सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

0
याङ्गुन, म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ । अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन् । पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन् । उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए । इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो । यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले एएफपीलाई जानकारी दिनुभयो । यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो । राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो । अदालतले सजाय दिएका ती पत्रकारहरूले रोहिङ्ग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए । उनीहरूले रोहिङ्ग्याहरूको सामूहिक हत्याबारे अनुसन्धानमूलक समाचार प्रकाशन गरेका थिए । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उहाँका आलोचक बढ्दै गएका छन् । –––

पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने

0
कास्की, पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते फेवातालको दुई दशमलब पाँच किमी दूरीमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा विदेशी पर्यटकसहित लगभग ५० जना सहभागी हुनेछन् । पुरुष र महिलाको छुट्टाछुट्टै मूल्याङ्कन गरिने र फेवातालको बाराहीघाटबाट पारी पुगेर पौडीबाजहरु पुनः बाराहीघाटमै फर्कने रुट तय गरिएको छ ।

दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात

दार्चुला, २५ असोज दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताउनुभयो । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उहाँको भनाइ थियो । यस वर्ष तिब्बतेली भेडा–च्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । विगतमा सयौँ भेडा–च्याङ्ग्रा तिब्बतबाट आयात हुन्थ्यो उहाँले भन्नुभयो, “यस वर्ष हालसम्म आएको छैन ।” व्यापारीले जिल्लाबाट रु ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताउनुभयो । –––

विराट ट्रेड एक्स्पोमा रु २५ करोडको कारोबार हुने

विराटनगर, २४ असोज मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिनुभयो । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको एक्स्पोमा स्वदेशी तथा विदेशी राष्ट्रको लगानीकर्ता र उत्पादक, वितरक र निर्यातलाई एकै ठाउँमा राखी प्रत्यक्ष रूपमा अवलोकन गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको उहाँले बताउनुभयो । एक्स्पोमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन तथा दैनिक उपभोग्य वस्तु सम्बन्धी स्टल रहनेछ । त्यस्तै मनोरञ्जनका लागि दैनिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । एक्स्पो आयोजनास्थल निर्माणका लागि रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनका लागि विभिन्न १२ वटा उपसमितिसमेत गठन गरेको सङ्घले जनाएको छ । –––