नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित
काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ ।
मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो ।
पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा नि गोल गर्न सकेनन । गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन ।
त्यस्तै खेलको ८४ औं मिनेटमा मालदिभ्सका खेलाडी इब्राहम हवाद हसानले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनै इब्राहमले २ मिनेटमा अर्को गोल गर्दै मालदिभ्सलाई जितको सुनिश्चित गरे ।
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन । मालदिभ्स भने एकपटकको विजेता, तीनपटकको उपविजेता र पाँचपटकको सेमिफाइनलिस्ट हो ।
यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २–१ गोलले हारेको थियो भने भुटानलाई ४–० र बंगलादेशलाई २–० गोलले हराएको थियो ।
एयर होस्टसका लागि मिस एभिएसन
काठमाडौं – विमान परिचारिका अर्थात एयर होस्टसको प्रशिक्षण लिइरहेका तथा यो विधामा रुची राख्ने युवतीका लागि सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना हुने भएको छ । टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्मस्ले पहिलो पटक ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना गर्ने घोषणा गरेको हो ।
असोज महिनाको अन्तिम साता आयोजना हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनालेका लागि काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको छ । अडिसनबाट २० जना युवतीहरु छनोट भएको आयोजक संस्थाकी विजया शाहले बताएकी छिन् ।
अडिसनमा साहारा एयरलाइन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरका मार्केटिङ मेनेजर बिनिता थापा, नेपाल एयरलाइन्सका क्याबिन क्रू दायमन्ती किरा“त, पूजा सिलवाल, हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा डिजे शिशिर निर्णायक रहेका थिए ।
१८ देखि २४ वर्ष उमेर समुहका युवतीहरुले यो प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीका अनुसार छनोट भएका युवतीहरु यसै सातादेखि प्रशिक्षणमा व्यस्त भएका छन् ।
प्रतियोगीतामा उत्कृष्ट हुने तथा सबै प्रकृया पुग्ने एक जनाले नगदसहित एउटा प्रतिष्ठित एयरलाइन्समा जागिरको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ ।
तीजको लहर आयो बरि लै : तस्विरमा हेर्नुहोस् कलाकारको तीज
काठमाडौँ । आज नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ।
प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।
गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ ।
यस पर्वलाई कलाकारहरुले पनि भव्यताका साथ मनाएका छन् । रातो साडीमा सजिएका कलाकाहरुको तस्विरले सामाजिक सञ्जाल भरिएका छन् ।
केहीले पशुपति नाथ मन्दिर समेत पुगेर पूजाआजा गरेका छन् ।
भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।
‘मदहोस’मा सृजना
काठमाडौं – मुभि मेकर्सको ब्यानरमा चलचित्र ‘मदहोस’ बन्ने भएको छ । सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रको आइतबार ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको गरिएको हो ।
गीतमा एसके अधिकारीको शब्द र बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत रहेको छ । गीतमा गायिका नित्या शिवा र संगीतकारद्धय बाबुल गिरी तथा सन्तोष प्रगाढले नै स्वर दिए । शंकर अधिकारीको लेखन तथा निर्देशन रहने ‘मदहोस’ यौन हिंसाको शिकार भएका युवतीको कथामा निर्माण हुन लागेको हो । शिक्षित बेरोजगार युवाहरु सामाजिक संजाल कसरी दुरुपयोग गरिरहेका छन् भन्ने समेत चलचित्र देखाउन खोजेको छ ।
विक्रम कार्कीको छायांकन, राजन महर्जनको नृत्य रहने चलचित्रमा सृजना बस्नेत, दीपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेल, सलिना खड्का, प्रियंका अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ । सृजना यसै चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । उनीसँग छोटो चलचित्र तथा म्युजिक भिडियो अभिनय गरेको अनुभव पनि छ ।