प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने– मुख्यमन्त्री
विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ ।
प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिँदै फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिनुभयो ।
मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने जानकारी दिनुभयो ।
निर्देशनालय उद्घाटनका अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलो सेवाप्राप्त गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त नहुने बताउनुभयो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशको २५० र सङ्घीय एक हजार योजनामा तयार भई प्रदेशभित्र निर्माण कार्य शुरु हुने जानकारी दिनुभयो ।
नव स्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक, मोटर सञ्चालन हुने पक्की पुल र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृत, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ ।
–––
ए डिभिजन लिगका आज दुई खेल , शनिबारदेखि स्थगित
काठमाडौँ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल बुधबारदेखि पुनः शुरु भएको थियो ।
लिग फुटबलअन्तर्ग आज पहिलो चरणका खेल सकिँदैछ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महिनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । दोस्रो चरणका खेलहरु अब छठपछि सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ । “पहिलो चरणका खेलहरु आज सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैं, तिहार, छठ लगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ ।”– लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो ।
लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।
लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिनुभयो ।
‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।
–––
हुम्लामा राष्ट्र बैंकले पैसा नपठाउँदा नयाँ नोटको अभाव
हुम्ला, नेपालीको ठूलो चाड दशैँ लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो ।
दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताउनुभयो । नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ ।
बैंकको सिमकोट शाखासँग रु २० का नोट केही मात्रामा भएको र नयाँ पैसा साट्न आउने ग्राहकलाई एकदेखि दुई हजार मात्र दिने गरेको बोहराले बताउनुभयो । रु ५, १०, ५० र १०० का नयाँ नोट नभएर ग्राहकलाई दिन नसकिएको उहाँले बताउनुभयो । अहिले बैंकसँग भएका पैसा गत वर्षकै भएको र त्यो पैसा पनि सकिन लागेकाले अबको दिनमा नयाँ नोट साट्न आउने ग्राहकलाई दिन नसकिने बोहराले बताउनुभयो ।
उपत्यकाबाट दैनिक एकलाख भन्दा बढी यात्रु बाहिरिने
काठमाडौँ, दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् ।
उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् । “दशैँ लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्”, उहाँले भन्नुभयो ।
असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन् । महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
–––