यस वर्षको तीजमा बालेन  देशभक्ति र  माइतीको झल्को लिएर  आइन  चन्द्रावती

पोखरा। तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ ।
यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ ।
समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख गरिएको छ ।
देशभक्ति शीर्षकको गीतको सुरुको टुक्कामा नै उहाँले भन्नुभएको छ,
“आजसम्म गाइयो गीत सत्ताको र शक्तिको ।
यो तीजमा गाउँछु गीत देशभक्तिको ।।”
देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति गर्व गर्दै उहाँ गीतमा भन्नुहुन्छ ।
“नालापानी युद्ध लडी देश बचाए पुर्खाले ।
जतन गर्न सकेनौ च्यापे अर्काले ।।
तत्कालीन समयमा नेपालीहरू एकजुट भएर शत्रु पराजित गरेको र सामन्य रुपमा जीवनयापन गरेको प्रसङ्ग उल्लेख गर्दै भन्दै उहाँले,
“शत्रु पराजित गरे दाजुभाइ मिलेर ।
भोकलाग्दा पानी सँग सातु लिएर ।।
राष्ट्रियता राष्ट्र प्रति सधैं भलो चिताए ।
कछाड र कमेजमा रात विताए ।।” भन्नुभएको छ ।
देशका लागि स्वार्थ रहित ढंगले बहादुरी साथ लडेको भन्दै गीतमा
“बहादुरी साथ लडे स्वार्थमा कहीँ चुकेनन् ।
देशका लागि कति रोए कतैं झुकेनन् ।।
आज भाइभाइ लडे दोस्रो पक्ष हाबी भो ।
चारैतिर सिमानामा उनकै दाबी भो ।।”
भुठा आस्वासन र एक अर्कामा गाली गलौजले देश विकास नहुने भन्दै उहाँले,
“सडक सदन चोकचोकै झुटो भ्रम छर्दैमा ।
हुन्न विकास विपक्षीलाई गाली गर्दैमा ।।” भन्नुभएको छ । उहाँका यी गीत उहाँ स्वयम्को ‘चन्द्रावती वाग्ले’ नामक युटुव च्यानलमार्फत गीतसहितको म्युजिक भिडियो हेर्नसकिन्छ ।

 


शब्द, स्वर र लय चन्द्रावती स्वयंको रहेको गीतको एरेन्ज कृष्ण पुनले, सम्पादन शिवराज भुर्तेलले गर्नुुभएको छ । गीतमा कोरस स्वर रुपी सिञ्जाली र प्रतिमा विश्वकर्माको भने म्युजिक भिडियोको मिक्सिङ साजन शाहले गर्नुुभएको छ । वसन्त चालिसेको निर्देशन रहेको गीत म्युजिक बैंकमा रेकर्ड गरिएको हो ।
गीतको म्युजिक भिडियोमा वसन्त चालिसे, दीपेन्द्र कार्की, बुद्धिसागर खनाल, शिव त्रिपाठी, मुक्तिप्रसाद रेग्मी र ढुुण्डीराज ज्ञवालीको मुख्य अभिनय रहेको छ । श्रृंगार सुरेश भुर्तेल, छयांकन पनि शिव र सुरेश भुर्तेलले नै गर्नुुभएको छ ।
उनको ‘बालेन’ नामको म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको थियो । विभिन्न आठवटा टुक्कामा समेटिएको गीतमा काठमाडौं महानगरप्रमुख बालेन शाहले थालेका विकास निर्माणका बारेमा चर्चा गर्दै राम्रा कामहरू सबैका लागि अनुकरणीय हुने उल्लेख गरिएको छ । काठमाडौंमा लुटिएका जमिनहरूको सरकारीकरण र साँघुरा बाटाहरू फराकिलो पारिएको भन्दै गीतमा,
“लुटिएका कैयौं जमिन सरकारमा सार्दैछन् ।
साँघुरा ति सडक पेटी चाक्ला पार्दैछन् ।।” उल्लेख छ ।
प्रत्येक वर्ष नयाँ नयाँ गीतका साथ देखिने वाग्लेले अघिल्लो वर्ष कृषि प्रधान देश, फेरी पनि आयो तीज मन दुखाउन शीर्षकका गीत ल्याउनुुभएको थियो ।
पहिलोपटक वि.संं. २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेका यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसक्नुुभएको छ । साहित्यका अन्य विभिन्न विधामा समेत कलम चलाउँदै आउनुुभएकी वाग्लेका हरिश्चन्द्र शोककाव्य, जिन्दगीको बाटो मोडियो तीज गीत संग्रहका साथै पलपलका भावनाहरू कविता संग्रह प्रकाशन भैसकेका छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रुपमा सेवारत वाग्ले कस्केली अधिकृत समाजको कार्यसमिति सदस्य सहित विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल हुनुहुन्छ ।

