नेपाल १० विकेटले विजयी
आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकालेको छ ।
आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाँै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो । चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए ।
चीनलाई २६ रनमै सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले तीन÷तीन विकेट लिए । चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिनाविकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदीप ऐरीले पनि अविजित चार रन जोडे । चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो । एशिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिङ्गापुरसँग खेल्नेछ । जितसँगै छनोटमा नेपाल पाँच खेलबाट १० अङ्क जोडेर शीर्ष स्थानमा छ । चीन भने पाँच खेलमै पराजित हुँदा तालीकामा अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।
हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै
काठमाडौँ, २४ असोज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो । स्थानीय प्रभावितलाई अतिप्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।
रु एक सय अङ्कित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ । कम्पनीको शेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द मङ्सिर ५ गते हुनेछ । न्यूनतम ५० कित्ता र अधिकत्तम चार हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।
कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत रु एक अर्ब ९१ करोड ४१ लाख १४ हजार रहेको छ । माथिल्लो खिम्ती दोस्रोको लागत रु एक अर्ब २३ करोड २२ लाख ६० हजार रहेको छ ।
तलेजुमा जमरा राखी दशैँ शुरु,एकान्त कुमारीलाई कुमारी घर भित्र्याइयो
भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ ।
आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा जमरा राखिएको हो । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल संवत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा शुरु भएको जोशीले बताउनुभयो ।
घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बली दिई कालरात्री गरी जात्रा मनाउने गरिन्छ ।
तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा रहेको छ ।
तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्पराअनुसार मूलनाइके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दशैँघर पु¥याएर विजयादशमीको दिनसम्म तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दशैँघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको मूलनाइके जोशीले बताउनुभयो ।
त्यसैगरी जीवितदेवीको रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी जीविका बज्राचार्यलाई कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा शुरु भएको छ ।
घटस्थापनादेखि दशैँभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा बिराजमान गराई पूजा गरिएको तलेजूका मूलनाइके जोशीले बताउनुभयो ।
तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने जानकारी दिँदै उहाँले दशैँभरि टिबुक्छेँमा रहने ११ गणकुमारीको समेत तलेजु ल्याएर पूजा गरिन्छ भन्नुभयो ।
नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै,
नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।
मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भए गरेका उपलब्धी, समस्या एवं चुनौतीका विषयमा छलफल गर्न, मानसिक रोगीको मानव अधिकारको विषयमा वकालत गर्ने जस्ता विविध उद्देश्यका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरिन्छ ।
बार्षिक ५ हजार बढी नेपालीको मृत्यु आत्महत्याबाट हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसमध्ये ९० प्रतिशत मृत्यु आत्महत्याका कारण र आत्महत्या गर्नेमध्ये ८० प्रतिशतको मृत्यु उदासिनताका कारण हुने गरेको बताइएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवसको अबसरमा डा बासुदेव कार्कीले पछिल्लो तथ्यांक प्रस्तुत गर्दै हरेक बर्ष ५ हजार बढीको मृत्यु आत्महत्याबाट हुने गरेको बताए । उनले मानसिक स्वास्थ्य समस्या दिनानुदिन बढदै गएको भन्दै साना व्यक्तिमा हरेक ५ मा एक र ठुलो व्यक्ति हरेक ४ मा एक जना मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको बताए ।
मानसिक स्वास्थ्यका लागि सरकारले मुस्किलले एक प्रतिशत बजेट छुट्याउने गरेको तर बालबालिकाको मानसिक रोग नियन्त्रणका लागि बजेटको व्यवस्था नभएकोमा चिकित्सकहरुले दुखेसो पोखेका छन । यसैबिच, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकारले २५ सैय्यासम्मका अस्पतालमा मानसिक रोग विशेषज्ञ पठाउने तयारी गरेको बताए । ।विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टोबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