अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए
काबुल, २३ असोज अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् ।
आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ । जवाजन प्रान्तको कुस टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ । जिल्लामा भिडन्तका खबरहरु प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ ।
तथापी, एकजना सुरक्षाकर्मी कमालुद्दीन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताउनुभएको छ । उहाँले भीडन्तमा कम्तीमा ३० जना तालिबानी मारिएको र अरु धेरै घाइते भएको दाबी गर्नुभयो । तालिबानले भने आक्रमणका बारेमा केही बताएको छैन ।
––––
सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने
बेंसीसहर, २३ असोज नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताउनुभएको छ ।
मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा यहाँ आयोजित कार्यक्रममा उहाँले दैनिक सुशासन÷जनसेवा परिचालन तथा जनताको अधिकार घरदैलोमा पु¥याउन स्थानीय सरकारको परिकल्पना गरिएको बताउनुभयो ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले गुनासोअनुसार कर्मचारी समायोजनको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिनुभयो । सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने उहाँको तर्क रहेको थियो ।
–––
कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ – मन्त्री अर्याल
काठमार्डौँ, २३ असोज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ ।
ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन भन्नुभयो ।
विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह
काठमाडौँ, २३ असोज प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ ।
संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उहाँले भन्नुभयो, “विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु ।”
उहाँले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै न्यायलयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानून व्यवसायी र सञ्चारमाध्यमको सहयोगको आवश्यकता भएको बताउनुभयो ।
न्यायलयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने तरिकाले न्यायलयले काम गरिरहेको समेत स्पष्ट पार्दै प्रधानन्यायाधीश मिश्रले प्रेसलाई आफूले सम्मान गर्ने र न्यायलयमा पनि प्रेसलाई बाटो खुला छ भन्नुभयो ।
मञ्चका अध्यक्ष लीलाधर उपाध्यायले विगतमा न्यायलयमा धेरै उतार चढाव आउने गरेको स्मरण गराउँदै जनताले न्यायको अनुभूति गर्ने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
चियापन समारोहमा प्रधानन्यायाधीश मिश्रसहित सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीलगायत अन्य पदाधिकारी, सर्वोच्च बार एशोसिएनका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता र पत्रकारको उपस्थिति थियो ।
––––