पाेखरा  ३०  खुदी स्थित ग्रिनपार्कमा चर्तुमुखी शिवको प्राणप्रतिष्ठा गरियाे

पोखरा  ।  पोखरा महानगरपालिका वडा नंं ३०, खुदी स्थित ग्रिनपार्कमा निर्मित चुर्तमुखी शिवको मुर्तिको प्राणप्रतिष्ठा गरिएको छ ।
करिव १० रोपनी क्षेत्रफलमा रहेको ग्रिनपार्कमा चर्तुमुखि शिवको मुर्तिको प्राणप्रतिष्ठा एवं (रुद्राभिषेक) विधिपुर्वक गरिएको वडा नंं ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले बताउनु भयो ।
ग्रिनपार्कको प्राङ्गगणमा आयोजना गरिएको रुद्राभिषेक, चर्तुमुखी शिवको मुर्ति स्थापित गणेश, सूर्य, विष्णु, वर–पिपलको समुहिक विवहा एवं सामुहिक रुद्रि पूजा वैदिक विधिपूर्वक श्रावण महिनाको पहिलो सोमवार पारी पंण्डित द्धय रमेशराज पौडेल र दिनेश पौडेलले गरेका हुन् ।
पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालय नजिक रहेको सो पार्कमा स्थानीय समुदाय एवं वडा कार्यालयको संरक्षकत्वमा महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलका रुपमा स्थापित गर्ने उद्देश्य रहेको वडा सदस्य विनोद लामिछानेले जानकारी दिए ।
भगवान शिवको पृय दिन सोमवार ब्रतवस्दा लौकिक र परलोकमा पनि फल प्राप्त हुन्छ भन्ने मान्यता अनुसार ज्ञान, विचार, वुद्धि विवेक श्रद्धा शक्ति भक्ती तथा पवित्रताको अभिवृद्धि एवं अन्तर आत्मा सुद्ध हुने साथै शारिर स्वास्थ्य एव मन शान्त रहन्छ भन्ने धारण रहेको पाइन्छ । श्रावण महिना भरी शिवको पूजा आराधना गरि वर्त बस्ने गरेमा मनकामना पुर्ण हुने धार्मिक विश्वास रहेको ग्रिनपार्क संरक्षण समितिका सचिव नविन शाहीले जानकारी दिए ।
पोखरा विश्वविद्यालयको नजिकै रहेको ग्रिन पार्क भित्र दुवोले हराभरा चउर, मध्य भागमा चर्तुमुखी शिवको पानीको फोहोरा सहितको स्तम्भ जलाशय रहेको र पार्कको प्राङ्गणमा मौलिक परम्पराका रोटे पिङ, वाल उद्यान, सुल्ला व्यामशाला, वर–पिपल र समिको चौतारो, विभिन्नि किसिमका फलफुल वेलपत्रका वृक्ष, रुद्राक्ष एवं अन्य प्रजातीका विरुवा लगायत रंगिविरङ्गी फुल एवं झिलिमिली बत्ति र अपाङ्ग मैत्री सार्वजनिक शौचालय मौलिक परम्परा झल्कने सामग्री रहेका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ गुरुयोजना अनुसार पार्कको भौतिक निर्माणका लागि संघिय सरकारको एक करोड ५० लाख र पोखरा महानगरपालिका कार्यालयको करिव २० लाख रुपैयाको लागतमा निमार्ण सम्पन्न गरिएको हो ।
कार्यक्रमा स्थानीय, वडा कार्य समितिका अध्यक्ष एवं सदस्य , चन्दादाता, युवा क्लव सरोकारवाला, धार्मिक व्यक्तित्व, आमा समुह लगायत संघ संंस्थाको सहभागितामा प्राणप्रतिष्ठा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

