नेपाल बार एसोसिएसनको ५०औं कार्यकारिणी परिषद् बैठक पोखरामा सुरु

0

  पोखरा। नेपाल बार एसोसिएसनको ५०औं कार्यकारिणी परिषद बैठक साेमवार पोखरामा सुरु भएको छ । बैठकको उदघाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जनतालाई न्याय दिलाउन, अदालतलाई न्यायीक स्वतन्त्रता दिलाउनकालागी बार एसोसिएसन निरन्तर लागिरहन आग्रह गरे । न्यायपालिकाभित्र विकृति मौलाएको भन्दै नेपाल बार एसोसिएसनले त्यसको विरुद्धमा छेडेको आन्दोलनलाई जारी राख्ने उद्घोषका साथ पोखरा बैठक सुरु भएको नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । त्य्स्तै पोखराका मेयर धनराज आचार्यले  समाज विकासकालागी मानव अधिकार मुख्य विषय रहेको बताए ।  उनले  देशमा संघीयता आइसकेको परिपेक्षमा संविधान सही ढङ्गले कार्यान्वयन भए न भएको विषयमा बारले ध्यान दिन आग्रह गरे । बरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापले नेपालको गणतान्त्रिक संविधान भएपनी सम्बिधान कार्यान्वयनको सन्दर्भमा फितलो देखिएको बताए । उनले नेपाल बार प्रतिपक्ष न भए पनि सरकारले गरेका काम कार्वाहीलाई खवरदारी गर्ने र कानून अनुसारको शासन होस भन्ने धेय रहेको बताए । बारले आवाज उठाउने , कमिकमजोरी औल्याइदिने बताउदै सम्बन्धित पक्षले आफ्ना कामकारबाही चुस्तदुरुस्त बनाउदै जानू पर्ने बरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापले बताए । अदालतको भ्रस्टाचार र बेथितिको बारेमा आवाज उठाउदा बारका अध्यक्षले अपहेलनाको मुद्दा  खेप्नु परेको बारका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता रक्षा बस्यालले बताइन । उनले कानून ब्यवसायी र अदालत एक सिक्काका दुई पाटा भनिए पनि त्यसो हुन नसकेको बताइन । गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता चिरञ्जीवी शर्माले संघीयता अनुरुप न्यायपालिका अर्थात अदालतको  पुनर्संरचना गर्नुपर्नेमा जिड दिए । सम्बिधानले तोकेको प्रदेश न्यायपालिका बनाउने कुरा उठेपनि संघीयता कार्यान्वयन नहुदा प्रदेशमा बसेर काम गर्न गारो भएको उनको भनाई थियो । न्यायपालिकाको काम कामकारबाही चुस्तदुरुस्त नहुदा  भ्रष्टाचार मौलाउदै गएकोले त्यस तर्फ आवाज उठाउन बारलाई आग्रह गरे । नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष गोपाल घिमिरेको अध्यतामा सुरु भएको सम्म्मेलन भोलिसम्म चल्नेछ ।  बैठकमा विभिन्न एजेन्डामा छलफल हुने  बताइएको छ । बैठकमा देशैभरबाट करिव १ हजार अधिवक्ताहरुको सहभागिता रहेको छ ।

