राउटे बस्तीमा दशैँको चटारो

0
  – प्रकाश अधिकारी  ,सुर्खेत,  यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ । हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् । यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको राउटेको भनाइ छ । महामुखिया महिनाबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको बताउनुभयो । “दशैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ” स्थानीय गङ्गटे बजारमा भेटिनुभएका उहाँले भन्नुभयो, “चिसो बढ्यो, दशैँ पनि आयो, दशैँ मनाएर अन्तै सर्नुपर्ला ।” ज्यामिरे जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाई नहुने उहाँको भनाइ छ । फिरन्ते जीवन बिताउने यो समुदायका ४२ घरधुरीमा गरी १४८ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले आज बस्तीमै पुगेर राउटे समुदायलाई असोज महीनाको भत्ता वितरण ग¥यो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक रु दुई हजार प्रदान गर्दै आएको छ । राउटेले उक्त रकम दशैँका लागि खर्च गर्ने प्रतिक्रिया दिए । “भत्ताको पर्खाइमा थियौँ, सरकारले समयमै दियो” भत्ता बुझेपछि प्रफुल्लित देखिएका एक युवाले भन्नुभयो । दशैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय गङ्गटे बजार, वीरेन्द्रनगरसम्म पुग्ने उनीहरुको योजना छ । समुदायका चार युवा भने दशैँ खर्च जुटाउन काठमाडौँ पुगेका छन् । उनीहरु अझै बस्ती फर्केका छैनन् । राउटे घटस्थापनाका दिन बस्ती सर्नुपरेकाले जमरा राख्न पाएनन् । राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसी, बोका जम्मा गरी राख्छन् । यदि खसी नपाए बूढो बाख्री नै भए पनि खोजेर ल्याउँछन् । दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुषले मात्र नाच्छन् । महिलाहरु कहिल्यै नाच्दैनन् । देवीदेवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि, उनीहरुको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्यष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् । मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै श्रृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताउनुभयो । “शिकार परेन भने देउता रिसाएको बुझ्छौँ, उहाँले भन्नुभयो, “त्यही भएर शिकारका देवता भुयाँ र दारेमष्टोको पूजा गर्छौं ।”

मानवअधिकार आयोगले अभियान चलाउने

काठमाडौँ, २६  राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रतिवेदन तयार गरेर कार्ययोजनासमेत तयार गरेको आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो । सम्मेलन तयारीको क्रममा आयोगले सरोकारवालासँग राय ,सुझाव लिने उद्देश्यले छलफल गरेको छ । छलफलमा सहभागीबाट दलित समुदायका मानवअधिकारका विभिन्न विषयमा सम्मेलन केन्द्रित हुनुपर्ने तथा कानून कार्यान्वयन गर्ने निकायलाई सम्मेलनमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी, दलित र गैरदलित सबैको सहभागिता हुनुपर्ने, सम्मेलनबाट आएका विषयको सम्बन्धमा सरकारलाई सिफारिश गरी सकेपछि आयोगले स्थायी संयन्त्र निर्माण गरी कार्यान्वयनको लागि निरन्तर पहल गर्नुपर्नेलगायत सुझाव दिएका थिए । राष्ट्रिय दलित आयोग र दलित गैरसरकारी संस्था महासङ्घ समेतसँग आयोगले यसअघि नै परामर्श गरिसकेको छ । –––

बस दुर्घटनामा तीनको मृत्यु

0
  बेत्रावती, २६  नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस शुक्रबार बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुंवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कडेलको उपचारको क्रममा काठमाडाँ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । उक्त बा १ ख ६३५६ नं को बस दुर्घटनामा दुर्घटनामा ५५ यात्रु घाइते भएका छन् । घाइते मध्ये ३३ जनाको उपचार काठमाडाँै र २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरमार्फत र बाँकीलाई एम्बुलेन्समार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना हुदाँ सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

द कोरियन सप’मा शिलबन्दी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिनुभयो । खरीद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उहाँले बताउनुभयो । अधिकृत पोखरेलले भन्नुभयो, “कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।” उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारवाही हुने उहाँले जानकारी दिनुभयो । कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । विभागले बजार अनुगमनलाई तीव्रता दिएको उहाँको भनाइ थियो ।