मासु पकाउने क्रममा आगलागी

  रुकुम,  रुकुम पूर्वमा गए राति ११ः३० बजे एक घरमा आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिनुभयो । घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर आगलागी भएको थियो । उहाँका अनुसार ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला बुढाको हात, खुट्टा र ढाडमा आगोले पोलेकाले उपचारका राति नै जनस्वास्थ्य रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पठाइएकामा त्यहाँपनि उपचार असम्भव भएपछि अहिले नेपालगञ्ज लगिएको छ। आगलागीबाट एउटा भँैसी र बाख्रा जलेर घाइते भएका छन् । आगो प्रहरी र स्थानीयवासीले राति २ बजे नियन्त्रणमा लिएका थिए । –––

बालक बेपत्ता

  काभे्रपलाञ्चोक,  पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढङ्गानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताउनुभयो । स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहनुभएका मैनालीले भन्नुभयो, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।” –––

खुकुरी प्रहार गरी युवकको हत्या

  उर्लाबारी,  मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या

0
    कान्दाहार, अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् । त्यस आक्रमणमा परी अरु दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरुको भने परिचय खुलाइएको छैन । बिहीबार बिहानै ठूलो सङ्ख्याका तालिबानहरुले निकै शक्तिशाली हतियार प्रयोग गरेर कान्दाहारको प्रहरी मुख्यालयमै आक्रमण गरेका थिए । उनीहरुले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए । तर अमेरिकी सेनाका अफगान कमाण्डर जनरल स्कट मिलर भने सकुशल रहेका छन् । उनले नै प्रहरी प्रमुख राजिकको हत्या भएको पुष्टि गरेका छन् । उनले भनेका छन्— आज अफगानिस्तानका नागरिकले एकजना सच्चा अफगान नागरिक गुमाएका छन्, हामी पनि सँगै निकै लामो समयदेखि काम ग¥यौँ, जनरल राजिक एक सशक्त प्रहरी कमाण्डर थिए । अफगानिस्तानका तालिबानसँग अमेरिकाले शान्तिवार्ताको प्रसंग चलाएको थियो । तर पनि यो पछिल्लो हत्याको शृंखलाले शान्ति वार्ताको प्रसंगलाई छायाँमा पारिदिने विश्लेषकहरु बताउँछन् । त्यसैगरी अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थामा पनि यो आक्रमणले ठूलो चुनौती थपिएको जानकारी पनि दिइएको छ । कान्दाहारका प्रहरी प्रमुख राजिक तालिबानविरुद्धको कारबाहीका क्रममा एकजना सफल कमाण्डर मानिन्थे । उनको हत्याले कान्दाहारमा सुरक्षाको अवस्था निकै चुनौतीपूर्ण रहेको बताइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार तालिबानको बढी नै प्रभाव रहेको क्षेत्र मानिन्छ । त्यसैले पनि यस क्षेत्रको प्रहरी मुख्यालयमै गरिएको आक्रमणले थप सुरक्षा चुनौती थपेको बताइएको हो । यस हत्याको जिम्मेवारी तालिबान संगठनले लिएको छ । प्रहरी प्रमुख राजिक तालिबानका विरुद्धमा निकै कठोर रहेकोले हत्या गरिएको उनीहरुले बताएका छन् । –––