्लेषण गरिरहनुभएको छ”, पौडेलले भन्नुभयो, “उहाँहरुको प्रतिवेदनपछि उपमहानिर्देशक भट्टराई नेतृत्वको प्राविधिक समितिले छलफल गरेर एउटा निचोड निकाल्छ ।”
अघिल्लो महीना सार्वजनिक भएको प्रतिवेदनानुसार चितवन निकुञ्जमा पाँच वर्षमा २७ बाघ घटेको पाइएको थियो । “पहिलो चरणमा बाघको अध्ययन थालिएकाले गैँडाको पछि अध्ययन हुने पौडेलको भनाइ छ । यो आर्थिक वर्षमा अध्ययन सक्ने योजना छ ।”
राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किमीमा फैलिएको छ । सन् २०१३ ९विसं २०७०तिर० अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थिए ।
यस पटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२९विसं २०७९तिर० सम्ममा बाघको सङ्ख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ । निकुञ्ज बाघ, गैँंडा, हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो ।
इकोलोजिष्ट पौडेलले बहन गर्न सक्ने क्षमताको अध्ययनपछि संरक्षणका रणनीति बनाएर अघि बढ्न सजिलो हुने उल्लेख गर्नुभयो । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंँडाको सबैभन्दा ठूलो वासस्थान हो । गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई दुई जोडी गैंँडा उपहार दिइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बाघ र गैंँडाको सङ्ख्या बहन गर्न सक्ने क्षमताको अध्ययन विशिष्ट प्रकृतिको अध्ययन भएको बताउनुहुन्छ । अध्ययनका क्रममा बाघ, गैँंडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल अध्ययन गरेपछि वास्तविक अवस्था पत्ता लाग्ने बताउनुपर्छ । उहाँका अनुसार नेपालमै पहिलो अध्ययन भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चितवनका संरक्षणकर्मीले भने वासस्थान नाश हुँदै गएकाले वन्यजन्तु बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको जिकिर गर्दै आएका छन् । बाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जीतु तामाङ मुख्य गरी बासस्थान संरक्षणमा योजना बन्न नसकेको जिकिर गर्नुहुन्छ ।
बाघ परिस्थितिकीय प्रणालीको उच्चस्थानमा रहने जनावर हो । लजालु प्रजातिमा पर्ने बाघ मिश्रित खालको जङ्गलमा बस्छ । चुरे क्षेत्रमा आराम गर्न पुग्छ । आहारा प्रजाति र पानीको स्रोत भएको आसपासमा बढी सक्रिय हुन्छ । बाघ दिउँसो आराम गर्ने र साँझ बिहान सक्रिय हुने जनावर हो । बाघको बासस्थानका लागि चुरे, नदी तटीय क्षेत्र र सालको जङ्गल चाहिन्छ । घाँसे मैदानमा चित्तल, जरायो, बँदेललगायत वन्यजन्तु हुने भएकाले शिकार खेल्न जान्छ ।
––––
माइक्रोबसको ठक्करबाट मृत्यु
राजविराज, पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।
विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको बा ५ ख १४५१ नं को माइक्रोबसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडक किनारमा हिँडिरहेका चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
घटनापछि स्थानीयवासी र पीडितले पूर्वपश्चिमराजमार्गमा केही घण्टा चक्का जाम गरेका थिए । माइक्रोबस र चालकलाई नियन्त्रणमा लिने शर्तमा यातायात पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––
नेपाली काङ्ग्रेसको अहिले पनि बलियो अस्तित्व छ –महामन्त्री डा कोइराला
विराटनगर, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिनुभयो ।उहाँले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गर्नुभयो ।उहाँले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन होस् भन्नुभयो ।नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली काङ्ग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।