ए डिभिजन लिग ः मनाङ्को विजयी शुरुवात

मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात गरेको हो । मनाङको जितमा अफिज ओलावलेले दुई तथा हेमन गुरुङले एक गोल गरे । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए । खेलमा शुरुवाती अग्रता भने ब्रिगेडले लिएको थियो । पहिलो हाफको २८ औँ मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले लिएको थियो तर, ४७ औँ मिनेटमा हेमनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ५७ औँ मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ओलावलेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । जितसँगै मनाङले लिगको पहिलो खेलमा महत्वपूर्ण तीन अङ्क जोडेको छ । ब्रिगेडले भने अग्रता जोगाउन नसक्दा हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । आजको खेलसँगै लिगका पहिलो चरणका खेल सकिएको छ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महीनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेल अब छठपछि सञ्चालन गर्ने एन्फाले जनाएको छ ।

सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

–कुमार चौलागाई आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खेल रद्द भएपछि नेपाललाई विजेता घोषणा गरिएको थियो । सिङ्गापुर र नेपालको समान छ खेलबाट समान ११÷११ अङ्क भए पनि नेपाल रन रेटका आधारमा अघि भएपछि उपाधि जितेको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । ३२ बल खेल्दै उनले ३ चौका प्रहार गरे । त्यसैगरी मनप्रीत सिङ र सिद्वान्तले समान १०÷१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यस्तै सोमपाल कामी र करत्रण केसीले दुई÷दुई विकेट झारे भने ललित राजवंशी र वसन्त रेग्मीले एक÷एक विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो । यसअघिका खेलको पाँच खेलमा सिङ्गापुर पनि अपराजित टोली हो । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०÷१० अङ्क जोडेका छन् । रनरेटका आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै आएको थियो । नेपालले टी–२० मा सिङ्गापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसिसी टी–२० अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जित निकालेको थियो । गत महीना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिङ्गापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल, सिङ्गापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । अब एशिया छनोटमा छ टोलीले खेल्नेछन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोल गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिष्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् । सन्दीपको राष्ट्रिय कीर्तिमान नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एशिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । सन्दीपले आज सिङ्गापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । सन्दीप प्रतियोगिताको सुरुवाती पाँच खेलमा २० विकेट लिएर कीर्तिमान नजिक पुगेका थिए । यसअघि सिनियरस्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान वसन्त रेग्मी र विनोद दासको संयुक्तनाममा थियो । वसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए । विनोदले सन् २००५ को एसिसी ‘फास्ट ट्रयाक कन्ट्रिज’ प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए । प्रतियोगितामा सन्दीपले सिङ्गापुरविरुद्ध चार, चीनविरुद्ध तीन, भुटानविरूद्ध तीन, थाइल्यान्डविरुद्ध पाँच, मलेसियाविरुद्ध पाँच र म्यानमारविरुद्ध चार विकेट लिएका थिए ।

प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने– मुख्यमन्त्री

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिँदै फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने जानकारी दिनुभयो । निर्देशनालय उद्घाटनका अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलो सेवाप्राप्त गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त नहुने बताउनुभयो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशको २५० र सङ्घीय एक हजार योजनामा तयार भई प्रदेशभित्र निर्माण कार्य शुरु हुने जानकारी दिनुभयो । नव स्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक, मोटर सञ्चालन हुने पक्की पुल र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृत, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ । –––

ए डिभिजन लिगका आज दुई खेल , शनिबारदेखि स्थगित

0
काठमाडौँ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल बुधबारदेखि पुनः शुरु भएको थियो । लिग फुटबलअन्तर्ग आज पहिलो चरणका खेल सकिँदैछ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महिनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । दोस्रो चरणका खेलहरु अब छठपछि सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ । “पहिलो चरणका खेलहरु आज सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैं, तिहार, छठ लगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ ।”– लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो । लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । –––