सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु

0
काबुल । अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ । तर सन् २०१४ पछि इस्लामिक स्टेस (आईएस) आतङ्ककारी समूहको पनि बिगबिगी बढ्न थाल्यो र आईएस समूहले पनि बारम्बार यस्ता भीषण आक्रमण गर्दै आएका छन् । अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्म भएका केही भीषण आतङ्ककारी आक्रमण यसप्रकार रहेका छन् । सन् २०१८ को सेप्टेम्बर ११ मा यस वर्षको सर्वाधिक घातक मानिएको नानगाहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा परी ६८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १६५ जना घाइते भएका छन् । यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ । सन् २०१८ को जनवरीमा काबुलको प्रमुख शहरमा गराएको एक विस्फोटक पदार्थ विस्फोटनमा परी कम्तीमा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस विस्फोटमा परी मारिएका प्रायः सर्वसाधारण नागरिक नै थिए । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो । सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए । पाक्टिया प्रान्तको गार्डेज शहरमा प्रहरी परिसरमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१७ को मे ३१ मा काबुलमा भएको भीषण बम आक्रमणमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । २०१७ कै अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार इ सरिफ सैनिक पोशाकमा प्रवेशगरी सैन्य शिविरको मस्जिद र डिनर हलमा गरिएको आक्रमण १४४ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरुले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको आधिकारीक विवरण छ । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए । सन् २०१६ मा जुलाई २३ तारिखमा काबुलको सिया मुसलमान समूहको भिड भएको ठाउँमा दुई वटा विस्फोटन हुँदा ८५ जनाको मृत्यु भएको थियो भने अरू २३१ जना घाइते भएका थिए । अप्रिल १९ मा मध्य काबुलमा तालिबान लडाकूहरुले गरेको ट्रक बम आक्रमणमा परी ६४ जनाको मृत्यु भएको थियो भने ३४० जना घाइते भएका थिए । सन् २०११ डिसेम्बर ६ तारिखमा काबुलमै अशुरा पर्वको बिदाका दिनमा सिया मुसलमान समुदाय लक्षित आक्रमणमा ८० जना मारिएका थिए । त्यही दिन दोस्रो आक्रमण मजार इ सरिफको एउटा शहरमा भएको थियो । त्यसमा चार जना मारिएका थिए । त्यसको जिम्मेवारी तालिबान लडाकूहरुले अस्वीकार गरेका थिए । सन् २००८ जुलाई ७ तारिखका दिन भएको आत्मघाती कारबम आक्रमणमा ६० जना मारिएका थिए । तीमध्ये पाँच जना भारतीय नागरिक थिए । सो घटनामा १५० जना घाइते भएका थिए । तालिबान लडाकूहरुले यस घटनामा आफ्नो संंलग्नता नरहेको दाबी गरेका थिए । फेब्रुअरी १७ तारिखका दिन कान्दाहारको एउटा शहरमा भएको आत्मघाती आक्रमणमा परी १४० जना पुरुषको मृत्यु भएको थियो । तीमध्ये ५० जना सहायक प्रहरी अधिकृत पनि थिए । सन् २००७ नोभेम्बर ६ तारिखका दिन ५९ जना बालबालिकासहित ७९ जना मारिएका थिए । तीमध्ये छ जना सांसद पनि थिए । काबुलको उत्तरी क्षेत्रमा पर्ने पुल इ खुम्रीमा रहेको एउटा चिनी कारखाना भ्रमणमा गएका विशिष्टहरुको टोलीमाथि आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । सो घटनाको जिम्मेबारी लिन तालिबान लडाकूहरुले भने अस्वीकार गरेका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

आगलागीमा परी एउटै परिवारका सातको मृत्यु

0
कम्पाला । आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो । बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको भनाइ छ । खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको बताइएको छ । झुप्रो घर भएकाले आगोले चाँडो टिपेको प्रहरीले जनाएको छ । ‘उनीहरूले अवैध तरिकाले पेट्रोलको व्यापार गर्दै आएको र त्यसैका लागि घरमा पेट्रोल राखेका थिए,’ प्रहरी प्रवक्ता ओडोङ्गोले भने ।

