किसानलाई संरक्षण गर्न महोत्सव गर्न लागेका हाैं : तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मिश्र
तनहुँ । लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि फागुन ७ गते सम्म नवौं तनहुँ महोत्सव हुने भएको हो ।
“तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो ।
बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न महोत्सव गर्नु परेको मिश्रले बताउनुभयो । मिश्रले भन्नुभयो, ‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्धेश्यले महोत्सव गर्न लागेका हौं, किसानलाई स्टलको पैसा तिर्नुपर्दैन ।’ किसानलाई बढी फाइदा होस् भनेर पालिकासँग समन्वय गरेर निशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भईरहेको मिश्रले जानकारी दिनुभयो । हौंसला दिन उत्कृष्ट किसानलाई सम्मान गरिने उहाँले बताउनुभयो । महोत्सव पुस २५ गते देखि माघ ७ गते सम्म हुने आयोजकले जनाएको छ । कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव अधिकारी बताउनुहुन्छ । त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठ महोत्सवमा दुई सय वटा स्टलहरु रहने र एक सय वटा बुकिङ भईसकेको जानकारी दिनुभयो ।
घलेलमा २६ औं ल्होछार उत्सव जारी,घोडा दौड २० गते हुने
पोखरा । तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा
प्रौढतर्फ युनाइटेड किङ्स क्लब पोखरा फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।
उनका अनुसार घलेलको खेल मैदानमा भएको सेमिफाइनल खेलमा आयोजक बौद्ध सृजना युवा क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै किङ्स क्लब फाइनलमा प्रवेश गरेको हो ।
भलिबल खेल संयोजक गणेश बिसीका अनुसार आयोजकले तोकेको समयमा उपस्थित नभएपनि लामाचौर, सिङ्दी, विन्ध्येश्वरी ठाँटी, भुर्जुङखोला र लामाचौर जिएम समाज र ड्राइभर समूहलाई वाकओभर दिइएको थियो ।
उनले भोलिको पहिलो खेल प्रौढतर्फ नै मर्दी हिमालको टोली र ल्वाङको बीचमा प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेल धवलागिरी घलेल र म्याच नम्बर ४ को विजेताबीच खेल हुनेछ । भने, अर्काे खेल छारमेन्दो तक्रो र म्याच नम्बर ८ बीचको विजेताबीच हुने बिसीले बताए ।
यसैगरी आज महिलातर्फको खेलतालिका पनि सार्वजनिक भएको क्लबका सचिव अमृत गुरुङले बताए ।
उनका अनुसार बुधबार महिलातर्फको पहिलो खेल ग्रीनहिल क्लब ल्वाङ र घलेल रातोबीच प्रतिस्पर्धा हुनेछ । भने, भोलि दिउँसो २ बजे पुरुषतर्फको पनि खेल तालिका सार्वजनिक गरिने सचिव गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रौढ भलिबलतर्फ कुल १२, महिलातर्फपनि १२ टिमको सहभागिता रहेको छ भने, पुरुषतर्फ अहिलेसम्म १८ टिमको दर्ता भएको छ ।
कुन प्रतियोगिता कति गते ?
क्लबका अध्यक्ष विराज गुरुङका अनुसार साँस्कृतिका कार्यक्रमतर्फ १९ गते चर्चित गायक चिज गुरुङ र बालकाशी गुरुङको बेजोड प्रस्तुती रहने छ । यस्तै घोडा दौड २० गते बिहान ११ बजे हुनेछ ।
यसैगरी नृत्य प्रतियोगिता १८, १९ र २० गते साढे ४ बजेबाट सुरु हुनेछ । ठेलो प्रतियोगिता २० गते दिउँसो १ बजे, रस्साकस्सी २० गते दिउँसो २ बजे आयोजना हुनेछ ।
कुन प्रतियोगिताको उपाधि राशी कति ?
गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताए ।
यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताको विजेता र उपविजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ
भाेली देखि सुरू हुने २० औं लेखनाथ महोत्सवकाे तयारी पुरा
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएकाे छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए ।
यस्तै महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको वताईन ।
महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयम मार्फत एक सय भन्दा बढि माछाका प्रजातीहरुको अवलोकन, महिलाहरुो क्षमता अभिवृद्धिका लागी पहिलोपटक आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगिता, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रस्तुती, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।
महोत्सवको विद्यालय स्तरीय कार्यक्रम अन्र्तगत पुस ११ गते बिहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ ।
महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ भने विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु रहनेछन ।
महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४८ उपसमिति, आवश्यकता अनुसार थप गर्न सकिने गरि १५३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । ३३६ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
निकुञ्जसम्बन्धी ऐन कानुन संशोधनको तयारीमा छौँः राज्यमन्त्री विक
हेटौँडा । सङ्घीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वर्तमान सरकार राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन र मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली संशोधनको तयारीमा रहेको बताउनुभएको छ । उहाँले अहिले भएको निकुञ्जसम्बन्धी ऐन नियमन प्राकृतिक सम्पदा संरक्षणमैत्री र नागरिकमैत्री बन्न नसकेको भन्दै वन्यजन्तु संरक्षण र विकासबिच सन्तुलन मिलाउनु आवश्यकभएको बताउनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्ज बाराले मङ्गलबार हेटौँडामा आयोजना गरेको राष्ट्रिय निकुञ्ज÷मध्यवर्ति क्षेत्र व्यवस्थापनसम्बन्धी विधमान कानुनी प्रावधानहरुको समिक्षा एवं सुधारका विषयमा सरोकारवालाहरुको सुझाव सङ्कलन गर्न आयोजित नीति संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको निकुञ्ज ऐन र मध्यवर्ति नियमावलीका कारण एकले अर्कोलाई दोषारोपण गर्ने अवस्था रहेकोले यसमा सुधार आवश्यकभएको बताउँदै राजनीतिक अस्थिरताका कारण विगतमा ऐन कानुन संशोधन गर्न ढिलाईभएको बताउनुभयो । बागमती प्रदेश सभामा सदस्य एका लाल श्रेष्ठले मध्यवर्ति क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने बताउँदै मध्यवर्ति क्षेत्रको सीमा परिवर्तन गर्न नसक्ने हो भने बस्ती स्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै वन्तजन्तुको बासस्थानमा सुधार हुँद्या पछिल्लो समय वन्यजन्तुको सङ्ख्या बढेको बताउनुभयो । तराई भूपरिधिमा एकराज सिग्देलले मध्यवर्ति क्षेत्रलाई विकास र समन्वय गर्ने सेतुका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश चन्द्रवंशीलगायतले मध्यवर्ति क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
नीति संवाद कार्यक्रममा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा वडाध्यक्ष, वन समुहका अध्यक्षलगायतका वक्ताहरुले निकुञ्ज ऐनमा संशोधनको माग गर्नुभएको थियो ।