–कुमार चौलागाई
ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक रु तीन लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक रु दुई लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उहाँले जानकारी दिनुभयो । नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो । त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधिपिच्छे थप रु चार लाख महानगरले उपलब्ध गराउनेछ । बोर्ड बैठकले थ्रीस्टार क्लबलाई रु २८ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेको छ । गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको रु चार लाखका दरले रु २८ लाख क्लबलाई दिने निर्णय गरेको हो । यसअघि काठमाडौँ महानगरले जिल्लाका छ वटा ए डिभिजन क्लबलाई वार्षिक रु १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ । फुटबलको विकासका लागि स्थानीय तहहरुले अग्रसता देखाउनु सकारात्मक भएको बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले भन्नुभयो, “खेलकूदको विकासका लागि राजनीतिक अग्रसरता हुनु सरहानीय छ ।” सहयोग बढाउँदै लैजान्छौँ– महानगर प्रमुख महर्जन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताउनुभयो । रासससँग कुरा गर्दै महर्जनले भन्नुभयो, “खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्सहानका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौँ, सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ।” अहिले ए डिभिजन लिगसमेत शुरु भएको बताउँदै उहाँले महानगरको सहयोगले ती क्लबलाई लिगमा सहभागिता जनाउन थप सहज भएको प्रतिक्रिया दिनुभयो । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा राजनीति र खेल क्षेत्र टाढा भएको बताउँदै अबका दिनमा सहयोग निरन्तर जारी रहने महानगर प्रमुख महर्जनले बताउनुभयो ।सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन
पोखरा ,सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो ।
बडादशैंको टिकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको व्यानर सहितको २ वटा बसले निशुल्क पोखराका बिभिन्न क्षेत्रलाई रुट बनाएको छ । लामापाटनबाट बिहान १० बजे सर्वसाधारणको सेवाका लागि छुट्ने बस अमरसिंह, मुस्ताङ्गचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदिपुर, बगर, रानीपौवाको रुटमा दिउसो ४ बजे सम्म चल्ने छ । ‘हामी पब्लिककै लागि हौं, दशैं तिहारमा पब्लिकलाई सेवा तथा सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो’ सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बस्नेतले भने ‘दशैं हामी पनि मान्छौं तर जनता हाम्रो पहिलो प्राथमिकता हो ।’
दशैंको अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्स को निशुल्क सेवा समेत प्रदान गर्ने भएको छ । एम्बुलेन्स आवश्यकताका जुनसुकै बेला तालिम शिक्षालयको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सकिने बस्नेत ले बताए । एम्बुलेन्सका लागि हटलाइन नम्बर ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने छ ।
लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटी को शुभकामना आदान प्रदान कार्यक्रम
पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीले नेपालीहरुको महान पर्ब बिजया दशमी,शुभ दिपावली,नेपाल सम्बत् एबं छठको को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका संस्थापक अध्यक्ष,पदाधिकारी र सदस्यहरुबिच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष लायन निर्मला आचार्य ले हामी सेवा गछौ भन्ने मुल मन्त्रलाइ आत्मसाथ गर्दे काम गर्न क्लबमा आबद्ध लायन सदस्यहरुलाइ आग्रह गर्नभयो ।उहाँले क्लबले सम्पन्न गरेका कार्यक्रमहरुको बिषयमा समेत जानकारी गराउनु भएको थियो । क्लबका संस्थापक अध्यक्ष लायन सीता देबी बरालले यस बर्ष क्लबले लिएको , दिएर बाँचौ नारालाइ सार्थक तुल्याउन बिभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको बताउनुभयो ।यस अघि क्लबले दुर्गम गाँउमा बृहत स्वास्थ्य शिबिर, अपाङ्गता भएका ब्यक्तिहरुका लागि सेतो छडी ,हिव्लचियर, बैशाखी लगाएतका सामाग्रीहरु बितरण गरिनुका साथै ,बृद्धआश्रममा सहयोग,बिद्यालय सहायता कार्यक्रम पनि संचालन गरिएको जनाकारी दिनुभयो ।
सन २०१५ मा स्थापना भएको क्लबले आफ्ना सेवामुलक कार्यक्रम मार्फत स्थापनाको छोटो अबधिमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबमा हाल ३४ जना सदस्य आबद्ध रहेका छन ।
बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग
धनुषा, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ ।
जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिनुभएको हो ।
महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएका १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गर्नुभएको थियो ।
उहाँले भेटका क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारवाही हुने बताउनुभयो । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन् ।