अफगानिस्तानमा मतदान केन्द्र नजिकै विस्फोट

  काबुल,  अफगानिस्तानको राजधानी काबुलमा मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताउनुभएको छ । तालिवान आतङ्ककारी समूहले मतदातालाई मतदान बहिष्कार गर्न चेतावनी दिँदै आएका थिए । अफगानिस्तानमा आज बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन शुरु भएको थियो । तालिवान आतङ्ककारी समू्ह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको यस निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए । लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण यस निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । यस निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए । यस निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ । –––

आज बडादशैंको बाह्रौं दिन, आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी

  पोखरा, बडादशैँको आज बाह्रौ दिन तथा दशैंको टीकाको तेस्रो दिन आज आइतबार  पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ । आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। शुक्रबार विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन् । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण पोखरामा गाडीको चहपहल केही बढेको छ ।

बस दुर्घटनामा पाँचको मृत्यु

  कावासोती,  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ । –––

गोली लागेर एकको मृत्यु

गोली लागेर एकको मृत्यु हुम्ला,  बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । महतारालाई उक्त भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । –––