बडादशैंका लागि नयाँ नोट सटही सुरु

नेपालीहरुको महान पर्ब बिजया दशमी नजिकिदै गर्दा, नेपाल राष्ट्र बैंकले आइतबारदेखि विभिन्न दरका नयाँ नोट सटही गर्ने जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थाले आइतबारदेखि नै नयाँ नोट वितरण सुरु गर्दैछन् ।२७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सकिने बैकले जनाएको छ बडादशैंका लागि नयाँ नोट सटही सुरु भएको हो । नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । आफूलाई पायक पर्ने नजिकको बैंकबाट असोज २९ गतेसम्म नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

बैतडी, २१ असोज रासस बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् । केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि शुरुवात गरेका भए पनि धेरैजसो ठाउँमा सहकारी ऐन निर्माणको काम नै शुरु हुनसकेको छैन । सहकारी ऐन निर्माणका लागि कर्मचारीको अभाव रहेको डिलाशैनी गाउँपालिकाका कृषि शाखा प्रमुख जनकबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भएका भए पनि ऐन भने बन्न सकेको छैन”, सहकारी संस्था दर्ताका लागि अहिलेसम्म कोही नआएको र ऐनसमेत नबनेको दशरथचन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाले सहकारी ऐन बनाउने तयारी गरिरहेको छ ।” जिल्लाका १० वटै स्थानीय तहमा सहकारी ऐन बन्न सकेको छैन । स्थानीय तहमा सहकारी हस्तान्तरण भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेका साविकको डिभिजन कार्यालयका तत्कालीन प्रमुख दुर्गासिंह धामीले जानकारी दिनुभयो । स्थानीय तहमा सहकारी ऐन नहुँदा सहकारीलाई अप्ठयारो भएको सुनौलो बचत तथा ऋण सहकारी संस्था पाटन बैतडीका अध्यक्ष केशव विष्टले बताउनुभयो रासस

सांसद रौनियार निलम्बित

0
काठमाडौँ, १९ असोज प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ ले सार्वजनिक पद धारणा गरेका व्यक्तिविरुद्ध भ्रष्टाचारसम्बन्धी दायर भएर मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था गरेको छ । ऐनअनुसार त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकमा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन । अख्तियारले पप्पु कन्सट्रक्सन कम्पनीका पूर्वअध्यक्ष रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमिता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको थियो । रासस –––

मङ्सिरदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

0
काठमाडौँ, २० असोज रासस काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिनुभयो । तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउनुभयो । “ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ”, उहाँले भन्नुभयो । महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोहीअनुसार हाल उपत्यकाका झण्डै ८० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले उक्त ज्याकेट लगाउँदै आएका छन् । रासस