भूपी काव्य पुरस्कार असफल गौतमलाई
पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ ।
नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ ।
नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पु¥याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए ।
पुतलीबजार–७, स्याङ्जामा जन्मेका असफल गौतमका ‘सबैका सारथि संगी’ (जीवनी–२०७७), ‘मानवअधिकार गीत’ (२०७४), ‘सत्तलमा सिर्जना’ (गजलसङग्रह–२०७१), ‘हाइकुः आलेख र अभिलेख’ (इतिहास–२०७०), ‘नेपालका भाट जातिको अध्ययन’ (इतिहास–२०६९), ‘दुर्गाबहादुर शाह बाबाः व्यक्तित्व र कृतित्व’ (समालोचना–२०६९), ‘बिस्कुन’ (समालोचना–२०६८), ‘सिलोक बन्दै छन्’ (मुक्तकसङ्ग्रह–२०६७), ‘समसामयिक तीजे गीतसङ्ग्रह’ (२०६७), ‘सङ्घर्षका पाइलाहरू’ (सामाजिक उपन्यास–२०६६), ‘पीपलपाते ओठ’ (लोकदोहोरी एल्बम–२०६१) र ‘चट्टै कम्मरमा’ (लोकदोहोरी एल्बम–२०६०) प्रकाशित छन् ।
नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरी झण्डै चार दर्जन पुस्तक सम्पादन गरिसकेका उनका राष्ट्रिय–स्थानीय पत्रपत्रिकामा पाँचसय बढी समालोचनात्मक, अनुसन्धानात्मक र फुटकर रचना प्रकाशित छन ।
असफल रूना साहित्य पुरस्कार, सङ्घर्षशील सामाजिक पुरस्कार, अन्तर्राष्ट्रिय स्रष्टा साहित्य चौतारी पुरस्कार, ज्योतिष भविष्यवाणी पत्रकारिता पुरस्कार, राष्ट्रिय लेख प्रतियोगिता प्रथम पुरस्कार, खुला गजल प्रतियोगिता द्वितीय पुरस्कार, राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कारबाट पुरस्कृत हुनुका साथै झण्डै तीन दर्जन संघसंस्थाबाट विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष उनी सङ्घर्षमा कलम साहित्य समाजका संस्थापक अध्यक्ष हुन् । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका पूर्व अध्यक्ष उनीसँग आदर्श समाज राष्ट्रिय दैनिकमा ग्राफिक डिजाइनर, रिपोर्टर तथा डेस्क सम्पादक भई काम गरेको अनुभवसमेत छ ।
उनी मानवअधिकार पत्रकार सङ्घ गण्डकीका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव, डागर स्मृति प्रतिष्ठान नेपालका सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कोषाध्यक्ष रहेका छन् ।
स्मरण रहोस्, आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारबाट विभिन्न संघसंस्थामा अक्षयकोष स्थापना गरी शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा सेवा गर्दै आएका असफल ऋषिराम स्मृति कोष, अभिभावक स्मृति कोष र गौरीमाया स्मृति छात्रवृत्ति कोषका संस्थापकसमेत हुन् ।
विस १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह (२०२५), ‘परिर्वतन’ (नाटक, २०१०), ‘नयाँ झयाउरे’ (कविता, २०१०) र ‘निर्झर’ (कविता, २०१५) प्रकाशित छन् । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहलाई नेपाली कविताको विशिष्ट कृति मानिन्छ । उक्त कृतिले २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।
भूपी शेरचनको ९१ औं जयन्ती समारोहबीच यही १० पुसमा पोखरामा भव्य समारोह आयोजना गरी असफललाई पुरस्कार अर्पण गरिने थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले जानकारी दिए ।
भूपी शेरचनको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित उक्त पुरस्कारबाट यस अगाडि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचन पुरस्कृत भइसकेका छन् ।
पुष २५ देखि माघ ७ गते सम्म हुने पोखरा महोत्सवको तयारी तीब्र
पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले तेह्रौं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड छात्राबास निर्माणको लागि अगाडी बढ्ने भएको छ । युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्राबास निर्माणका लागि हालै शिलान्यास कार्यक्रम सम्पन्न भइसकेको र डिपीयार अनुरुप निर्माण कार्य अगाडी बढेको महोत्सव प्रचार प्रसार संयोजक तथा युनाईटेड क्लबका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार उक्त छात्राबासलाई क्लबले निकट भविष्यमा विद्यालयको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
शिक्षा संगै स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रलाई समेत निरन्तरता भने रहने उनले बताए । १३ औं संस्करण सम्म आइपुग्दा युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा क्षेत्रमा पोखरा र आसपासका रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापना गरी शैक्षिक सामाग्रीहरु वितरण गरिसकेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा विभिन्न ग्रामीण बस्तीमा लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको र खेलकुदको क्षेत्रमा क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन, सहयोगी संस्था, प्रर्वद्धक एवं सहभागीता जनाउदै आइरहेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालीकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको र हाल उक्त काम गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको ओजनामा समावेश भइ काम भइरहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उप समिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणमा समेत काम गर्ने उद्देश्यले अगाडी वढिरहेको र त्यसका लागि पोखरा महानगरसंग सहकार्य गरेर अगाडी बढ्ने वताए । क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले युनाईटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको बताए ।
