नेपाल को लगातार तेश्रो जित

काठमाडौँ, २२ असोज आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो । वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो । नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाए ।

थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए । ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ । रासस

पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि

सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो ।

आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका थिए । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिनुभएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताउनुभयो ।

सात सदस्यीय कार्यदल गठन

आजको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको छ ।

राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक सङ्घ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह–सचिव रहेको कार्यदल गठन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागि ऋण स्वरुप रु ११ अर्ब ६३ करोड स्वीकृत गर्नको लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरेको छ ।

जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने रु एक अर्ब चार करोड स्वीकृत गर्दै बैठकले नागरिक लगानी कोषको सञ्चालकमा डा रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्रसंघको ७३औँ महासभा, उक्त महासभामामा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग गर्नुभएको दुइपक्षीय भेटवाता र आपसी सम्बन्ध विस्तारबारे भएको पहल तथा कोस्टारिका भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जानकारी गराउनुभएको थियो । आजैको मन्त्रिपरिषद् बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्यसचिवमा प्रा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेको थियो ।

नेपालीलाई करोडपति बनाउँदै हमाल

अभिनेता राजेश हमालले नेपाली दर्शकलाई करोडपति बनाउने भएका छन् । अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम हु वान्ट्स टु बी ए मिलिनेयरको नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति नेपाल’ नेपालमा प्रशारण हुन लागेका अभिनेता राजेश हमालले बताएका छन् । भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगितामुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालीहरुबीच पनि लोकप्रिय रहेकाले आफुहरुले यसलाई नेपालमा सञ्चालन गर्न लागेको पनि हमालले बताए ।

बेलायतबाट सन १९९८मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम हु वान्ट्स टु बी ए मिलिनेयर अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा प्रशारण भईसकेको छ । यही प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) आउँदो मँसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजनमार्फत प्रशारण हुँदैछ । यही कार्यक्रमलाई राजेश हमालले सञ्चालन गर्न लागेका हुन् ।

बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अभिनेता राजेश हमालले भने,‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुलाई खुसी लागेको उनले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा केविसी नेपाल (को बन्छ करोडपति नेपाल)को प्रोमो पनि रिलिज गरिएको छ । प्रोममा ‘नमस्कार नेपाल, तपाईहरु सन्चै हुनुहुन्छ’ भन्ने नेपाली सम्बाद सहित कौन बनेका करोडपतिका सञ्चालक एवम् बलिउड अभिनेता अमिताभ बच्चनले को बन्छ करोडपतिलाई सफलताका शुभकामना व्यक्त गरेका छन् । आफुले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कौन बनेका करोडपतिको फ्रेन्चाईजको रुपमा को बन्छ करोडपति नेपालमा सञ्चालन हुन लागेकोमा आफुलाई खुसी लागेको उनले प्रोमो मार्फत बताएका छन् । साथै यो कार्यक्रमको सफलताको कामना समेत उनले गरेका छन् ।

को बन्छ करोडपति कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो । जसका लागि केबिसी नेपाल मोवाईल एप्स डाउनलोड गरेर यसलाई घरमै बसेर पनि खेल्न सकिने पनि जानकारी गराईयो ।

आयोजक विपिन कुमार आचार्यले नेपालीहरुलाई गेम खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आफुहरुले को बन्छ करोडपति नेपाल कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको बताए ।

सिभिल बैंकका सिईओ गोविन्द गुरुङले अन्तराष्ट्रिय रुपमा लोकप्रियता कमाएको यो कार्यक्रमलाई फ्रेन्चाईजको रुपमा नेपालमा पनि ल्याईएकोमा खुसी लागेको बताए । यसले आफुहरको व्यबसायमा पनि प्रवर्धन हुने भएकाले को बन्छ करोडपतिसँग आफुहरु जोडिएको बताए । इन्डिका हेयर कलरका कन्ट्री म्यानेजर सपनदास गुप्ता, राजिव शाहलगायतले पनि कार्यक्रमको सफलताको कामना गरे ।

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान पु¥याउनुपर्ने औँल्याउनुभयो ।

जलवायु परिवर्तनले सुख्खा डढेलो तथा बाढीपहिरोजस्ता समस्यालाई अझ जटिल बनाएको र नेपालका सुन्दर हिमशृङ्खला र हिमताल पग्लेर उत्पन्न हुने बाढीपहिराले जनधनको ठूलो क्षति हुँदै आएको तथा यसबाट वातारण विनाश र पर्यटनको आकर्षणको केन्द्रका रुपमा रहेका नेपालको मौलिक पहिचान गुम्ने अवस्थामा पुगेकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभयो ।

“पेरिस सम्झौतालगायत ओजन तहको क्षयीकरण रोकथाम गर्ने विषयमा भएको सम्मेलन तथा मरुभूमीकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन तथा सम्मेलनको भावनाअनुसारका राष्ट्रिय नीति, कानून तथा संस्थागत संरचनाको विकास गर्दै जान नेपाल सरकार प्रतिबद्ध रहेको मैले महसुस गरेकी छु”, राष्ट्रपतिले भन्नुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न सरकारले नागरिक समाज र सरोकारवाला समूहको सहभागितामा वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनले वर्तमान र भावी पुस्ताको स्वस्थ्य वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने मौलिक हक संरक्षणको विषयमा दूरगामी दृष्टिकोण र व्यावहारिक कार्यदिशा तय गर्ने विश्वस गर्नुभयो ।

सो अवसरमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तन, वातावरण र बढ्दो शरहीकरणसँग जोडिएका समस्यालाई एकीकृत ढङ्गले सम्बोधन गर्न सरकारले निरन्तर प्रयत्न गर्दै आएको बताउनुभयो । मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विकासका कार्यबाट आर्थिक वृद्धिदर तथा जीवनयापनमा सहजता भए तापनि प्राकृतिक स्रोतको दोहन तथा प्रदूषणमा व्यापकता आई मानव जीवन कष्टपूर्ण हुन थालेपछि वातावरण संरक्षणको आवश्यकताको महसुस हुँदै गएको छ भन्नुभयो । सम्मेलनमा ‘वायु प्रदूषण तथा न्यूनीकरण’, ‘शहरी वातारण तथा फोहर व्यवस्थापन’ र ‘वातारणीय प्रभाव मूल्याङ्कन’लगायत विषयमा छलफल गरिनेछ ।