कोरियन एयरका अध्यक्षमाथि प्रहरी सोधपुछ

0

सिओल– कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ ।

हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको निजी निवासमा राखिएका सुरक्षागार्डको भुक्तानी कोरियन एयरबाट गरेका थिए ।

सिओल महानगरीय प्रहरीमा उपस्थित भएका चोले संवाददाताहरुसँग आफूले प्रहरीलाई घटनाका बारेमा सबै कुरा बताएको जानकारी दिए ।

यसैवर्ष मात्र विभिन्न घटनामा चो तेस्रोपटक प्रहरीको सोधपुछमा परेका छन् । जुन २८ मा उनी कर छलीको आरोपमा पक्राउ परेका थिए भने जुलाई ७ मा एक अभियोगमा अदालतले सोधपुछ गरेको थियो । –योन्हाप

सीपेकको सुरक्षामा कुनै सम्झौता हुँदैनः पाकिस्तानी सेना प्रमुख

0

इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन् । पाकिस्तानका लागि चिनियाँ राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

बेलायतस्थित फाइनान्सियल टाइम्सले पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा चीनसँग नयाँ सम्झौता गर्ने तयारी गरेको समाचार प्रकाशन गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ६२ अर्ब डलरको सीपेक परियोजनाका बारेमा समीक्षा गर्न नौ सदस्यीय समिति पनि हालैमात्र गठन गरेका छन् । यो परियोजनाले चिनियाँ कम्पनीहरुलाई बढी लाभ पुर्याएको आक्षेप लाग्दै आएको छ ।

यहीबीच, पाकिस्तान र चीनबीच आइतबार भएको मन्त्रिस्तरीय वार्तामा सीपेक परियोजनामा तेस्रो मुलुकका लगानीकर्तालाई पनि आमन्त्रित गर्ने सहमति भएको छ । –एएनआई 

सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु

0

काबुल । अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ ।

तर सन् २०१४ पछि इस्लामिक स्टेस (आईएस) आतङ्ककारी समूहको पनि बिगबिगी बढ्न थाल्यो र आईएस समूहले पनि बारम्बार यस्ता भीषण आक्रमण गर्दै आएका छन् ।

अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्म भएका केही भीषण आतङ्ककारी आक्रमण यसप्रकार रहेका छन् ।

सन् २०१८ को सेप्टेम्बर ११ मा यस वर्षको सर्वाधिक घातक मानिएको नानगाहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा परी ६८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १६५ जना घाइते भएका छन् ।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।

सन् २०१८ को जनवरीमा काबुलको प्रमुख शहरमा गराएको एक विस्फोटक पदार्थ विस्फोटनमा परी कम्तीमा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस विस्फोटमा परी मारिएका प्रायः सर्वसाधारण नागरिक नै थिए । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो ।

सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्टिया प्रान्तको गार्डेज शहरमा प्रहरी परिसरमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१७ को मे ३१ मा काबुलमा भएको भीषण बम आक्रमणमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

२०१७ कै अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार इ सरिफ सैनिक पोशाकमा प्रवेशगरी सैन्य शिविरको मस्जिद र डिनर हलमा गरिएको आक्रमण १४४ व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरुले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको आधिकारीक विवरण छ । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए ।

सन् २०१६ मा जुलाई २३ तारिखमा काबुलको सिया मुसलमान समूहको भिड भएको ठाउँमा दुई वटा विस्फोटन हुँदा ८५ जनाको मृत्यु भएको थियो भने अरू २३१ जना घाइते भएका थिए ।

अप्रिल १९ मा मध्य काबुलमा तालिबान लडाकूहरुले गरेको ट्रक बम आक्रमणमा परी ६४ जनाको मृत्यु भएको थियो भने ३४० जना घाइते भएका थिए ।

सन् २०११ डिसेम्बर ६ तारिखमा काबुलमै अशुरा पर्वको बिदाका दिनमा सिया मुसलमान समुदाय लक्षित आक्रमणमा ८० जना मारिएका थिए । त्यही दिन दोस्रो आक्रमण मजार इ सरिफको एउटा शहरमा भएको थियो । त्यसमा चार जना मारिएका थिए । त्यसको जिम्मेवारी तालिबान लडाकूहरुले अस्वीकार गरेका थिए ।

सन् २००८ जुलाई ७ तारिखका दिन भएको आत्मघाती कारबम आक्रमणमा ६० जना मारिएका थिए । तीमध्ये पाँच जना भारतीय नागरिक थिए । सो घटनामा १५० जना घाइते भएका थिए । तालिबान लडाकूहरुले यस घटनामा आफ्नो संंलग्नता नरहेको दाबी गरेका थिए ।

फेब्रुअरी १७ तारिखका दिन कान्दाहारको एउटा शहरमा भएको आत्मघाती आक्रमणमा परी १४० जना पुरुषको मृत्यु भएको थियो । तीमध्ये ५० जना सहायक प्रहरी अधिकृत पनि थिए ।

सन् २००७ नोभेम्बर ६ तारिखका दिन ५९ जना बालबालिकासहित ७९ जना मारिएका थिए । तीमध्ये छ जना सांसद पनि थिए । काबुलको उत्तरी क्षेत्रमा पर्ने पुल इ खुम्रीमा रहेको एउटा चिनी कारखाना भ्रमणमा गएका विशिष्टहरुको टोलीमाथि आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । सो घटनाको जिम्मेबारी लिन तालिबान लडाकूहरुले भने अस्वीकार गरेका छन् ।

संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

आगलागीमा परी एउटै परिवारका सातको मृत्यु

0

कम्पाला । आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।

पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो ।

बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको भनाइ छ ।

खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको बताइएको छ । झुप्रो घर भएकाले आगोले चाँडो टिपेको प्रहरीले जनाएको छ ।

‘उनीहरूले अवैध तरिकाले पेट्रोलको व्यापार गर्दै आएको र त्यसैका लागि घरमा पेट्रोल राखेका थिए,’ प्रहरी प्रवक्ता ओडोङ्गोले भने ।