पोप फ्रान्सीस अर्को वर्ष जापान जाने

0
भ्याटिकन सिटी । पोप फ्रान्सीसले आउँदो वर्ष आफू जापान जाने घोषणा बुधबार गरेका छन् । झण्डै ४० वर्ष अघि जोन पावल द्वितीयपछि पहिलो पटक उनले सन् २०१९ मा जापानको भ्रमण गर्ने भएका हुन् । ‘मैले तपाईहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म अर्को वर्ष जापान आउनेछु,’ भ्याटिकनसिटीमा एउटा जापानीज टोलीसँगको भेटमा उनले भने । उनले आफ्नो यो चाहना पूरा हुने विश्वास पनि व्यक्त गरेका छन् । जापानी युवाहरुको सो टोलीले युवा र अनाथका लागि प्रशिक्षण कोष बनाउन सहयोग गर्न फ्रन्सीस जापान जान लागेका बताइएको छ । उनले भने, ‘तपाईहरु धर्म, संस्कृति र अर्थतन्त्रका लागि सँगसँगै मिलेर काम गर्न सक्नुहुन्छ, त्यो विश्वव्यापी रुपमा मानवताका लागि शान्तिपूर्ण रुपमा हुनुपर्दछ ।’ फ्रान्सीसले यसअघि फिलिपिन्स, सन् २०१४ मा श्रीलङ्का र त्यसपछि म्यान्मा तथा बङ्लादेशको भ्रमण गरेका थिए । जापानमा भने यसअघि पोप जोन पावल द्वितीयले सन् १९८१ मा भ्रमण गरेका थिए ।

