आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकार प्रतिवद्धः उपप्रधानमन्त्री यादव
भक्तपुर । उपप्रधान एवंम् स्वास्थ्य तथा जनसङ्यामन्त्री उपेन्द्र यादवले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन सरकारले यस वर्ष मुलुकभर एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने बताएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आजदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सीटी स्क्यान तथा क्याथ ल्याब सेवाको उद्घाटन गर्दै उनले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सरकारले स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो भने ।
उपप्रधानमन्त्री यादवले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी धेरै समस्या छन् तर चिकित्सकहरु काठमाडौँमा सरुवाको माग गर्दै मन्त्रालयमा ओइरो लाग्ने गर्छ, यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
सरकारी अस्पतालमा अझै डाक्टर पुग्न सकेका छैनन, राम्रो प्रयोगशाला सेवा सबैमा अझै पुग्न सकेको छैन, भवनहरु जीर्ण छन्, राम्रो नर्स, स्वास्थ्यकर्मी पुग्न सकेका छ्रैनन्, उनले भने, ‘जिल्लामा सरुवा भएर गएका डाक्टर हाजीर भएका दिनदेखि काठमाडौँमा सरुवा हुन माग गर्छन्, राम्रा डाक्टर प्रदेशमा समेत जान मान्दैनन, यस्तो प्रवृत्ति त्याग्नुपर्छ ।’
उपप्रधानमन्त्री यादवले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको तर ८० प्रतिशतभन्दा बढी डाक्टर शहरमा बस्ने गरेको उल्लेख गर्दै गाउँमा जनता धेरै, शहरमा डाक्टर धेरै हुने गरेको छ, यो असमानता हटाउनुपर्ने बताए ।
जनशक्तिको विकास, अत्याधुनिक उपकरण ल्याउन र भौतिक संरचना निर्माण गर्न सरकार लागिपरेको बताउँदै उनले तराई, पहाड, हिमाललगायत सबै क्षेत्रमा स्वास्थ्य केन्द्र सञ्चालन गरी नागरिकको सहज पहुँच पु¥याउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
उपप्रधानमन्त्री यादवले अर्बुदरोग, मुटु, मिर्गौलालगायत जटिल खालका रोगको उपचार गर्न अब विदेश जानु नपर्ने उल्लेख गर्दै नेपालमै सबै रोगको उपचार सम्भव भएको बताए ।
केन्द्र प्रमुख डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म केन्द्रले ५०० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै भारत, पाकिस्तानलगायत विभिन्न देशबाट उपचारका लागि केन्द्रमा बिरामी आउने गरेको जानकारी दिए ।
केन्द्रबाट ३२ हजार बिरामीले वार्षिक रुपमा ओपीडी सेवा लिइरहेको उल्लेख गर्दै १०० शय्याबाट ३०० शय्यामा क्षमता वृद्धि गर्ने केन्द्रको लक्ष्य रहेको बताउनुभयो । यो केन्द्रलाई सातवटै प्रदेशमा विस्तार गर्न सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रा डा राकेश शर्मा, डा कल्पना श्रेष्ठ, ईन्दिरा प्रधानलाई सम्मान गरिएको थियो । केन्द्रले अब अत्याधुनिक सीटी स्क्यानबाट बिरामीलाई सेवा दिन सकिने र मुटु रोगका बिरामीका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएर उपचार गर्ने भएको छ ।
भेट्टाएको दुई लाख चौधरीद्धारा धनीलाई फिर्ता, पुरस्कार पनि लिएनन्
परासी । पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको रु दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जाने क्रममा सो रकम हराएको थियो ।
पैसा हराएपछि पावित्रीले प्रहरी तथा स्थानीयवासीलाई खबर गरिन् । तत्कालै रकम भेट्टाउनेलाई पुरस्कारको घोषणासहित खोजतलास शुरु गरिएको स्थानीय कानून व्यवसायी दीपेन्द्र मिश्रले बताए ।
रकम भेट्टाएका रामग्राम–१६ कै लालचन चौधरीले पावित्री थारूको पैसा भएको हल्ला थाहा पाएपछि उनले आफैँ लगेर पावित्रीलाई पैसा फिर्ता दिएका हुन् । पावित्रीले घोषणा गरेको पुरस्कार पनि उनले लिएनन् । लालचनको यो इमान्दारिताप्रति कृतज्ञ हुँदै पीडित परिवारले उनलाई धन्यवाद दिएको छ ।
तीनवटा पेट्रोल पम्पमा सिलबन्दी
भैरहवा । ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।
सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले आज छड्के अनुगमन शुरु गरेको हो ।
ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रजिअ नारायण पाण्डेले जानकारी दिए ।
सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको थिए ।
भारतीय बजारमा पेट्रोलियम पदार्थ अनाधिकृतरुपमा पैठारी गरेको सूचना थाहा पाएपछि निगमले भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर इन्धन मात्र दिन पाइने सर्कुलर गरेको थियो ।
आयल निगमको निर्देशनलाई अवज्ञा गर्दै ती पेट्रोल पम्पले भारतीय नम्बरका सवारीसाधन तथा बस र ट्रकलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा अनुगमन टोलीले भेटेपछि कार्वाही प्रक्रिया अगाडि बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले बताए ।
नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पर्दाथ डिजल र पेट्रोलको मूल्यमा झण्डै २० रुपैयाँ बढी छ । नेपालबाट इन्धन भारततर्फ विभिन्न माध्यमबाट पैठारी हुँदा नेपाली बजारमा अभाव देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले जानकारी दिए ।
अनुगमनका क्रममा सिलबन्दी गरिएका पेट्रोल पम्पलाई कानुनअनुसार कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलीले बताएको छ ।
‘राजधानीको नाम चाँडै टुङ्गिन्छ’ : मन्त्री कार्की
दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताएका छन् ।
झापाको गौरादहमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताए । प्रदेशको नामका लागि कोशी, सगरमाथा, कञ्चनजङ्घा, किरात, मेचे, लिम्बुवान्लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको उनले स्पष्ट पारे ।
उनले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरीलगायतका नाम प्रस्तावित भएकाले राजधानीको टुङ्गो पनि चाँडै लगाउने बताए ।
मन्त्री कार्कीले विपत् व्यवस्थापन, शान्तिसुरक्षा, सञ्चारको क्षेत्रमा स्पष्ट कानून नबनेका कारण केही चुनौती रहेको बताए । उनले दमकका व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्न दोषीले उन्मुक्ति नपाउने स्पष्ट पारे ।