बस दुर्घटनामा तीनको मृत्यु

0
  बेत्रावती, २६  नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस शुक्रबार बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुंवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कडेलको उपचारको क्रममा काठमाडाँ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । उक्त बा १ ख ६३५६ नं को बस दुर्घटनामा दुर्घटनामा ५५ यात्रु घाइते भएका छन् । घाइते मध्ये ३३ जनाको उपचार काठमाडाँै र २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरमार्फत र बाँकीलाई एम्बुलेन्समार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना हुदाँ सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

द कोरियन सप’मा शिलबन्दी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिनुभयो । खरीद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उहाँले बताउनुभयो । अधिकृत पोखरेलले भन्नुभयो, “कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।” उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारवाही हुने उहाँले जानकारी दिनुभयो । कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । विभागले बजार अनुगमनलाई तीव्रता दिएको उहाँको भनाइ थियो ।

संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेन ः देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौंँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिनुभयो । काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो,“प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन ।” उहाँले कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस युनियन स्वतन्त्र निकाय हो । तपाईँहरुलाई पार्टीबाट अङ्कुश लगाउने काम हुँदैन ।” सभापति देउवाले रु ५५ लाखको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवनको पनि उद्घाटन गर्नुभयो । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभयो । सो अवसरमा रु ५१ हजार १५१ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी रु ११ हजार १११ को क्रियाशील पत्रकारिता पुरस्कार ‘नारायणी अनलाइन’का राजु चौधरीलाई प्रदान गरियो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पुरस्कारदाता प्रमोदकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल ट्रेड युनियन काङ्ग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । युनियनको आठाँैं जिल्ला अधिवेशन आजदखि शुरु भएको छ । शनिबार नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने छ ।

सरकारले छ महीनामा रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार गरेको छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको छ ।” कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारको आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति उचित नभएको बताउनुभयो । काठमाडौँलाई केन्द्रमा राखेर चीन र भारतबाट रेल सञ्जालको विस्तार गर्ने विषयमा महत्वपूर्ण सम्झौता भएको र कार्यान्वयनको प्रक्रियामा समेत गएको भन्दै उहाँले आगामी केही वर्षमा त्यसको वास्तविक प्रगति देखिने उल्लेख गर्नुभयो । सरकार गठन भएपछि विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटेको, डुबान समस्या समाधानका लागि पहल भएको, करीब आधा दर्जन स्थानबाट हवाईजहाज प्रवेश गर्न पाउनेजस्ता सहमति भएको भन्दै उहाँले केही पनि भएन भनेर गलत प्रचार गर्नुको कुनै अर्थ नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै ११ वर्षदेखि विराटनगरमा बस्दै आएको दूतावासको सम्पर्क कार्यालय हटेको छ । सिमराको आकाशबाट मात्रै नेपाल जहाज प्रवेश गर्न पाउने अवस्था थियो, त्यसको समेत सुधार भएर आधा दर्जन स्थानबाट प्रवेश गर्न पाउने व्यवस्था भएको छ । डुबानको समस्या समाधान हुने क्रममा छ । यी सरकारका महत्वपूर्ण उपलब्धि हुन् ।” यस्तै चीनसँग व्यापार तथा पारबहन सम्झौता भई नेपालले विभिन्न सात वटा बन्दरगाहसमेत प्रयोग गर्न पाउने सहमति हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो । सरकारले क्रमशः विकास, निर्माण, आर्थिक समृद्धि र सम्पर्क सञ्जालको विस्तारलाई विशेष प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले सरकारको सकारात्मक काम कारवाहीलाई जनतासमक्ष पु¥याउन र जनतमतलाई थप बलियो बनाउनसमेत नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत, चीनजस्ता छिमेकी देशको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताले जनतामा समेत नयाँ खालको उत्साह पैदा भएको र कम्युनिस्ट पार्टीको सरकार जनताको सुख दुःखमा साथ दिन्छ भन्ने तथ्यसमेत स्थापित भएको बताउनुभयो । उहाँले वामपन्थीको सरकारले केही गरेन भनेर प्रचार गर्नेलाई ठन्डा दिमागले सोच्न र सकारात्मक कामलाई सकारात्मकरुपमा नै लिनसमेत आग्रह गर्नुभयो । सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पार्दै उहाँले त्यसको परिणाम भने आगामी दिनमा नै देखिँदै जाने र आर्थिक विकासमा गुणात्मक परिवर्तन हुने स्पष्ट पार्नुभयो । केही समयभित्रै राजधानी काठमाडौँको सबै सडकको मर्मत सम्भार गर्ने विषयमा प्रधानमन्त्री ओली र आफूले दृढ सङ्कल्प गरेको भन्दै विकास निर्माणका काममा भइरहेको ढिलाइ क्षम्य नहुने बताउनुभयो । “केही समयभित्रै राजधानीका सबै सडक कालोपत्रे हुने र धुलो तथा धुवाँरहित बनाउन हामी प्रयासरत छौँ, त्यसलाई समाधान गर्छौं’ अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा वर्षाका कारण काम गर्न नसकिएको स्थानमा समेत अब छिट्टै मर्मत सम्भारको काम अगाडि बढ्छ ।” विगतमा कुनै पनि सरकार स्थिर हुन नसक्दा जनताले दुःख पाएको र राष्ट्रसमेत समस्यामा परेको भन्दै उहाँले नेपाली जनताले कम्युनिस्ट पार्टीप्रति गरेको विश्वासलाई अक्षरशः कार्यान्वयन गरेर देखाइने दृढता व्यक्त गर्नुभयो । “जनताले हामीलाई ऐतिहासिक अवसर प्रदान गरेका छन्, यो अवसरलाई हामी पूर्णरुपमा सदुपयोग गर्छौं र देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्छौं” अध्यक्ष दाहालले भन्नुभयो । नेकपालाई ऐतिहासिक अवसर र चुनौती दुवै रहेको दोहो¥याउँदै उहाँले नेपाली जनतालाई सुशासन, विकास र समृद्धि दिनुपर्ने र सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गरेर छाडिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । वृद्धवृद्धाको भत्ता वृद्धि गर्ने, विकासका कामलाई गति दिएर अगाडि जाने सडकका खाल्डाखुल्डी पुर्ने धुलो रोक्ने काममा सरकार प्रतिबद्ध भएर लाग्ने उहाँको भनाइ थियो । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाका नेता वामदेव गौतमले नै उपनिर्वाचन नलड्ने भनेर नै स्पष्ट पारिसक्नु भएकाले त्यसमा थप टिप्पणी जरुरी नरहेको बताउनुभयो । कार्यक्रममा नेकपाका नेता नारायण दाहाल, कृष्ण राईलगायतको उपस्थिति थियो ।