बस दुर्घटनामा पाँचको मृत्यु
कावासोती, पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो ।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
–––
गोली लागेर एकको मृत्यु
गोली लागेर एकको मृत्यु
हुम्ला, बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । महतारालाई उक्त भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
–––
दुवै आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार
बेत्रावती, नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ ।
प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु दुई हजार रकम आफू जनप्रतिनिधि भएपश्चात्को अवधिको एकमुष्ट रुपमा उपलब्ध गराउनुभयो । उहाँले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महीनाको रु तीस हजार दुवै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराउनुभयो ।
“यो सेवा आफू जनप्रतिनिधि रहुन्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु,” उहाँले भन्नुभयो, “अब निरन्तर मासिक रुपमा रकम उपलब्ध गराउनेछु ।” जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुबा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आउनुभएको छ । “सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो,” नेपालीले भन्नुभयो, “मेयरले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।”
–––
डलरको भाउ घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।
शुक्रबार १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा तोकेको थियो ।
केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ शनिबार ९८ पैसाले घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगीने गर्छ ।