प्रहरी कर्मचारीहरुलाई व्यक्तित्व विकास सम्बन्धी १ दिने अभिमुखिकरण तालिम

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा प्रहरी कर्मचारीहरुलाई व्यक्तित्व विकास सम्बन्धी १ दिने अभिमुखिकरण तालिम संचालन गरिएको छ ।
 साेमबार प्रहरी कर्मचारीहरुको व्यक्तिगत विकास, आचारण व्यवहारमा रुपान्तरण गरी प्रहरी काम कारवाहीमा व्यवसायिक कार्यसम्पादन स्तरमा बृद्धि गर्ने तथा नागरिक मैत्री बनाउनको लागि तालिम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ   ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन कुमार थापाकाे प्रमुख आतिथ्यतामा संचालन गरिएको उक्त तालिममा योगा, ध्यान र सकारात्मक सोचद्वारा जीवन सुन्दर बनाउने कलाको सम्बन्धमा गंगालाल पोखरेलले, मनोसामाजिक परामर्श र व्यक्तित्व विकास सम्बन्धमा पि.एन. क्याम्पसका उपप्रध्यापक रुद्रराज तिमिल्सिनाले  सहजीकरण गरेका थिए।    प्रहरी संगठन कार्य सम्पादन र व्यवसायिकतामा पार्ने असर सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्र.ब.ना.नि. रामचन्द्र के.सी.ले सहजीकरण गरेका थिए।
 मानसिक तथा शारिरीक रुपमा स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावको विषयमा गण्डकी प्रहरी अस्पतालका प्र.नि. डा. दिपक बाबु मगरान्तिले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तालिममा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।
 यस प्रकारका तालिम पहिलो पटक संचालन भएको र यसबाट प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा अभिवृद्धी हुने सहभागी प्रहरी कर्मचारीहरुको प्रतिक्रिया दिएका थिए ।

नेपाली लेखक सङ्घ कास्कीले ४२ औं बी. पी. स्मृति दिवस काव्यवाचन गरी मनायाे

  पाेखरा ।   नेपाली लेखक सङ्घ कास्कीले ४२ औं बी. पी. स्मृति दिवस, काव्यवाचन गरी मनाएको छ |  कार्यक्रममा  प्रमुख अतिथि नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठले बीपीसँग गाँसिएका स्मृतिहरु सुनाउनु भएको थियो।
कार्यक्रममा कविहरु निकेश गिरी,केशव ज्ञावली, अमृत क्षेत्री, भूमिराज बस्ताकोटी,विश्व अधिकारी,दीपकराज अधिकारी,निरु के सी,रोशन तिमिल्सिना, मनिसा पौडेल,तारानाथ पराजुली, इशा शाह, शिव त्रिपाठी, सङ्गीता गौतम, पुण्यप्रसाद भट्टराई, हिममाया पौडेल , अम्बिकाप्रसाद पौडेल,वसन्त चालिसे,चन्द्रावती वाग्ले, गणेश शर्मा, दीपक समीप, श्रीराम अधिकारी , रिता अधिकारी ॠतुले आ-आफ्ना रचना गर्नु भएको थियो भने नेपाली लेखक संघका गण्डकी प्रदेश अध्यक्ष डा. ईश्वरमणि अधिकारीले बीपीका कविता वाचन गर्नु भएको थियो।
उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष डा. लक्ष्मीशरण अधिकारीले कार्यक्रममा वाचित कविताको शक्ति शैली र लयका बारेमा चर्चा गर्नुभयो |
संस्थाकी अध्यक्ष रिता अधिकारी ॠतुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कमल पौडेल अथकले दिनु भएको थियो भने कार्यक्रम संस्थाका सहसचिव श्रीराम अधिकारी गोर्जेले सञ्चालन गर्नु भएको थियो |