नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

  इनरुवा,  सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए । समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । रियाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको नहरमा खोल्ने क्रममा उनीहरु खसेको हुन सक्ने प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिनुभयो ।  

घोषणापत्रअनुसार काम गर्न सरकार प्रतिबद्ध छ नेता श्रेष्ठ

  गोरखा  ,नेपाल कम्युनष्टि पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनका बेला जनतासँग गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार लागिपरेको भन्दै अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताउनुभयो । “सरकारसँग अहिले नै निरास हुनुपर्ने कुनै कारण छैन, हामीले गरेका सवै प्रतिबद्धता पुरा गर्छौ”, उहाँले भन्नुभयो, “हाम्रो पार्टीले घोषणपत्रमा वृद्धाभत्ता पाँच हजार बनाउने भनेकै हो, त्यो कुनैपनि हालतमा पाँच वर्षभित्रमा रु पाँच हजार बनाएरै छाड्छौ ।” राजनीतिक परिवर्तनलाई संस्थागत गर्न वर्तमान सरकारले अहिले समाजिक न्यायसहितको समृद्धि मुलुक बनाउने कार्यभारलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउँदै नेता श्रेष्ठ अब विकास र समृद्धि कम्युननिष्ट पार्टीकोे मात्र नभई सवै पार्टीका साझा एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टी, काँग्रेस वा अरु जुनसुकै पार्टी होस्, सबै पार्टीले सबैको निम्ति विकास हो भनेर सहकार्य गरेर अघि बढ्नुपर्छ ।” रेल, सिँचाइ आयोजना, सडक, पर्यटनको विकास र उद्योगको विकास गरेर नेपाललाई नमुना र विकसित मुलुकको रुपमा परिणत गर्ने दिशातिर सरकारले गुणात्मक ढङ्गले काम गरिरहेको उहाँले बताउनुभयो । –––

कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थाले

’ दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गर्नुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नं १० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।” नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । –––

‘७० प्रतिशत हिंसाको कारक मदिरा’ नियन्त्रणमा जुट्नु जरुरी

  काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन्। गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए।“सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुनसक्दैन”,उनले भने। गृहमन्त्री थापाले विकास समृद्धि, सुशासन र शान्तिको उच्चतम अवस्था समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताए। “मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन्, त्यसतर्फ हामी सजग हुनुपर्छ”, गृहमन्त्री थापाले भने। उनले ७० प्रतिशत हिंसाको कारक मदिरा नियन्त्रणमा जुट्नु जरुरी रहेको उल्लेख गरे। हिंसा रोक्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो। गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सञ्चालन गर्ने र कुनकुन समय बिक्रीवितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्छ भने। गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामका बारेमा जानकारी दिएका थिए। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरी सँगसँगै हुनुपर्ने बताए। “हिंसा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ”,उनले भने। उनले महानगरपालिका काठमाडौँ क्षेत्रमा भएको जथाभावी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा मदिरा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरिरहेको काम र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी दिएका थिए। सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले महिला तथा बालबालिका हिंसा, लागुऔषध र मदिरा नियन्त्रणका लागि आआफ्नो रायसुझाव दिएका थिए। रासस