पोखरा महोत्सवको फुड पार्टनरमा पोखरा सेकुवा घर

  पोखरा । आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवलाई अमरसिंहचोकमा रहेको पोखरा सेकुवा घरले फुड पार्टनरमा रही सहकार्य गर्ने भएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङ बीच पोखरा महोत्सवलाई सफल पार्न एक अर्का बीच सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङले हालै सञ्चालनमा आएको पोखरा सेकुवा घरले पोखराको ब्राण्डको रुपमा रहेको पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । युनाईटेड क्लब पोखराले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा तेह्रौ संस्करणको पोखरा महोत्सवमा सहकार्य गरेर आफ्नो व्यवसायको प्रवद्र्धन संगै सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । महोत्सव स्थल अमरसिंह चौरको पूर्वतर्फ रहेको पोखरा सेकुवा घरले पोखरा महोत्सव अवधिभर महोत्सवमा आउने दर्शकलाई फुड आइटममा १० प्रतिशत छुट उपलब्ध गराउने सञ्चालक गुरुङले वताए । पोखरा सेकुवा घरमा चिकन, मटन, बफ, पोर्क सेकुवा संगै खाजाका विभिन्न परिकारहरु उपलब्ध रहेको छ । सेकुवा घरमा एकै पटकमा दुई सय जनाको क्षमता रहेको र तीस जना अट्ने बैठक हल समेत रहेको र हाल १३ जनाले प्रत्यक्ष रोजगार पाएका छन । पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङले अमरसिंह र लेकसाइडमा पोखरा मिट मार्ट समेत सञ्चालन गर्दै आइरहेको र अघिल्लो संस्करणको पोखरा महोत्सवमा समेत मिट मार्टको तर्फबाट महोत्सवमा सहकार्य गर्दै आइरहेको छ । सो अवसरमा वोल्दै महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा सेकुवा घर जस्तै सहयोगीहरुको साथ र सहयोगलेनै पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको वताउदै पोखरा सेकुवा घर संघ सहकार्य गर्न पाउदा गर्व लागेको वताए । सो अवसरमा महोत्सव आयोजक युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ, महासचिव दिनेश सुनार, सदस्य पूर्ण कुमार श्रेष्ठ, सल्लाहकार रमेश बहादुर कार्की लगायतको सहभागीता रहेको थियो ।

मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) कास्कीले मंसिर १९ गतेदेखि पोखरा रंगशालामा आयोजना गरेको प्याब्सन स्पोर्टस् मीट २०८१ समापन समारोहका प्रमुख अतिथि भट्टले देशप्रति गर्व गर्ने योग्य नागरिक उत्पादन गर्न निजी विद्यालयको भूमिका हुने उल्लेख गर्नुभयो । ‘विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि निजी विद्यालयहरुले उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ । शिक्षा क्षेत्रमा राज्यको एक चौथाई भार वहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सकोस् भन्ने म शुभकामना व्यक्त गर्दछु।’ उहाँले भन्नुभयो । समयानुकूल परिमार्जित शिक्षा उपलब्ध गराउनको लागि शिक्षकहरूलाई तहगत तालिम, शिक्षक तथा कर्मचारीलाई राज्यले तोकेबमोजिम श्रमको मूल्य प्रदान गर्नतिर पनि निजी क्षेत्रको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । सयौं विद्यार्थीहरूलाई खेलकुदमा जोडेर उनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर यस्ता कार्यक्रमबाट मिल्ने भन्दै उहाँले निजी विद्यालयहरु राज्यका महत्वपूर्ण सहयोगी अंगका रुपमा रहेको उल्लेख गर्नुभयो । ‘निजी क्षेत्रलाई सेवामुखी बनाउन राज्यका तर्फबाट नीतिगत विभेदको अन्त्य गरी सहुलियतहरु प्रदान गर्ने र लगानीमैत्री वातावरण सिजर्ना गर्न सरकारको ध्यान गएको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘निजी विद्यालयहरुको संगठन र सरकारी संयन्त्रबीचको पारस्परिक विश्वास र सहकार्यमा जोड दिँदै अघि बढ्दा शिक्षा क्षेत्रको हित नै हुनेछ ।’ नेपालको शिक्षाको विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणाको शक्तिलाई विकसित गर्नुपर्नेमा सरकारले जोड दिएको उहाँको भनाई छ । प्रदेश प्रमुख भट्टले अबको युग प्राविधिक दक्षता युक्त मानिसहरुको युुग भएकाले प्राविधिक ज्ञानसहितको शिक्षाको अव विकल्प रहने बताउनुभयो । शिक्षालाई प्रविधिसँग जोड्दै विद्यार्थीहरुलाई समय सुहाउँदो दक्ष नागरिक उत्पादनमा निजी विद्यालयहरु सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई खेलकुदमा समेत उत्तिकै संलग्न गराउन जोड दिँदै भट्टले खेल क्षेत्रबाटै व्यक्ति र राष्ट्रले विश्वमाझ आफूलाई चिनाउने बताउनुभयो ।

