बालविवाहको पीडामा किशोरीहरु,
बुटवल, २१ असोज रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन ९नाम परिवर्तन० को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन् । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान् अर्को विवाह गरेर भागिदिए र अहिले प्रमिला मानसिक, आर्थिक र सामाजिक सबै हिसाबले कमजोर बनेकी छन् ।
विवाहपछि पढाइ बीचमै छोडेकी प्रमिलालाई कलिलै उमेरमा बाबुआमाले गरिदिएको बालविवाहको पीडा अहिले भएको छ । उनी भन्छिन् – “पहिले त म सानी थिएँ, बल्ल बुझ्ने भएकी छु । तर जिन्दगी अलपत्र भइसकेको छ । सानैमा बिहे गरिदिनाले दुःख पाएँ ।”
विवाह दर्ताको प्रमाण नहुँदा कलिलो उमेरमै आफ्नो जिन्दगी बर्बाद पारेर बहुविवाह गरेका श्रीमान्विरुद्ध उनी कानूनी कारबाहीको प्रक्रियामा पनि जान सकेकी छैन । उनले भनिन् – “विवाह दर्ता गर्नुपर्छ भन्ने थाहा भएन । विवाह दर्ता भएको भए लडेर पनि न्याय पाउँथेँ ।”
रुपन्देहीको भैसहियाकी १८ वर्षीय शशिकला लोध ९नाम परिवर्तन० लाई गौना जान पट्टक्कै मन छैन । बाबुआमाले मर्चवारका एक युवकसँग १० वर्षको उमेरमा उनको बिहे गरिदिएका हुन् । विवाहपछि कक्षा ११ सम्मको अध्ययन गरेकी शशिकलाको अझै पढ्ने धोको छ । तर, गौना पछि पढाइ बीचमै रोकिने चिन्ता छ उनलाई । उनी भन्छिन् – “कतै भागेर जाउ भने समाजले के भन्छ भन्ने हुन्छ । विवाहमा धेरै खर्च भयो । बुवाआमाले लाखौंको दाइजो दिइसके मसँग गौना जानुको विकल्प छैन ।”
बालविवाह गरेका कारण समस्यामा परेका यी किशोरीहरु उदाहरण मात्र हुन् । कम उमेरमा विवाह गर्ने र विवाहपछि पछुताउने महिलाहरुको सङ्ख्या तराई क्षेत्रमा धेरै छन् । तराई क्षेत्रमा बालविवाहका घटनामा कमी आए पनि पूर्ण रुपमा हटेको छैन । बालविवाहविरुद्धको हुने कानूनी कारबाहीका डरले लुकिछिपी विवाह गराउने परम्परा यथावत रहेको लुम्बिनी हेल्प फाउण्डेशनका अध्यक्ष अजय सिंह बताउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यो वर्ष बालविवाहसम्बन्धी एउटा पनि उजुरी परेको छैन । आर्थिक वर्ष २०७३÷७४ मा तीन वटा मुद्दा दर्ता भए पनि यो वर्ष भने कुनै उजुरी परेन । बालविवाहविरुद्ध सचेतना बढेका कारण विवाहमा कमी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाको भनाइ छ । बालविवाहविरुद्धको कानून कडाइका साथ कार्यान्वयनमा आएको र प्रहरीले लामो समयदेखि बालविवाहविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरेका कारण पनि घटनामा कमी आएको थापाले बताउनुभयो ।
अधिकारकर्मी ज्ञानु पौडेल तराईमा बालविवाह अझै पूर्ण रुपमा हट्न नसकेको बताउनुहुन्छ । सरकारी तथा गैरसरकारी संस्थाहरुले चेतनामूलक अभियान सञ्चालन गरेका कारण बालविवाहमा कमी आए पनि लुकिछिपी अझै पनि अभिभावकले बालविवाह गराउने गरेको उहाँको भनाइ छ । सानैमा बिहे गरेका मधेशका महिलाहरु सबैभन्दा बढी हिंसामा पर्ने गरेको पनि पौडेलले बताउनुभयो ।
महिला तथा बालिकाको क्षेत्रमा कार्यरत संस्था कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले बालविवाहको पीडाले कालान्तरमा किशोरी र महिलामा शारिरीक र मानसिक रुपमा नकारात्मक चोट पु¥याएको बताउनुभयो । सानैमा विवाह गरेका कारण परिवारमा बेमेल हुने र महिलाहरु थप हिंसामा पर्ने गरेकाले बालविवाहलाइ पूर्णरुपमा रोक्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । “जुनसुकै पीडा र समस्या परेको बेला कारबाहीको प्रक्रियामा जानका लागि दरिलो प्रमाण नै विवाह दर्ता हो,” आचार्यले भन्नुभयो – “मधेशमा धेरै महिला विवाह दर्ता र नागरिकताबाट वञ्चित रहेको पाइएको छ । विवाहलगत्तै विवाह दर्ता र नागरिकताका लागि सबै महिला चनाखो हुन जरुरी छ ।” यसका लागि सरकारी र गैरसरकारी दुवै निकायले चेतना प्रवाह गर्नुपर्ने उहाँको सुझाव छ ।
विवाह गर्ने वा नगर्ने भन्ने विषय हरेकको वैयक्तिक स्वतन्त्रता हो । मानव अधिकारको दृष्टिकोणबाट पनि आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्न पाउने प्रत्येक नागरिकको अधिकार सुनिश्चित हुनुपर्दछ ।
नेपालको मुलुकी संहितामा विवाहका लागि कानूनी उमेर २० वर्ष तोकिएको छ । नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको विषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । तर, सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी र अशिक्षाका कारण तराईमा अझै पनि बालविवाह पूर्णरुपमा निर्मूल हुन नसकेको अधिवक्ता हेमा न्यौपानेको भनाइ छ ।
बाल विवाहले बालबालिकालाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा त्यस सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन् ।
बाल विवाहका कारण बैवाहिक जीवन दिगो नहुने र परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरु देखिने मात्र हैन लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाले बालिका र महिलाहरु थप प्रताडित जोखिम रहन्छ । रासस
सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन महानिरिक्षक खनाल
काठमाडौँ, २१ असोज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ ।
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आइतबार समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उहाँले भन्नुभयो ।
महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ भन्नुभयो । “लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,”उहाँले भन्नुभयो ।
महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको स्पष्ट पार्नुभयो । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उहाँको भनाइ थियो ।
राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताउनुभयो । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उहाँको भनाइ थियो । असोज १७ देखि सञ्चालन भएको खेल आज सकिएको हो । कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई रु ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु ३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई रु दश हजार नगद प्रदान गरिएको थियो ।
नेपाल को लगातार तेश्रो जित
काठमाडौँ, २२ असोज आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो । वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो । नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाए ।
थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए । ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ । रासस
पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि
सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो ।
आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका थिए । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिनुभएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताउनुभयो ।
सात सदस्यीय कार्यदल गठन
आजको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक सङ्घ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह–सचिव रहेको कार्यदल गठन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागि ऋण स्वरुप रु ११ अर्ब ६३ करोड स्वीकृत गर्नको लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरेको छ ।
जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने रु एक अर्ब चार करोड स्वीकृत गर्दै बैठकले नागरिक लगानी कोषको सञ्चालकमा डा रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्रसंघको ७३औँ महासभा, उक्त महासभामामा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग गर्नुभएको दुइपक्षीय भेटवाता र आपसी सम्बन्ध विस्तारबारे भएको पहल तथा कोस्टारिका भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जानकारी गराउनुभएको थियो । आजैको मन्त्रिपरिषद् बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्यसचिवमा प्रा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेको थियो ।