वैदेशिक रोजगारीबाट फर्किएका युवाको दसैं कोसेली–स्मार्ट फोन र टिभी

दसैं नजिकिँदै गर्दाको यो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगियो भने स्वदेश फर्किएका नेपालीहरुको बाक्लो उपस्थिति देख्न सक्छौं। विदेशबाट स्वदेश फर्किंदा अधिकांश नेपालीले आफ्ना परिवार र आफन्तका लागि केही उपहार तथा चिनो ल्याउने चलन नयाँ होइन। यसरी स्वदेश फर्किएकाहरुले बढी मात्रामा टिभी, मोबाइल फोन, ब्ल्यांकेट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायतका सामाग्रीहरु उपहारको रुपमा ल्याउने गरेको पाइन्छ। त्यसमध्ये पनि भन्सार छुटका कारण धेरै कामदारले टिभी र मोबाइल फोन ल्याउने गरेका छन्। टिभी र मोबाइल नै पहिलो रोजाइमा पर्नुमा नयाँ प्रविधि, कम मूल्य तथा भन्सार शूल्क छुट रहेको स्वयम् कामदार बताउँछन्। दक्षिण कोरियाबाट ३ वर्षपछि स्वदेश फर्किंदै गरेका सप्तरीको राजविराजका दिनेश गौतम मंगलबार त्रिभुवन विमानस्थलमा ‘एलइडी’ टिभीका साथमा भेटिए। ‘घरमा आवश्यक पर्ने भएकोले एउटा ३२ इन्चको टिभी र २ वटा मोबाइल लिएर आएको छु।’, गौतमले भने, ‘नेपाल आएपछि पनि किन्न परिहाल्छ। त्यसमाथि उता नयाँ प्रविधि तथा सस्तोमा पाइने भएकोले पनि ल्याएको हुँ।’ भन्सारका कारण पनि यस्ता सामान नेपालसम्म आइपुग्दा क्रय मूल्य उच्च हुन्छ। ‘नेपालमा किन्दा एउटै मोडल भएपनि बढी मूल्य पर्छ। सरकारले विदेशबाट फर्किंदा सीमित संख्यामा यस्ता समान ल्याउन दिने भएकोले पनि हामीलाई धेरै सस्तो पर्न जान्छ।’, गौतमले थपे। उनले परिवारका सदस्यले मोबाइल आवश्यक रहेको बताउनुभयो पछि टिभीसँगै मोबाइल पनि लिएर आएको स्पष्ट पारे। नेपालमा भन्दा विदेशमा कम मूल्यमा ‘स्मार्टफोन’ किन्न पाइन्छ। कतिपय अवस्थामा त ‘स्मार्ट फोन’ खरिद गर्दा विशेष छुटको पनि व्यवस्था गरिएको हुन्छ। विशेष छुटकै कारण सस्तो मूल्यमा फोन पाइने भएपछि धेरैले मोबाइल लिएर आउने गरेको संयुक्त अरब इमिरेट्स ९युएई०बाट नेपाल फर्किएका काभ्रेका जीवन केसीले बताउनुभयो ।। ‘नेपालको भन्दा धेरै कम मूल्यमा मोबाइल किन्न पाइन्छ। त्यसमाथि नेपालमा नपाइने र नयाँ मोडेलसमेत बिक्रीका लागि राखिएपछि त्यतापट्टि धेरैको आकर्षण हुन्छ’, केसीले बताउनुभयो । यस्तै, मलेसियाबाट दसैं मनाउन घर फर्किएका धरानका सुबोध लिम्बु पनि मलेसियामा नेपालीलाई लक्षित गरेर टिभी र मोबाइलमा छुट दिएकाले आफूले पनि एउटा टिभी र ३ वटा मोबाइल बोकेर आएको बताउनुभयो । लिम्बु, केसी र गौतम घर फर्किंदै गर्दा विमानस्थलमा भेटिएका हुन्। यसरी घर फर्किने धेरै नेपालीले ३२ इन्चसम्मको टिभी लिएर आउने गरेका छन्। ३२ इन्चसम्मको टिभी ल्याउँदा सरकारले भन्सार शुल्कमा छुट दिएको छ। यसका कारण प्रायजसोले यो सुविधाको उपभोग गरेको पाइन्छ। विदेशमा नेपालमा भन्दा झन्डै आधा मूल्यमा टिभी र अन्य मोबाइल फोन किन्न पाइन्छ। अर्थ मन्त्रालयको निजी, गुन्टा, झिटीसम्बन्धी प्रावधानअनुसार विदेशबाट आउनेले प्रयोग गरिरहेको फोनबाहेक २ वटासम्म मोबाइल फोन ल्याउन पाइन्छ। तर, विदेशबाट घर फर्किनेहरुले भन्सार नियमभन्दा बढी फोन लिएर आउने गरेका छन्। यसरी आउँदा पनि विमानस्थलमा भने खासै कडाइ गरिएको पाइँदैन। ३ वटा मोबाइल ल्याएर आएको भएपनि विमानस्थलमा रहेको भन्सार फाँटमा कुनै पनि जाँचबुझ नगरिएको लिम्बुले बताउनुभयो । कतिपयका हकमा भने विदेशबाट फर्किंदा कुन सामान, कति परिमाणमा ल्याउन पाइन्छ भन्ने जानकारी नहुँदा धेरैले विमानस्थलमा सास्ती व्योहोर्ने गरेका छन्। चाडपर्व नजिकिँदै गर्दा औसतमा नेपालीहरुको स्वदेश फर्किने संख्या विदेशिनेको भन्दा ३ गुणा बढी हुन्छ। विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार यसबीचमा झन्डै २ हजार ५ सय नेपाली औसतमा नेपाल फर्किएका छन्। भने विदेशिनेको संख्या करिब ७ सय रहेको छ।

