हुम्लामा राष्ट्र बैंकले पैसा नपठाउँदा नयाँ नोटको अभाव
हुम्ला, नेपालीको ठूलो चाड दशैँ लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो ।
दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताउनुभयो । नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ ।
बैंकको सिमकोट शाखासँग रु २० का नोट केही मात्रामा भएको र नयाँ पैसा साट्न आउने ग्राहकलाई एकदेखि दुई हजार मात्र दिने गरेको बोहराले बताउनुभयो । रु ५, १०, ५० र १०० का नयाँ नोट नभएर ग्राहकलाई दिन नसकिएको उहाँले बताउनुभयो । अहिले बैंकसँग भएका पैसा गत वर्षकै भएको र त्यो पैसा पनि सकिन लागेकाले अबको दिनमा नयाँ नोट साट्न आउने ग्राहकलाई दिन नसकिने बोहराले बताउनुभयो ।
उपत्यकाबाट दैनिक एकलाख भन्दा बढी यात्रु बाहिरिने
काठमाडौँ, दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् ।
उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् । “दशैँ लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्”, उहाँले भन्नुभयो ।
असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन् । महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
–––
गाँजाको धुलो र चरेससहित दुई जना पक्राउ
पर्सा, पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । मोक्तान र स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ
पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी
पोखरा, पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर हटेको छ ।। विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो ।यस अघि करको बिषयलाइ लिएर चौतर्फी विरोध गरिएको थियो । नागरिकको ढाँड सेक्ने गरि महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा समेत परेको थियो । मुद्धाको सुनुवाई गर्दै उच्च अदालत पोखराले ले एकीकृत सम्पत्ति कर नलिन आदेश जारी गरेपछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । अवदेखि महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ ।
‘मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेलले बताए । असोज १७ गते देखि महानगरमा एकीकृत सम्पत्ति कर खारेजीमा परेको हो । यसअघि कर तिरिसकेका करदाताको चाहीँ आगामी बर्ष समायोजन गर्ने महानगरले जनाएको छ ।