पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त
इस्लामावाद– भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।
कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्किएका थिए ।
शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।
उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृहमन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।
राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो ।
नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन् । –एएफपी
`अफगान द्वन्द्वः आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो
जलालाबाद– अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लोपटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।
यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वी क्षेत्रमा भएको त्यस विस्फोटमा अरु १६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताए ।
यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।
नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ ।
उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउँदै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेको अवस्थामा भएको थियो । हमलाकारीले प्रदर्शनकारीको बीचमा गएर आफैंलाई बमले उडाएको बताइएको छ ।
मृत्यु भएका र घाइतेहरुलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालहरुमा लगेका थिए ।
जनवरीमा भएको यस्तै एक विभत्स घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउँदा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए । त्यो बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो । –एएफपी
कोरियन एयरका अध्यक्षमाथि प्रहरी सोधपुछ
सिओल– कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ ।
हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको निजी निवासमा राखिएका सुरक्षागार्डको भुक्तानी कोरियन एयरबाट गरेका थिए ।
सिओल महानगरीय प्रहरीमा उपस्थित भएका चोले संवाददाताहरुसँग आफूले प्रहरीलाई घटनाका बारेमा सबै कुरा बताएको जानकारी दिए ।
यसैवर्ष मात्र विभिन्न घटनामा चो तेस्रोपटक प्रहरीको सोधपुछमा परेका छन् । जुन २८ मा उनी कर छलीको आरोपमा पक्राउ परेका थिए भने जुलाई ७ मा एक अभियोगमा अदालतले सोधपुछ गरेको थियो । –योन्हाप
सीपेकको सुरक्षामा कुनै सम्झौता हुँदैनः पाकिस्तानी सेना प्रमुख
इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन् । पाकिस्तानका लागि चिनियाँ राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
बेलायतस्थित फाइनान्सियल टाइम्सले पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा चीनसँग नयाँ सम्झौता गर्ने तयारी गरेको समाचार प्रकाशन गरेको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ६२ अर्ब डलरको सीपेक परियोजनाका बारेमा समीक्षा गर्न नौ सदस्यीय समिति पनि हालैमात्र गठन गरेका छन् । यो परियोजनाले चिनियाँ कम्पनीहरुलाई बढी लाभ पुर्याएको आक्षेप लाग्दै आएको छ ।
यहीबीच, पाकिस्तान र चीनबीच आइतबार भएको मन्त्रिस्तरीय वार्तामा सीपेक परियोजनामा तेस्रो मुलुकका लगानीकर्तालाई पनि आमन्त्रित गर्ने सहमति भएको छ । –एएनआई