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

0

महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ । जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिनुभएको हो । महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएका १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गर्नुभएको थियो । उहाँले भेटका क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारवाही हुने बताउनुभयो । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको छ । पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन् ।

नयाँ पदमार्ग खोज्दै सरकार

पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर मनोरम दृश्यमा आफूहरुको मन बहलाउनुभयो । विश्वकै उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण पदमार्गअन्तर्गत नयाँ पर्ने वीरेठाँटी–घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुलदेखि देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदयात्रा मार्गको प्रचार गर्न विशिष्ठ पाहुना रातभर चिसोमा बसेर बिहान मनोरम दृश्यावलोकन गर्नुभयो । देउपुरका अगुवा एवं इञ्जिनीयर मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन गर्दैै अध्यक्ष तिमिल्सिनाले भन्नुभयोे, “भमरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटकसँग जोड्न सकेमा यसलाई वैकल्पिक पदमार्गका रुपमा विकास गर्न सकिन्छ ।” भमरकोटसँंगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँ भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, पूर्णगाउँ, लेस्पार, घुरुङ्गालगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन उहाँले सुझाव दिनुभयो । घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमालसहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ । “भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सकिने देखियो” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भन्नुभयो, “यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ” पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भंवरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै हो । चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्ने अवस्था रहेको छ । त्यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तव्य हुनसक्ने पर्वत– भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका सचिव राजेन्द्र खड्काले बताउनुभयो । “पोखराबाट एक घण्टा दूरी लामो पनि होइन”, उहाँले भन्नुभयो, “पोखरा नजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ ।” देउपुरमै जन्मिएर अफ्रिकी मुलुकमा लामो समय दूरसञ्चार इञ्जिनीयरको काम गर्नुभएका स्थानीय मनबहादुर खड्काको अगुवाइमा देउपुर–भमरकोट–घोडेपानी पदमार्ग निर्माण गर्न लागिएको हो । तीन वर्षअघि गठित पर्वत भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले विदेशीलाई पदमार्गको अवधारणा अघि सारेको हो । मोदीको तिलाहारबाट शुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर भएको खड्काले बताउनुभयो । “तीन किलोमिटर अघिल्लो वर्ष निर्माण भइसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी आगामी वर्ष पूरा गर्ने लक्ष्य हो । बजेट भए कठिन छैन ।” अघिल्लो वर्ष पर्यटन बोर्डबाट रु २० लाख विनियोजन भएकोमा चालू वर्ष प्रदेश पर्यटन मन्त्रालयबाट रु ३५ लाख बजेट आएको उहाँले बताउनुभयो । अमेरिकामा मासिक रु १० लाखको नोकरी छोडेर गाउँमै फर्किनुभएका खड्काले यो रुटमा व्यवस्थित रिसोर्ट, लज, लेकाली खर्कमा भैँसीपालनलगायतको योजना बनाएको सुनाउनुभयो ।

पाराग्लाइडिङ विश्वकप हुने

नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलो पटक नेपालमा नै पाराग्लाईडिङ्ग विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताउनुभयो । स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने उक्त प्रतियोगिता कार्तिक १५ देखि १९ गतेसम्म हुनेछ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णपदकका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, भारत, पाकिस्तान र इरानको सहभागिता रहने महासचिव राउतले जानकारी दिनुभयो । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ । छ चरणको अङ्कलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिनेछ । प्रतियोगिताका विजयी टोलीले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५००, १ हजार २०० र ७०० युरो प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः एक हजार, ७५० र ५०० युरो प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताको लागि रु एक करोड ६० लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।