महोत्सव बाहेक युनाईटेड क्लबले नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद व्यवस्थापन कोष स्थापना गरी विपदका घटनाबाट प्रभावितहरुलाई सहयोग गर्दै आएको क्वलले जनाएको छ । महोत्सवकै माध्यामबाट सेती नदी खोचलाई शाहसिक पर्यटकीय गन्तब्य स्थल बनाउन समेत सम्बन्धित निकाय समक्ष पहलकदमी गर्दै आइरहेको छ ।
१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहने र महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको महोत्सव प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवमा २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले जनाएको छ । त्यसैगरी महोत्सबबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भइ २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ ।
पोखरा महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।
महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्ति श्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर, शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छभने लाईभ कन्सर्ट तर्फ भीटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसी संगै स्थानिय ब्याण्डहरुको प्रस्तुती रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी हांस्य ब्यङ्ग्य तर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
तेह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड रहेको छभने प्रायोजकहरुमा पोखरा सेकुवा घर अमरसिंह चोक, साकुरा डिजाइनर्स एण्ड विल्डर्स प्रालि, स्टारसिड टेक्नोलोजिस प्रालिको बिक्रेता जेपी इलेक्ट्रिकल्स प्रालि र बिवस इलेक्ट्रिकल्स पोखरा १० बुद्धचोक, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, हस्पिटालिटि पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि अमरसिंहचोक, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैक, अफिसियल इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स, ड्रिङकीङ वाटरमा सोल्टी वाटर, पेमेन्ट पार्टनरमा रेभल, अफिसियल एयरलायन्समा यति एयरलायन्स, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह रहेका छनभने प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छभने अझै प्रायोजकहरु आउने क्रम जारी रहेको युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सव मुल समारोह संयोजक लोक बहादुर थापाले बताए ।
महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निशुलक प्रवेश गराइने छ । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिने छ । युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।
संकल्प गण्डकी प्रदेशकाे अध्यक्षमा तिमिल्सिना
पाेखरा। शान्ति ,न्याय र लाेकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशको अध्यक्षमा सरिता तिमिल्सिना पगेनी निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा मिलन भुजेल ,सचिवमा ईश्वरी बिक,काेषाध्यक्षमा ईश्वरी चापागाईं चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरुमा मुन्नी खातुन,गीतामाया श्रेष्ठ ,पवित्रा खड्का ,गंगा चापागाईं र माया गरुङ भुजेल चयन हुनुभएको छ। विहीबार पोखरामा भएको प्रदेश स्तरिय समितिको अभिमुखिकरण तथा पुनर्गठन कार्यक्रमको आवसरमा उक्त समिति गठन गरिएको हो ।
यस अघि कार्यक्रमकाे उद्घाटन गर्दै संकल्पका संस्थापक अध्यक्ष दुर्गा साेबले महिलाको संबैधानिक निकायहरु र राज्यका संरचनाहरुमा समान सहभागिता वनाउनका लागि संकल्पले काम गरिरहेकाे जानकारी दिनुभयो ।शान्ति ,सुशासन र राजनितीमा महिलाको निर्णय र शक्तिशाली भुमिका निर्माण गर्ने लक्ष्यका साथ संकल्पले ७७ वटा जिल्लामा काम गरेको उहाकाे भनाइ थियाे ।
शान्ति ,न्याय र लाेकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशका उपाध्यक्षा सरिता तिमिल्सिना पगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा वानका उपाध्यक्ष दुर्गा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे भने कार्यक्रम संचालन संकल्पका केन्द्रीय सदस्य अमिका राजथलाले गर्नुभएको थियाे।
शान्ति ,न्याय र लाेकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशका उपाध्यक्षा सरिता तिमिल्सिना पगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा वानका उपाध्यक्ष दुर्गा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे भने कार्यक्रम संचालन संकल्पका केन्द्रीय सदस्य अमिका राजथलाले गर्नुभएको थियाे।
कार्यक्रममा गण्डकी प्रदेशका संकल्पका सदस्य संस्था क्रियाशील पत्रकार महिला,दलित महिला संघ नेपाल,नागरिक आवाज ,मानवअधिकारका लागि महिला एकल महिला समुह,बिकल्प,फतिमा फाउन्डेसन,राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,नेपाल अपांग महिला संघ लगायतका संस्थाका महिलाहरुको प्रतिनिधित्व रहेको थियो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका घलेलमा २६ औं ल्होछार उत्सव हुने
पोखरा । तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।
उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ ।
अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि जनाउन ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्न शुल्क २५ सय रुपैयाँ तोकिएको खेल संयोजक गणेश बिसीले जानकारी दिए ।
उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
यस्तै घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।
खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।
मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।