पोखरामा ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु केवल परम्परागत धर्मग्रन्थ मात्र नभएर नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ । मुक्त फाउण्डेशन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिवसीय ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै प्रमुख अतिथि भट्टले ऋग्वेद एवं अन्य पूर्वीय वाङ्मयका सम्बन्धमा वस्तुगत अध्ययनको नयाँ परम्परा स्थापित गर्न यस्ता सम्मेलनले सघाउ पुग्ने बताए । संस्कृति र पर्यटन मूल मन्त्रका साथ ऋग्वेदीय परम्परा र हिमालय क्षेत्रका विविध संस्कृतिहरुसँगको यसको सम्बन्धको गहिरो अन्वेषण गर्ने लक्ष्यका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गरिएको आयोजकले जनाएको छ । देश विदेशका स्कलर्स, रिसर्चर सहभागी सम्मेलनमा ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयाम, हिमालय संस्कृति र पर्यटनका बारेमा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरिने र विद्वत छलफल गरिने कार्यक्रम छ । प्रदेश प्रमुख भट्टले नेपाल लगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे गरिने विचार मन्थन फलदायी हुने विश्वास लिँदै सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै धर्म, संस्कृति तथा पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुनेमा आशावादी रहेको बताउनुभयो । वैदिक ज्ञान एवं आधुनिक समाज विज्ञानका ज्ञाताहरुका बीचमा वस्तुगत अध्ययनका लागि सहकार्यको नयाँ सम्भावना खुलेको बताउँदै प्रदेश प्रमुख भट्टले यस्ता सम्मेलनले हिमाली समाज र संस्कृतिका मूल्य र मान्यताको जागरणको ढोका खुल्ने उल्लेख गर्नुभयो । ‘हिमालय क्षेत्रको सांस्कृतिक तथा धार्मिक परिदृश्यलाई गहिरो रुपमा प्रभाव पारेको ऋग्वेद, मानव जातिको सबैभन्दा पूरानो र र प्रभावशाली ग्रन्थहरुमध्ये एक हो । मानवताको संरक्षण र पृथ्वीको संरक्षण जस्ता सार्वभौम सिद्धान्तमा आधारित यस ग्रन्थ २१ औं शताव्दीमा मानवमूल्यहरूको संकट सामनाका लागि सहयोगसिद्ध हुने ठानी आयोजकले सान्दर्भिक र समयसापेक्ष विषयमा आयोजना गरेको यो सम्मेलन महत्वपूर्ण छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । ऋग्वेदीय सिद्धान्तहरूको पुनरावलोकन र पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथै हिमालय संस्कृतिमा परेको प्रभाव र आधुनिक चुनौतीहरुको समाधानको लागि सम्भाव्य अन्वेषण गर्ने प्रयासले मूर्त रुप लिन सकोस् भनी उहाँले शुभेच्छा प्रकट गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची पनि बोल्नुभएको थियो । सम्मेलनका विशेष वक्ताहरुमा प्राडा विणा पौडेल, छक्क बहादुर लामा, प्राडा कृष्णचन्द्र शर्मा, प्राडा विनोद पोखरेल, प्राडा ऋषिराम रेग्मी रहनुभएको छ । माया तिम्सिना, डा. महाश्रम शर्मा, सचिव कुलमान सिंह गुरुङ्ग, डा. रिपु कुँवर, समाजशास्त्री विष्णु बसेललगायतले पनि आफ्ना धारणा राख्नुहुनेछ । आयोजक मुक्त फाउण्डेशनका दामोदर त्रिपाठीका अनुसारकार्यक्रममा २८ वटा कार्यपत्र प्रस्तुत गरनेछ । वैदिक ज्ञानको पवित्रीकरण र हिमालय क्षेत्रमा साँस्कृतिक÷सम्पदा अन्तराष्ट्रिय पर्यटनको सम्भावना दुई विषयमा प्यानल छलफल हुनेछन् । सम्मेलनको अन्तमा कार्यक्रमको उपलब्धिसहित भावी रणनीतिका सम्बन्धमा पोखरा महानगरका मेयर र विज्ञहरुका बीचमा विशेष छलफल हुने कार्यक्रम रहेको उनले जनाए ।