नयाँ पदमार्ग खोज्दै सरकार
पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो ।
भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर मनोरम दृश्यमा आफूहरुको मन बहलाउनुभयो ।
विश्वकै उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण पदमार्गअन्तर्गत नयाँ पर्ने वीरेठाँटी–घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुलदेखि देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदयात्रा मार्गको प्रचार गर्न विशिष्ठ पाहुना रातभर चिसोमा बसेर बिहान मनोरम दृश्यावलोकन गर्नुभयो । देउपुरका अगुवा एवं इञ्जिनीयर मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन गर्दैै अध्यक्ष तिमिल्सिनाले भन्नुभयोे, “भमरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटकसँग जोड्न सकेमा यसलाई वैकल्पिक पदमार्गका रुपमा विकास गर्न सकिन्छ ।” भमरकोटसँंगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँ भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, पूर्णगाउँ, लेस्पार, घुरुङ्गालगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन उहाँले सुझाव दिनुभयो ।
घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमालसहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ । “भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सकिने देखियो” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भन्नुभयो, “यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ” पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भंवरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै हो । चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्ने अवस्था रहेको छ ।
त्यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तव्य हुनसक्ने पर्वत– भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका सचिव राजेन्द्र खड्काले बताउनुभयो । “पोखराबाट एक घण्टा दूरी लामो पनि होइन”, उहाँले भन्नुभयो, “पोखरा नजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ ।”
देउपुरमै जन्मिएर अफ्रिकी मुलुकमा लामो समय दूरसञ्चार इञ्जिनीयरको काम गर्नुभएका स्थानीय मनबहादुर खड्काको अगुवाइमा देउपुर–भमरकोट–घोडेपानी पदमार्ग निर्माण गर्न लागिएको हो । तीन वर्षअघि गठित पर्वत भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले विदेशीलाई पदमार्गको अवधारणा अघि सारेको हो । मोदीको तिलाहारबाट शुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर भएको खड्काले बताउनुभयो । “तीन किलोमिटर अघिल्लो वर्ष निर्माण भइसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी आगामी वर्ष पूरा गर्ने लक्ष्य हो । बजेट भए कठिन छैन ।” अघिल्लो वर्ष पर्यटन बोर्डबाट रु २० लाख विनियोजन भएकोमा चालू वर्ष प्रदेश पर्यटन मन्त्रालयबाट रु ३५ लाख बजेट आएको उहाँले बताउनुभयो ।
अमेरिकामा मासिक रु १० लाखको नोकरी छोडेर गाउँमै फर्किनुभएका खड्काले यो रुटमा व्यवस्थित रिसोर्ट, लज, लेकाली खर्कमा भैँसीपालनलगायतको योजना बनाएको सुनाउनुभयो ।
पाराग्लाइडिङ विश्वकप हुने
नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ ।
हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलो पटक नेपालमा नै पाराग्लाईडिङ्ग विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताउनुभयो ।
स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने उक्त प्रतियोगिता कार्तिक १५ देखि १९ गतेसम्म हुनेछ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णपदकका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, भारत, पाकिस्तान र इरानको सहभागिता रहने महासचिव राउतले जानकारी दिनुभयो ।
टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ । छ चरणको अङ्कलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिनेछ ।
प्रतियोगिताका विजयी टोलीले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५००, १ हजार २०० र ७०० युरो प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः एक हजार, ७५० र ५०० युरो प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताको लागि रु एक करोड ६० लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।
१७ हजार भँेडाच्याङ्ग्रा निकासी
दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो ।
दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेँडा दुई हजार ७१५ वटा निकासी भएका हुन् ।
म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेँडाच्याङ्ग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेँडाच्याङ्ग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताउनुभयो ।
उहाँका अनुसार, सबै भेँडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भँेडाच्याङ्ग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेँडाच्याङ्ग्रा निकासीबाट करिब रु ३५ करोड भित्रिएको छ ।
जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेँडाच्याङ्ग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेँडाच्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताउनुभयो ।
हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेँडाच्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ ।
उपचार नगर्ने डाक्टर पंडितको बर्खास्तीको माग राख्दै तालाबन्दी
दीपेन्द्र बस्नेत ,बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरले बिरामीको उपचारमा देखाएको हेलचक्र्याईमा असन्तुष्टि जनाउँदै डाक्टरको कार्यकक्षमा काँग्रेसद्वारा गरिएको तालाबन्दीसंगै पूर्व सांसद दिवानसिह बिष्टबिरुद्ध जारी गरिएको विज्ञप्तिको निन्दा गर्दै नेपाली काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेको छ ।
शुक्रबार हृदयघातको समस्याका कारण उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी बेलौरी नगरपालिका ६ कि चन्द्रा थापाको उपचारमा कनिष्ठ स्वास्थ्यकर्मीलाई खटाउँदै डाक्टर अमित पंडित निजी मेडिकलतर्फ लागेपछि विवाद देखिएको थियो ।
दक्षिणी क्षेत्रका जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्दै आएको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचारमा लापरबाही गरेको सम्बन्धमा बादबिवाद भएपछि स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन ढकालले विज्ञप्ति निकाल्दै पुर्व सांसद बिष्टलाई बदनाम गराउन दुष्प्रचार गरिएको भन्दै नेपाली काँग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिद्वारा प्रकाशित विज्ञप्तिको आलोचना गरेको छ ।
पीडाका कारण शैयामा छट्पटाई रहेका बिरामीको उपचारमा लाग्न आग्रह गर्दा समेत डाक्टरले बेवास्ता गरेपछि भएको वादबिवादलाई अतिरंजित गर्दै पूर्व सांसद बिष्टलाई बदनाम गराउन गरिएको षड्यन्त्रको कञ्चनपुर क्षेत्रनम्बर १ का काँग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र सचिव विश्राम रानाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत आपत्ति जनाइएको छ ।
स्वास्थ्य केन्द्रमा निःशुल्क बितरण गरिने औषधिसमेत बाहिरबाट किन्न लाउने, स्वास्थ्य केन्द्रमा उपलब्ध प्याथोलोजी सेवासमेत निजी प्रयोगशालाबाट गराउने, सर्पदंशको उपचार नगर्ने लगायतका डाक्टर पंडितले गर्दै आएको नेपाली काँग्रेसको कञ्चनपुर क्षेत्र नम्बर १ ले विज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ ।
बिरामीको उपचारमा चरम लापरबाही गर्ने डाक्टर अमित पंडितको बर्खास्तीको माग राख्दै स्वास्थ्य केन्द्रको प्रशासन कक्षमा शुक्रबारनै काँग्रेसले तालाबन्दी गरेको छ ।
स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिले स्वास्थ्य संस्थाबाट हुँदै आएका कमजोरी सच्याउन डाक्टर पन्डितको बर्खास्ती र कपोकल्पित भ्रामक प्रचार गर्ने अध्यक्षलाई कार्वाही तथा रीत नपुगाई स्वास्थ्य संस्थामा भर्ना गरिएका कर्मचारी खारेजी नगरे कडा आन्दोलन गरिने नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।