अमेरिकाका पाँच राज्यमा संकटकाल घोषणा

0
अमेरिकाको पूर्वी तटस्थित इलाकामा जुन फ्लोरेन्स चक्रावतको खतरा छ, त्यो पछिल्लो तीन दशकको सबैभन्दा ठूलो चक्रवात हुने मौसम विभागले चेतावनी दिएको छ । मौसम विभागका अनुसार अटलान्टिकको तातो पानीबाट यो चक्रवातले शक्ति पाइरहेको छ र भविष्यमा यो थप शक्तिशाली हुने आशा गरिएको छ । अधिकारीले अबको ३६ घण्टामा चक्रवातका साथै पानीको स्तरमा वृद्धि भएको हुँदा तटीय इलाकामा जन र धनको खतरा बढ्न सक्ने अनुमान व्यक्त गर्दै तुरुन्त सो स्थान छोड्न निर्देशन दिएका छन् । उक्त चक्रवातको अवस्था हेरेर भर्जिनिया, मेरिल्याण्ड, वासिङ्टन, उत्तर र दक्षिण क्यारोलाइनामा संकटकालको घोषणा गरिएको छ । उत्तर क्यारोलाइनाका गभर्नर रोय कुपरले तत्काल तटीय इलाका छोड्न निर्देशन दिएका छन् । ‘त्यहाँ बसेर तपाईंहरुले आफ्नो ज्यान जोखिममा पार्दै हुनुहुन्छ,’ कुपरले भने, ‘हावा र वर्षा हुन थालेपछि मात्र अन्यत्र सर्छु भन्ने सोच त्याग्नुहोस् ।’ उनले मंगलबार मिडियासँगको कुराकानीमा उक्त चक्रवातलाई विशाल राक्षकको संज्ञा दिँदै यो निकै खतरनाक र ऐतिहासिक भएको बताएका छन् ।
फ्लोरेन्स अहिले कहाँ छ ? अमेरिकी मौसम विभागको ताजा जानकारी अनुसार यो चक्रवात मंगलबार बेलुका उत्तरी क्यारोलाइनाभन्दा करिब एक हजार किलोमिटर टाढा थियो । उक्त जानकारीमा फ्लोरेन्स चक्रवात करिब २८ किलोमिटर प्रति घण्टाको गतीमा उत्तर–पश्चिमतर्फ बढिरहेको र बुधबार थप बलियो भएको उल्लेख गरिएको छ । यद्यपी, मौसम विभागमा अधिकारीले बिहिबार फ्लोरेन्स चक्रवात केही कमजोर हुनसक्ने अनुमान व्यक्त गरेका छन् । तर जमिनमा ठोक्किएपछि यो निकै खतरनाक आँधी हुने जानकारी दिएका छन् । फ्लोरेन्सले कति हानी पुर्याउन सक्छ ? नेशनल हरिकेन सेन्टर (एनएचसी) ले फ्लोरेन्सलाई ‘अत्यधिक खतरनाक’ मौसमी घटना बताएको छ । यसले तटीय र भित्री इलाकामा भारी वर्षा र बाढीका कारण विनास निम्त्याउन सक्छ । एनएचसीले भन्यो, ‘फ्लोरेन्सका कारण घातक प्रभाव पैदा हुनसक्छ । तटमा १३ फुट अग्लो छाल आउन सक्छन् र करिब दुई सय किलोमिटर प्रति घण्टाको गतीमा चल्ने चक्रवातको शक्तिशाली हावाले भारी विनास निम्त्याउन सक्छ ।’ फ्लोरेन्स चक्रवातका कारण केही इलाकामा ६४ सेन्टिमिटरसम्म वर्षा हुनसक्छ र भारी वर्षाका कारण भित्री इलाकामा पानी भरिने र बाढी आउन सक्छ । अमेरिकाका केही चर्चित मौसम वैज्ञानिकका अनुसार फ्लोरेन्स चक्रवात सन् १९८९ मा आये ह्यूगो नामको त्यो आँधीभन्दा पनि भयानक हुनसक्छ जसका कारण ४९ को मृत्यु भएको थियो र अमेरिकालाई करिब सात सय करोड डलरको क्षती भएको थियो । यो चक्रावतले अमेरिकाको ब्रुन्सविक परमाणु संयन्त्रमाथि पनि खतरा छ किनभने उत्तरी क्यारोलाइनामा जुन स्थानमा यो चक्रावत जमिनमा ठोक्किने सम्भावना छ, यो संयन्त्र त्यहाँभन्दा केही मिल पर साउथपोर्टमा रहेको छ । मानिसहरुको कस्तो तयारी ? यो चक्रवातका कारण अमेरिकाको पूर्वी तटको इलाकामा बस्ने करिब दस लाख मानिसहरुलाई सुरक्षित स्थानमा पुर्याउने कोसिस गरिँदै छ । दक्षिणी क्यारोलाइना, उत्तरी क्यारोलाइना र भर्जिनियाका केही हिस्सामा मानिसहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिइएको छ । अन्य प्रभावित क्षेत्रका निवासी अत्यावश्यक वस्तु संकलन गरिरहेका छन् । दक्षिणी क्यारोलाइनामा एक हार्डवेयर स्टोर चलाउने जोन जनसनले समाचार एजेन्सी एएफपीलाई मानिसहरुले ब्याट्री, फ्ल्याशलाइट्स र प्लाष्टिकको त्रिपाल खरिद गरिरहेको जानकारी दिए । केही पेट्रोल पम्प खाली भएका छन् । अहिलेसम्म राष्ट्रपति ट्रम्पले के भने ? अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो चक्रवातका कारण शुक्रबार मिसिसिपीमा हुने र्याली रद्द गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर र दक्षिण क्यारोलाइनाका लागि ‘संकटकालको घोषणा’ मा हस्ताक्षर गरेका छन् । साथै, चक्रवातलाई सामना गर्नका लागि संघीय कोषको मद्दत प्रदान गरेका छन् । मंगलबार बेलुका डोनल्ड ट्रम्पले भने, ‘सरकार फ्लोरेन्स चक्रवातसँग लड्न कुनै कसर छोडेको छैन ।’